२०७५ चैत ७ को बिहान। रोल्पाको होलेरीमा छु, म। रुन्टीगढी गाउँपालिकाको आयोजनामा हुन लागेको दुई दिने ‘अक्षर महोत्सव’को निम्तो मान्न आइपुगेको हुँ। देख्छु, महोत्सवको तयारीमा आयोजकहरूका भागदौड चलिरहेछ।
राजधानीबाट कवि तुलसी दिवस, कलाकार एवं लेखक मदनकृष्ण श्रेष्ठ, उपन्यासकारहरू नयनराज पाण्डे, अमर न्यौपाने, कथाकार अर्चना थापा, कानूनविद् भिमार्जुन आचार्य, गायिका कोमल वली लगायतका थुप्रै ‘सेलिब्रेटी’ पुगेका छन्। उनीहरू यताउता टहलिँदै छन्।
म भने होलरीको विगत सम्झिन थाल्छु। माओवादी विद्रोहताका दुई पटक राष्ट्रिय राजनीति नै प्रभावित गर्नेगरी होलरी चर्चामा आएको थियो।
होलरीको नाम राष्ट्रिय सञ्चारमाध्यमहरूमा माओवादी युद्धको सुरुसँगै आएको थियो। २०५२ फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको जनाउ दिन माओवादीले देशभरका तीन प्रहरी चौकी र एउटा साना किसान आयोजना कार्यालयमा हमला गरेका थिए। गोर्खाको च्याङ्लीमा रहेको साना किसान आयोजना कार्यालयबाहेक अरू तीन जिल्ला रुकुम, रोल्पा र सिन्धुलीका प्रहरी चौकीमा आक्रमण गरिएका थिए। रुकुमको आठवीसकोट, सिन्धुलीको सिन्धुलीगढी र रोल्पाको होलेरी चौकी त्यो दिन माओवादी ‘निशाना’मा परेका थिए।
त्यसको ६ वर्षपछि होलरी पुनः राष्ट्रिय सञ्चारमाध्यमका हेडलाइन बनेर आयो। यतिबेला यो तरंग बनेर आएको थियो। यस्तो तरंग जसले प्रधानमन्त्रीको कुर्सी नै हल्लाइदियो। होलेरी केवल एक नाम रहेन। प्रकरण बनिदियो। होलेरी प्रकरणकै कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपरेको थियो।
२०५८ असार २८ गते माओवादीले ‘नेपाल बन्द’ घोषणा गरेका थिए। विद्रोहकालमा माओवादीले ‘बन्द’को घोषणा गरेपछि आक्रमणका गतिविधि बढाउँथे। ‘बन्द’ सफल पार्ने तिनको अभिप्राय हुन्थ्यो।
त्यतिबेला माओवादी दाङको भालुुवाङस्थित सशस्त्र प्रहरी तालिम केन्द्रमा आक्रमण गर्ने योजनामा थिए। त्यसका लागि दिनहुँ ‘रेकी’ चल्दै थियो। तर योजना चुहिएको सुँइको पाएपछि उनीहरूले रातारात रोल्पाको होलेरी चौकीमा आक्रमण गर्ने अर्को योजना बनाए।
वर्तमान उपराष्ट्रपति तथा तत्कालीन माओवादीका सैन्य कमाण्डर नन्दकिशोर पुन 'पासाङ' र वर्तमान ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ त्यसका मुख्य योजनाकार थिए। माओवादीले जनयुद्ध सुरु गरेकै दिन आक्रमण गरेको त्यो चौकीमा सरकारले संख्या थपेर मजबुत बनाएको थियो। तर, प्रहरीहरू माओवादी आक्रमणको डरले रातभरि चौकीमा बस्दैन'थे। बिहानपख मात्रै आउँथे।
यो आक्रमणबारे नन्दकिशोर पुनले आफ्नो पुस्तक ‘इतिहासका रक्तिम पाइलाहरू’मा वर्णन गरेका छन्। पुस्तकका अनुसार, प्रहरीहरू बिहानमात्र फर्किने भएकाले माओवादीले होलेरी प्रहरी चौकीमा बिहानपख हमला गरेको थियो। केहीबेरकै दोहोरो भीडन्तपछि चौकी कब्जा भयो। आक्रमणमा एकजना प्रहरी मारिए भने ७२ जना माओवादी कब्जामा परे। कब्जामा परेका सबै प्रहरीलाई माओवादीले अपहरण गरे।
