मकवानपुर - मकवानपुरबाट प्रहरीले दुई क्वीन्टल बढी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गाडीका चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने ३६ वर्षीय रामजस यादव र सोही ठाउँका १९ वर्षीय उज्वल गुर्मछाने मगर रहेका छन्। २ सय १२ किलोग्राम गाँजा र गाँजा बोक्न प्रयोग गरिएको पिकअप भ्यानसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।
बिहीबार प्रहरीले पत्रकार समेलन गरी बरामद गरिएको गाँजा, गाडी र पक्राउ परेकालाई सार्वजनिक गरेको हाे । प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएकाे टोलीले विशेष सूचनाको आधारमा मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको पिकअप भ्यानलाई रोकेर जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ तीनताप्केबाट गाँजा र ना ३ च ३७९६ नम्बरको पिकअप भ्यानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिङले जानकारी दिए।
गाडीको पछाडीको ढालामा त्रिपाल राखेर त्रिपालभित्र प्लाष्टिकमा बेरेको अवस्थामा गाँजा राखिएको थियो । पक्राउ परेका दुवैजनालाई प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतमा मुद्दा दायर गरेको छ ।
प्रकाशित: २१ चैत्र २०७५ ०७:४० बिहीबार