१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महोत्तरीमा खानेपानीको हाहाकार

बर्दिवास– महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम पानीका मुहान सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ। नदी, पानीखोल्सा, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि जिल्लाका बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा मध्यचैतदेखि खानेपानीको सङ्कट बढेको हो।

चुरे पहाडी शृङ्खलाका खोल्सीबाट पाइप ओछ्याएर ल्याइएको धाराबाट पानी झर्न छाडेपछि बर्दिवास–५ गणन्ता बस्तीमा खानेपानीको सङ्कट बढेको छ। जम्मा २२० घरपरिवारको बसोबास भएको सो बस्तीमा अहिले साइकलमा गाग्री झुण्ड्याएर टाढाबाट खानेपानी ल्याएर गर्जो टार्नुपरेको त्यहीँकै बासिन्दा वडा सदस्य रमेश कार्कीले बताए।

त्यसैगरी खानेपानीको स्रोत इनार मात्र भएका बर्दिवास नगरपालिका–८ को हाथीलेटमा पर्ने बिजयबस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन्। यसबाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको त्यहाँका बासिन्दा होमबहादुर श्रेष्ठ बताउछन्।

बर्दिवासकै किसाननगर, बिजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगर सहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा चिन्ता बढेको छ। यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिँया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैतको दोस्रो साताभित्रै खानेपानीको सङ्कट बढेको हो।

यसपालि हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा बालुढुङ्गा उत्खनन गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैतमध्यमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञहरु बताउँछन्। पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पाहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेका र स्थानीय तहले भने वास्ता नगरेका सर्वसाधारणको गुनासो छ। रासस

प्रकाशित: २१ चैत्र २०७५ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App