२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खाल्डोमा जमेको पानीमा डुबेर नाबालिकाको मृत्यु

खोटाङ– खाल्डोमा जमेको पानीमा डुबेर खोटाङमा नाबालिकाको मृत्यु भएको छ। महुरे–फोक्सिङटार सडक खण्डको किनारमा खाल्डो खनेर जमाइएको पानीमा डुबेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाकी २३ महिनाकी बालिका तुलसा बिश्वकर्माको मृत्यु भएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए। 

सडकको कल्भर्ट बनाउनेक्रममा आवश्यक पानी जम्मा गर्नका लागि ठेकेदारले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको हो। खेल्नेक्रममा शनिबार पानी जमेको खाल्डोमा डुबेका बालिकाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए। 

खाल्डोमा जमेको पानी सडक निर्माणकोक्रममा प्रयोग गरेपछि स्थानीयले गाईबस्तुलाई खुवाउन र सागसब्जीमा हाल्नका लागि उपयोग गर्दै आएका थिए। सडकको भित्तापट्टि मुहान भएको पानीलाई जम्मा गरेर उपयोग गर्नका लागि ठेकेदारले खाल्डो खनेको वडाध्यक्ष ढकालले बताए। ‘केही समयअघि भित्ताबाट निस्कने पानीलाई जम्मा गरेर सडकको काममा उपयोग गर्न खाल्डो खनिएको थियो’, ढकालले भने, ‘सडकको काम सकिएपछि खाल्डोमा जम्मा भएको पानी गाउँलेले सागसव्जीमा लगाउन र गाईवस्तुलाई उपयोग गरिरहेका थिए। त्यही ठाउँमा बच्चा डुबेछ।’

प्रकाशित: ३ चैत्र २०७५ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App