७२ प्रहरी अपहरणमा परेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन शाही नेपाली सेनालाई ती प्रहरी फर्काउन अह्राए। होलेरी आक्रमणको भोलिपल्ट नुवाँगाउँ, होलेरी क्षेत्रमा सेनाका तीनवटा एमआई १७ हेलिकप्टर उत्रिए। माओवादी विद्रोह विरुद्ध सेना परिचालन यसअघि भएको थिएन।
कतिपय जिल्लामा ‘विशेष क्षेत्र विकास कार्यक्रम’का नाममा सेनाको सक्रियता बढाइए पनि सैन्य कारवाहीको रूपमा उत्रिएको थिएन।
होलेरीमा अपहरित प्रहरी फिर्ता गर्न सेना नुवाँगाउँमा उत्रियो। सेना र माओवादीबीच पहिलोपटक त्यही आमने सामने भयो। दुईबीच चिठी आदान-प्रदान, माइकिङ भए तर सेनाले माओवादीमाथि आक्रमण नगरी फर्कियो।
संकटकाल घोषणा नगरी सेना परिचालन गर्न नमिल्ने तर्क एकातिर भयो भने अर्कोतर्फ प्रधानमन्त्रीलाई नटेरेको र असहयोग गर्ने भनेर विश्लेषण भए। अन्ततः प्रधानमन्त्री कोइरालाले राजीनामा दिए। त्यसपछि प्रधानमन्त्री भए, शेरबहादुर देउवा। उनको त्यो प्रधानमन्त्रीत्व कालमा माओवादी युद्धविराम गर्दै वार्तामा समेत आए।
माओवादी विद्रोहको इतिहासमा केही महत्त्वपूर्ण घुम्तीमध्ये होलेरी प्रकरण पनि एउटा यस्तो घटनाक्रम बन्यो, जसले केन्द्रीय राजनीतिलाई प्रभावित गर्यो। माओवादी र तत्कालीन राजाले होलेरी प्रकरणबाट राजनीतिक लाभ लिए। वार्तामा आएका माओवादीले सैन्य क्षमता बढाएर सेनासँगै भीड्ने सोच होलेरीपछि प्रस्ट रूपमा बनाए भने राजाले आफ्नो ‘शक्ति’ बढाउने अवसरका रूपमा लिए। कोइराला र दरवारबीचको दूरी र सम्बन्ध अझ चिसियो।
संसदीय शक्तिलाई कमजोर बनाउने र दरबारलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी बन्ने अवसर बनेको होलेरी प्रकरणको केन्द्रमा द्वन्द्व अन्त्यपछिको १२ वर्षपछि साहित्य महोत्सव सम्पन्न भयो। साहित्य, राजनीति, पत्रकारिता लगायतका विविध विषयमा विमर्स भएर महोत्सव सकियो।
महोत्सवमा स्थानीय मुद्दा र व्यक्तिहरूलाई स्थान नदिएको गुनासो पनि त्यहीँ सुनियो। एकथरिले भने, महोत्सव गरेर यत्रो बजेट सक्नुभन्दा कुनै विकासमा खर्च गरेको भए हुने। अर्कोथरि तर्क थियो, महोत्सव नै गरे पनि स्थानीय मानिस र मुद्दा उठाइएका भए राम्रो हुने थियो। तेस्रो तर्क थियो, कम्तीमा दुरदराजको यो गाउँले एउटा बेग्लै परम्परा सुरु गर्यो। यसलाई सकारात्मक मान्नुपर्छ। यही गाउँपालिकाले एक महिना अघि पनि विकास महोत्सव गरेको रहेछ।
मलाई पनि रुन्टीगढीको यो प्रयत्न सकारात्मक लाग्यो। गाउपालिकाको विकास बजेट, यसको सदुपयोग/दुरुपयोग यी स्थानीय मुद्दा हुन्। यसमा स्थानीय चासो हुनु अस्वाभाविक होइन। यो हुनैपर्छ। यद्यपि विकास वा अक्षर महोत्सव आयोजना गरेर यो गाउँपालिकाले जे–जस्तो विमर्स गरायो, यसबाट विकास र समृद्धिको बाटोमा बढ्ने आकांक्षा हुर्किदै गएको बुझिन्छ। गाउँपालिका अध्यक्ष बालाराम बुढा विकास र समृद्धिका लागि होलेरीको पर्यटन प्रवर्द्धनमा सहयोग पुराउन महोत्सव गरिएको दाबी गर्छन्।
