१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

भोलिबाट बागमतीमा ठूलो डुंगा चल्ने

सर्लाही– सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट(ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ।

विसं २०७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्न लागिएको हो। मकवानपुरबाट प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण भएको र वैशाख १ गतेबाट ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए।

दाहालका अनुसार तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालन गरिने योजना रहेको छ। मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। जलमार्गलाई भविष्यमा थप विस्तार गरिने योजना रहेको उहाँको भनाइ छ।

नेपालमा समुद्रसँग जोड्ने जलमार्गलाई केन्द्र सरकारले प्राथमिकता दिएको समयमा पर्यटन प्रवर्द्धन तथा स्थानीय जनताको दैनिकीलाई सहज बनाउन मोटरबोट सञ्चालनमा ल्याउन लागिएको भन्दै सभापति दाहालले जलमार्गले दुर्गम मानिने राईगाउँको जीवनशैलीलाई सकारात्मक परिवर्तन गर्ने बताए। हाल चितवनको नारायणी नदीमा सञ्चालित ११ सिट रहेको मोटरबोटलाई नै बागमतीमा लगेर सञ्चालन गरिने उनको भनाइ छ। सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट  २० लाख रूपैयाँ खर्च गरेर जलमार्गको निर्माण गरिएको हो। रासस

प्रकाशित: ३० चैत्र २०७५ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App