८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

‘लगाएको लुगाबाहेक केही बचेन’

खोटाङको दुबेकोल घलेगाउँमा आगोले जलेको घरको भग्नावशेष। तस्बिर / नागरिक

खोटाङ – खोटाङको रावाबेंसी गाउँपालिका–५, दुबेकोल घलेगाउँका गोपाल पाण्डेले जंगलमा लागेको डढेलोले आफ्नो घर खाला भन्ने सायदै सोचेका थिए। शुक्रबार उनी गोठालो गएका थिए। घरमा श्रीमती मात्र थिइन्। स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्यो। बस्तीमा पसेको आगोले गोपाललगायतको घर छिनभरमै सखाप पा-यो।

करिब ३ सय मिटर परको जंगलमा लागेको डढेलोले घर जल्दा शरीरमा लगाएको लुगाबाहेक केही बचेन। गोपालको घरमा भएको नगद २ लाख २५ हजार, ७ तोला सुन, चाँदी, पुराना सिक्कालगायत जलेर नष्ट भएको रावाबेंसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए। भैंसी र बाख्रा भने श्रीमतीले फुकाएर खेदाएपछि बचे।

यस्तै, आगोले घर खाइदिँदा घलेगाउँकै युवराज पाण्डेले पनि सर्वस्व गुमाएका छन्। युवराज गाउँकै विद्यालय निर्माण काम गरिरहँदा डढेलोले घर जलेको हो। युवराजले पनि शरीरमा लगाएको लुगाबाहेक केही नजोगिएको बताए। गाउँ नजिकमा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछिे गोपाल, युवराज, भीम पाण्डे र अभिकेशर पाण्डेको घर नष्ट भएको हो। हावाहुरीका कारण दुबेकोलमा अपत्यारिलो तरिकाले गाउँमाझमा रहेका घर जले। हावाहुरीले ल्याएको डढेलोको लप्काले बस्तीको बीचमा रहेको घर जलाएको गाउँपालिका प्रमुख निरौलाले बताए। ‘अपत्यारिलो तरिकाले घरमा आगलागी भएको छ,’ गाउँपालिका प्रमुख निरौलाले भने, ‘गाउँबाट करिब तीन सय मिटर टाढाको जंगलमा डढेलो लागेको थियो। त्यति टाढा जंगलमा लागेको डढेलोले कसरी घर जलायो। सुरक्षाकर्मी र स्थानीय पनि अचम्मित भएका छौं।’

डढेलोले घर जल्दा गोपालको परिवारका ६ जना, युवराजको परिवारका ६ जना, भीमप्रसादका परिवारका ५ जना र अभिकेशरको परिवारका ४ जनाको बिचल्नी भएको छ। यस्तै, गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट फैलिएको डढेलोले ऐंसेलुखर्क गाउँपालिका–७, माक्पाका तोमबहादुर निरौलाको घर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७५ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App