त्यसो त होलेरीमा पर्यटकीय दृष्टिले थप समृद्ध हुने आधार पनि भेटिन्छन्। होलेरीको परिचय द्वन्द्वकालका केही घटनामा मात्रै सीमित छैन, शान्तिकालमै पनि यही गाउँपालिका अन्तर्गत पर्ने नुवाँगाउँमा क्यान्टोनमेन्ट राखिएपछि यसको चर्चा बढ्यो। प्यूठानको चर्चित धार्मिकस्थल स्वर्गद्वारी जाने मूल ढोका, स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रुन्टी र तपोभूमि गढी, माछापुच्छ्रे र सिस्ने जस्ता हिमशृंखला देखिने, पश्चिमको भेडेटार आदि थुप्रै परिचय बोकेको छ, होलेरीले।
रोल्पाका अरू गाउँमाजस्तै विगतको तुलनामा होलेरीमा पनि परिवर्तन हुँदै गएको प्रस्टै देखिन्छ। उद्योग वाणिज्य संघ, होलेरीका अध्यक्ष गोपाल डाँगी ४० घर धुरी भएको बजारमा अहिले दुई सयभन्दा बढी घरहरू थपिएको बताउँछन्।
‘द्वन्द्वका बेला यो ठाउँ उजाड थियो’, उनी भन्छन्, ‘अहिले देखिहाल्नु भयो चहल पहल।’
देखिने परिवर्तन, यहाँ पनि बाटोघाटोको विकास नै हो। दाङको घोराहीसम्म कालोपत्रे बाटो यहीबाट गएको छ। शहीद मार्ग पनि यहींबाट शुरु हुन्छ, जसले रोल्पाका थुप्रै गाउँलाई जोड्छ। टोल–टोलमा बाटो पुगेको छ, अब केही स्नतरोन्नति गर्न बाँकी छ। व्यापार, व्यावसाय फस्टाउँदो छ। नयाँ–नयाँ होटलहरू खुल्न थालेका छन्। खाद्यान्न, जडिबुटी, तरकारीको उत्पादन यहाँ हुन्छ। यी उत्पादन निर्वाहमुखी मात्रै छैनन्, निर्यात पनि गरिन्छन्।
‘द्वन्द्वकालमा कुखुरा, साग, अण्डा बिक्री नभएर फर्किन्थे, अहिले एकैछिनमा हात-हातै विक्री हुन्छ’, डाँगी सुनाउँछन्, ‘चाडपर्वका बेला यो बजारमा कम्तीमा पाँच लाखको कपडा एकै दिन बिक्री हुन्छ। तरकारी र नगदे बाली लाउनेहरू उत्साहित हुँदै उत्पादनमा लाग्न थालेका छन्।’
त्यसो त रोल्पाका अरू गाउँ जस्तै आम्दानीको मुख्य स्रोत यहाँ पनि रेमिट्यान्स नै हो। हरेक घरबाट विदेश नजाने युवा भेटिन गाह्रै पर्छ, यहाँ पनि। तर, यहाँ कतिपय विदेशबाट फर्केर काम थाल्नेहरू पनि छन्। खासगरी पर्यटन, तरकारी, नगदेबाली प्रतिको आकर्षण बढ्न थालेकाे छ।
स्थानीय सुन्दर सुवेदी लसुन, भिडे खोर्सानी, टमाटर, बन्दागोभी आदि तरकारी निर्यात हुने गरेको बताउँछन्। ५९ वर्षीय यी पुरेतका अनुसार, विगत र अहिलेमा तुलना नै हुँदैन।
‘पहिले कतिखेर मरिन्छ भन्ने त्रास थियो। अहिले के भइहाल्छ किन भन्ने आश छ। पहिले बालबालिकालाई युद्धमा लैजालान् कि भन्ने डर थियो’, उनी भन्छन्, ‘कतिबेला अपहरण परिने हो भयग्रस्त अवस्था थियो। अहिले त्यो भय हटेको छ।’
द्वन्द्वकालमा उनी चार दिन माओवादीको अपहरणमा पनि परेका थिए। त्यो बखत उनी सामुदायिक वनका सचिव थिए। घर बनाउँदा उनले वनबाट हाँगाको निधाल काटेका थिए। माओवादीले सामुदायिक वन मासेको भनेर उनलाई अपहरण गरे। र, चार दिनपछि ५७ हजार जरिवाना तिराएर छोडे। ‘त्यस्तो अवस्थाबाट यो शान्तिपूर्ण अवस्थामा आउँदा पूरै गाउँले राहत पाएको छ’, उनले भने।
यो शान्ति विकास र समृद्धिमा रूपान्तरण हुन ‘कुहिरोमुनि’को होलेरी पर्यटकीय दृष्टिले थप गुलजार हुँदै जानुपर्छ।
रोल्पा कोलाज शृंखलाका अन्य रिपोर्ट पढ्नुस् :
१ त्यो लिवाङ, यो लिवाङ
२ मझधारमा थवाङ
३ चुनवाङको चिन्ता
४ गुलजार हुँदै घर्तीगाउँ
५ उपराष्ट्रपतिका पिता रामसुर भन्छन्- ‘माइलो छोराको डेरा कारागार जस्तै’
प्रकाशित: २७ चैत्र २०७५ ०८:२० बुधबार