१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

५३ भूकम्प–पीडितका लागि एकीकृत नमुना बस्ती

ओखलढुंगा - जिल्लाका तीन स्थानीय तहका ५३ भूकम्प–पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्न जग्गाको व्यवस्था गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा चम्पादेवी गाउँपालिकाको विलन्दु, मोलुङ गाउँपालिकाको प्राप्चा र चिसंखुगढी गाउँपालिकाको माम्खाका भूकम्प–पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्न जग्गा व्यवस्था गरिएको हो।

भूकम्पपछिको पहिरोका कारण घर र घडेरी गुमाई विस्थापित भएका ५३ भूकम्प–पीडितका परिवारका लागि जनही दुई लाखका दरले जग्गा खरिद गरी आवास निर्माणको काम थालिएको छ। यसरी घर–जग्गा गुमाएका तथा घर बनाउने जग्गासमेत नभएका पीडित एकीकृत बस्तीमा समावेश हुन चाहेमा एकमुष्ट जग्गा खरिद गरेर पास गर्ने र बस्तीको पूर्वाधारका लागि प्रति परिवार चार लाखका दरले शौचालय, खानेपानी सडक बिजुली आदि निर्माण गरिने भएको छ।

चम्पाउँपालिका–९ को विलन्दुका २३, मोलुङ गाउँपालिका–३ प्राप्चाका १५ र चिसंखुगढी गाउँपालिकाका १५ परिवारका लागि जग्गा खरिद भइसकेको पुनर्निर्माणमा सहजीकरण गर्दै आएको आत्मनिर्भर सेवा केन्द्रको दिगो समाधानका संयोजक भोला बस्नेतले बताए। बस्नेतका अनुसार एकीकृत बस्तीमा बस्न नआउनेका लागिसमेत दुई लाख बराबरको जग्गा खरिद गरेर घर निर्माणका लागि सहयोग गर्ने सरकारी नीति रहेको छ। घर बनाउने जग्गासमेत नभएका पीडितहरू भूकम्पका कारण कमजोर बनेको जग्गामा अस्थायी टहरामा बस्दै आएका छन्। ओखलढुंगाका एक सय ९३ परिवारको भूकम्पमा घरसँगै घर निर्माणयोग्य जग्गासमेत क्षति पुगेको थियो। तीमध्ये अहिलेसम्म ७५ जनालाई जग्गा किनेर लालपुर्जा हस्तान्तरण गरिएको छ।

जग्गा किन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले रकम उपलब्ध गराएको एकाइकी सूचना अधिकृत सुनिता अधिकारीले जानकारी दिइन्। घर बनाउन जग्गा पाएका पीडितले अनुदानको किस्ता लिएर घर बनाउन सक्ने उनको भनाइ छ। अन्य पीडितहरूलाई स्थानीय तहसँग समन्वय गरेर जग्गा खरिद गर्ने प्रक्रिया चलिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यन्वयन एकाइ ओखलढुंगाले जनाएको छ।

प्रकाशित: १९ चैत्र २०७५ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App