१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

परीक्षा दिन नपाएपछि विद्यार्थी आन्दोलित

काठमाडौं - पोखरा विश्वविद्यालयले तोकेको मापदण्डविपरीत भर्ना भएका ३ सय ९१ विद्यार्थी व्यवस्थापनतर्फ स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाएपछि आन्दोलनमा उत्रिएका छन्। व्यवस्थापनतर्फ स्नातक तहमा भर्ना हुन कक्षा ११ र १२ को परीक्षामा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान छ। तर यो प्रावधानविपरीत ४२ वटा कलेजले सीभन्दा तलको ग्रेड ल्याएकालाई समेत भर्ना लिएका थिए। ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकाले समस्या आएको हो।

यसरी मापदण्डविपरीत गएर भर्ना लिने कलेजमा काठमाडौं उपत्यकाभित्र रहेका एपेक्स, सायम, राजधानी, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, लिबर्टी, युनिग्लोब, स्किम, भिएस निकेतन, नोबेल, एक्सेल, एटलान्टिक, कामद, सिटिजन, क्वेस्ट, प्लाटिनम म्यानेजमेन्ट, अपोलो इन्टरनेसनल, अथर्व, शुभश्री, मेधावी, नर्भिक, सेन्ट्रल र सहिद रामनाथ कलेज छन्। त्यस्तै रुपन्देहीका वृहस्पति, तिलोत्तमा, क्रिमसन, एक्सिस, क्षितिज र बुटवल मोडलका साथै नवलपरासीको अक्सफोर्ड, चितवनको बोस्टन इन्टरनेसनल र भ्याली स्टेटले पनि मापदण्डबाहिर गएर विद्यार्थी भर्ना लिएका हुन्। कैलालीका नास्ट, नेपाल वेस्टर्न म्यानेजमेन्ट, कञ्चनपुरका ब्रिक्सन, अभाइटी, बाँकेको अल्पाइन र दाङको भिक्टोरिया कलेजले पनि विश्वविद्यालयको मापदण्डविपरीत भर्ना लिएका छन्। यसरी भर्ना लिने अन्य कलेजमा नेसनल ओपन, ला ग्रान्डी, सिद्धार्थ इन्टरनेसनल र रिज हस्पिटल एन्ड म्यानेजमेन्ट कलेज रहेका छन्।

व्यवस्थापनतर्फ स्नातक तहमा भर्ना हुन कक्षा ११ र १२ को परीक्षामा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान छ। तर यो प्रावधानविपरीत ४२ वटा कलेजले सीभन्दा तलको ग्रेड ल्याएकालाई समेत भर्ना लिएका थिए।

पोखरा विश्वविद्यालयले त्यस्ता ३ सय ९१ विद्यार्थीको रजिस्ट्रेसन फारम अस्वीकृत गरेका कारण उनीहरु परीक्षाबाट वञ्चित भएका हुन्। उनीहरुले नियमविपरीत भर्ना लिएका कलेजका भित्तामा माफिया लेख्ने क्रममा बानेश्वरबाट प्रहरीले पक्राउ गरेको जनाएका छन्। पढ्न पाउनुपर्ने र परीक्षा दिने अधिकार सुरक्षित गरिनुपर्ने एवं गैरकानुनी रुपमा भर्ना लिने कलेजलाई कारबाहीको माग गर्दै उनीहरुले आन्दोलन गरेको नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका संयोजक नवराज त्रिपाठीले बताए।

आन्दोलनमा उत्रेका विद्यार्थीले आइतबार बानेश्वरमा रहेका एपेक्स, राजधानी र सायम कलेजका भित्तामा कालो अक्षरले माफिया लेखेर बिहान १० बजेतिर बानेश्वरमै रहेको एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजमा जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। कलेज सञ्चालकहरुको दबाबमा प्रहरीले पक्राउ गरेको विद्यार्थीको आरोप छ। ‘हामीलाई बिहान १० बजे पक्राउ गरी टेकु लगियो र अपराधी राख्ने ठाउमा राखियो। पछि महेन्द्र पुलिस क्लब लगिएको हो’, नेवि संघ पोखरा विश्वविद्यालय संयोजक त्रिपाठीले महेन्द्र पुलिस क्लबबाट भने, ‘कलेज सञ्चालकको दबाबमा हामीलाई पक्राउ गरिएको हो। तर हामी दबाबमा पर्दैनौं। आफ्नो हकहितका लागि आन्दोलन गर्नेछौं।’ सरकारले नियमविपरीत भर्ना लिएका कलेजलाई कडाभन्दा कडा कारबाही गरी विद्यार्थीको पढ्ने अधिकार सुरक्षित नगरेसम्म आन्दोलन नरोकिने उनले प्रस्ट पारे।

पोखरा विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले कुनै पनि अवस्थामा निजी कलेजका लागि नियमन परिवर्तन गर्न नसकिने प्रस्ट पारे। ‘परीक्षाको समयमा निजी कलेजका लागि मात्र नियम परिवर्तन गरे विश्वविद्यालयका पदाधिकारी नै कारबाहीका भागीदार हुन्छन्। यस्तो कार्य विश्वविद्यालयले कदापि गर्न सक्दैन’, रजिस्टार शर्माले भने। विश्वविद्यालयको कुलपतिले सभा बोलाएर विद्यार्थीको समस्या सम्बोधन गर्न सक्ने पनि उनले औंल्याए।

त्रिभुवन विश्वविद्यालयले बीचमै नियम परिवर्तन गरेर डि प्लस ग्रेडलाई पनि भर्ना लिएको र पोखरा विश्वविद्यालयअन्तर्गतका निजी कलेजले समेत त्यसैको देखासिकी गरी डी प्लसलाई भर्ना लिएकाले समस्या आएको शर्माको भनाइ छ। ‘त्रिविले पढाइ सुरु भएको बीचमै नियम परिवर्तन गरी डी प्लस ग्रेडलाई पनि व्यवस्थापन संकायको स्नातकमा भर्ना लियो,’ रजिस्टार शर्माले भने, ‘तर पोखरा विश्वविद्यालयले तोकेको मापदण्ड थाहा हुँदाहुँदै निजी कलेजले जानीजानी यो गल्ती गरेका कारण पनि क्षम्य हुँदैन।’

प्रकाशित: १८ चैत्र २०७५ ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App