सोलुखुम्बु– मौसममा आएको खराबीका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एक दर्जन जहाज थन्किएका छन्।
विहान डेढ सयको हाराहारीमा उडान भएको विमानस्थलमा मध्यान्नपछि मौसम प्रतिकुल भएपछि १० हेलिकप्टर र २ वटा जहाज लुक्लामै थन्किएको नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख ईमाननाथ अधिकारीले बताए।
श्री एयरलायन्सको एक, डाइनेष्टिक एयरको तीन, मनाङ एयरको एक, समिट एयरको दुई, अल्टिच्युट एयरको एक, कैलास एयरका दुई र एभरेष्ट एयरको एक हेलिकप्टर विमानस्थलमा थन्किएका हुन्। मध्यान्न १२ बजेसम्म मौसम रामै्र भए पनि अहिले बाक्लो हुस्सु र कुहिरो लागेको हो।
आइतबार ९४ जहाज र ७० हेलिकप्टरले उडान भरेको नागरिक उड्ययन कार्यालय, लुक्लाले जनाएको छ। विमानस्थलका अनुसार तारा, सीता र समिट एयरलाइन्सले नियमित उडान भर्दै आएका छन्।
मौसम खराबीका कारण खुम्बु क्षेत्रमा आउने सयौं पर्यटक रामेछापको मन्थली बिमानस्थलमै रोकिएका छन्।
प्रकाशित: २४ चैत्र २०७५ ११:५९ आइतबार