३ असार २०८१ सोमबार
image/svg+xml
समाज

अध्यक्षको सट्टा जनतालाई गाडी

हलेसी र लिङ्चुङबुङ गाउँपालिकाको सिमानामा बतासे– काठमाडाैं जीप सेवा उद्घाटन गर्दै मेयर इवन राई (दायाँ) र गाउँपालिका अध्यक्ष मेजर राई (बायाँ)। तस्बिरः नागरिक

खोटाङ – कच्ची सडक विस्तार नहुँदै अधिकांश स्थानीय तहका जनप्रतिनिधिबीच महँगा गाडी चढ्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ। जनता धुलो खाँदै हिँडिरहेका बेला जनप्रतिनिधि महँगो गाडीमा हुइँकिएको दृश्य सामान्यजस्तै भइसकेको छ।

स्थानीय तहका अधिकांश जनप्रतिनिधि सुविधाभोगी बन्न थालेको टीकाटिप्पणी भइरहेका बेला उदयपुरको लिङचुङबुङ गाउँपालिकाले भने अध्यक्षका लागि सवारीसाधन खरिद गर्न विनियोजन गरेको ५७ लाख ७१ हजार रकमले सर्वसाधारणका लागि बस खरिद गर्ने निर्णय गरेको छ।

स्थानीय सरकारको प्रत्याभूति दिन गाउँ कार्यपालिकाको चैत २ गते बसेको बैठकले गाउँपालिकाका जनताले सुलभ भाडादरमा उपयोग गर्नेगरी दुईवटा बस खरिद गर्ने निर्णय गरिएको लिङ्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर राईले बताए।

‘जनताका माझमा गाडी चढ्नु उपयुक्त लागेन। हाम्रा लागि भन्दा जनताका लागि गाडीको आवश्यकता देखें,’ उनले भने, ‘लामो समयपछि आएको स्थानीय सरकारले पनि गरिब जनताका लागि नसोच्ने हो भने कसले ? कसले सोच्ने ?’ गाउँ कार्यपालिकाको बैठकले जनप्रतिनिधिको गाडी खरिद गर्नुको सट्टा बस खरिद गर्ने निर्णय गरेपछि बस सञ्चालन कार्यविधि बनाउने तयारी थालिएको गाउँपालिकाले जनाएको छ। नाफामुखी नभई सेवामुखी बस सञ्चालन कार्यविधि तयार पारेर आगामी वैशाखभित्र बस खरिद गरेर गाउँपालिकाभित्र सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष राईले बताए।

हाल गाउँपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातले नियमित सेवा दिन नसकेको र कतिपय सर्वसाधारणले भाडा तिरेर सार्वजनिक यातायातको सेवा लिन नसकिरहेको अवस्थामा गाउँपालिका आफैंले बस खरिद गर्ने निर्णय गरेको हो। ‘हामीले नाफाका लागि नभई जनताको सेवाका लागि बस सञ्चालन गर्ने निर्णय गरेका हौं,’ उनले भने, ‘ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका जनतालाई निःशुल्क यात्राको व्यवस्था गरिनेछ। सामान्य अपांगता भएका र विद्यार्थीलाई पनि सहुलियत दिने योजनामा छौं। अन्य यात्रुको हकमा पनि सार्वजनिक यातायातको भन्दा सहुलियत दरमा भाडा निर्धारण गर्नेछौं।’

उदयपुरका चार नगरपालिका र चार गाउँपालिकामध्ये लिङचुङबुङबाहेक अन्य स्थानीय तहका प्रमुख÷अध्यक्षले गाडी खरिद गरिसकेका छन्। कतिपय उपमेयरका लागि समेत छुट्टै गाडी खरिद गरिएका छन्। जताततै जनप्रतिनिधि सेवासुविधामा लिप्त बन्दै गएको सन्दर्भमा जनताप्रति उत्तरदायी रहेको सन्देश दिन महँगो गाडी नचढ्ने निर्णय गरिएको अध्यक्ष राईले बताए।

‘विकास गर्न गाडी नै चाहिन्छ भन्ने छैन। सेवासुविधामा मरिहत्ते गरेर मात्र पनि हुँदैन। सुविधाभोगी प्रवृत्तिविरुद्धको निर्णय हो यो,’ उनले भने, ‘जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्छ। स्थानीय सरकारलाई जनताको आँगनको सरकार भनिएको छ, यसलाई पुरै जनतातिर फर्काउनुपर्याे।’ जनप्रतिनिधि सेवासुविधाको पछि दौडिएको र अपेक्षाअनुसार विकास गर्न नसकेको आरोपबीच जनताप्रति समर्पित बन्ने सन्देश दिन खोजिएको राईको भनाइ छ।

लिङचुङबुङ गाउँपालिकाका पाँचवटा वडा बासबोटे, ताम्लीछा, बाराहा, बलम्ता र जाँतेमा विगत ६÷७ वर्षअघिदेखि नै जिप सञ्चालनमा आइसकेको थियो। एक वर्षअघि बस पनि सञ्चालन हुन थालेको छ। लिङचुङबुङबाट कच्ची सडक हुँदै गाईघाट, मुर्कुचीलगायतका व्यापारिक केन्द्र आवतजावत गर्न सकिन्छ। त्यही सडकमा सर्वसाधारणलाई सुलभ भाडादरमा यात्रा गराउने लक्ष्यका साथ गाउँपालिकाले जनप्रतिनिधिको सट्टा सर्वसाधारणका लागि बस किन्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

‘स्थानीय सरकार हुनुको नाताले जनता हाँसेको पनि देखेका छौं, रोएको पनि देखेका छौं। यहीबीचमा हामी देश बनाउन, गाउँ बनाउन लागेका छौं,’ राईले भने, ‘गरिब जनतालाई सँगै लैजाने, उहाँहरूको जीवनमा पनि केही परिवर्तन ल्याउने एउटा थालनी हो।’ गाउँपालिकाको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र लिङचिङबुङ गाउँपालिकाको सिमानामा पर्ने कुनै घाटसम्म सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।

जनप्रतिनिधिका लागि सवारी साधन किन्ने बजेटले बस खरिद गर्ने निर्णय गरिएपछि जिल्लामा सकरात्मक चर्चा बढेको छ। अधिकांश स्थानीयले गाउँपालिकाको निर्णयलाई सकारात्मक सन्देशका रूपमा लिएका छन्। लिङचुङबुङ गाउँपालिकाको निर्णयले अन्य स्थानीय तहका भोगविलासमुखी जनप्रतिनिधिलाई ‘लज्जाबोध’ गराएको ताम्लिछाका स्थानीय कृष्ण निरौलाले बताए। स्थानीय सकारकारको जनपक्षीय निर्णयले जनतामा आशा जगाएको मावि बाँसबोटे बुत्कुका प्रधानअध्यापक खिलराज राईले बताए।

प्रकाशित: १३ चैत्र २०७५ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App