९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

महागढीमाई र सुवर्णका पीडितकाे बिचल्ली

सुवर्ण गाउँपालिका–४ हर्दियाको दलित बस्तीमा हावाहुरीबाट भत्किएका घरटहरा। तस्बिर : मदन/नागरिक

तेलगाई - महागढीमाई नगरपालिका–१ का ८५ वर्षीय जगदीश यादव घरीघरी अकाशतिर हेर्दै ७५ वर्षीया श्रीमती कोइली देवीलाई सम्झिरहन्छन्। गत आइतबार साँझको हावाहुरीले यादवको घर मात्रै ध्वस्त बनाएन, श्रीमती कोइली देवीको प्राणै लग्यो। आफैं किरियापुत्री बसेका यादव अकाशमा बादल र घाम जे देखे पनि तर्सन्छन्। घर–संसार नै उजाडिएपछि यादव तीन दिनदेखि निदाउन सकेका छैनन्।

यादवजस्तै सुवर्ण गाउँपालिका–४ हर्दियाकी ५५ वर्षीया शान्तिदेवी चमइन पनि हावाहुरीले घर उडाएपछि घरबारविहीन बनेकी छन्। वायुमण्डलमा देखापर्ने हलचलका कारण फेरि विपत्ति त आउने आशंकाले उनलाई चिन्तामा डुबाउने गरेको छ। शान्तिको घरसँगै गाउँकै ऐलानी जग्गामा रहेको सिंगो दलित बस्ती तहसनहस पारेपछि ७० घरपरिवारको बिचल्ली भएको छ। सडकको दुवैतर्फ बनाइएको घर भत्किएपछि अहिले ती परिवारको बिल्लीबाँठ भएको हो।

सबैको ध्यान फेटा गाउँपालिकातर्फ केन्द्रित रहँदा महागढी र सुवर्णमा कसैको ध्यान जान सकेको छैन। विनाशकारी हुरीपछि सबैको ध्यान बारा र पर्सामा त छ। त्यसमा पनि बाराको फेटामा मात्र सबैको ध्यान तानिएको छ। सबैभन्दा धेरै मानवीय क्षति त्यहीं भएको हो। जहाँ २० जनाको ज्यान गएको थियो। सिंगो देशको ध्यान फेटामा तानिएकाले अन्य क्षेत्रका पीडित भने ओझेलमा परेका हुन्। फेटामा ठूला नेता पुगे। त्यहाँका पीडितले केही न केही राहत पाए। तर बाराकै महागढी र सुवर्णमा कसैको ध्यान नतानिँदा त्यहाँका स्थानीय भने बिचल्लीमा परेका छन्। अहिलेसम्म आफूहरूकहाँ राहत लिएर कोही पनि नआइपुगेको पीडितहरूको भनाइ छ। यी क्षेत्रमा तीन जनाको ज्यान गएको थियो। सुवर्ण–८ परसुरामपुरकी ३२ वर्षीया रजिया खातुन र वडा ४ हर्दियाका ७० वर्षीय श्रीप्रसाद यादवको घरमा चेपिएर ज्यान गएको थियो। महागढी तेलगाईमा पनि ७२ वर्षीया कैलीदेवी यादवले ज्यान गुमाएकी थिइन्।

सुवर्ण गाउँपालिकाको अध्यक्ष महेन्द्रप्रसाद यादवले दिएको जानकारीअनुसार वडा १, ३, ४, ५ र ८ मा तीन सय घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र दुई सय घरमा आंशिक क्षति भएको छ। अहिलेसम्म यो ठाउँमा कोही दाता आइनपुगेको उनको भनाइ छ। ‘हामीले स्थानीय विद्यालयमा राखेर पीडितलाई खाना खुवाइरहेका छौं,’ उनले भने, ‘सरकारी निकायको ध्यान अहिलेसम्म तानिएको छैन।’ गाउँपालिकाबाट तत्काल मृतक परिवारलाई ५१ हजार रुपैयाँका दरले र प्रभावित परिवारलाई एक हजार रुपैयाँ नगदका साथै भाँडाकुँडा, खाद्यान्न सामग्री उपलब्ध गराउने कार्यपालिका बैठकबाट निर्णय भएको उनले बताए। केन्द्र सरकार र राज्य सरकारबाट यहाँका पीडितहरूलाई राहत नआएको उनीहरू मात्रै फेटामा सीमित भएको भन्दै अध्यक्ष यादवले गुनासो गरे।

सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका संघीय समाजवादी फोरमका महासचिव रामसहायप्रसाद यादवले सबैको ध्यान फेटामा रहेकाले त्यहाँका स्थानीय ओझेलमा परेको उल्लेख गरे। त्यहाँको अवस्था बुझ्न गएका यादवले भने, ‘राज्यको ध्यान फेटाबाहेका अन्त जान सकेको देखिएन।’ शौचालयविहीन, बिजुलीविहीन, खानेपानीविहीन हर्दिया, बगही, पचरौता, तेलगाई, परशुरामपुर, रमपुर्वा, हरपुर्वालगायत गाउँ पूर्ण रूपमा प्रभावित भएकाले राज्यले उचित कदम चाल्नुपर्नेमा उनले जोड दिए।

यादवसँगै पुगेका प्रदेश सांसद शारदाशंकर साहले प्रमुख जिल्ला अधिकारी तथा बाराका सुरक्षा निकायका प्रमुखलाई सो ठाउँका बारेमा बारेमा जानकारी गराउँदा पनि बेवास्ता गरेको भन्दै दुखेसो पोखे। त्यहाँका स्थानीय राहतको पर्खाइमा देखिन्छन्। त्यहाँको अवस्था बुझ्न मुख्यमन्त्रीबाहेक अहिलेसम्म कोही पुगेका छैनन्। ‘सोमबार राति मुख्यमन्त्री आउनुभएको थियो। भोलि आउँछु भनेर जानुभएको थियो, हराउनुभयो,’ स्थानीय शान्तिदेवी चमारले भनिन्, ‘सिके राउत पनि आउनुभएको थियो, नमस्ते गर्नुभयो, जानुभयो।’

प्रकाशित: २१ चैत्र २०७५ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App