काठमाडौं - रोजगारीको सिलसिलामा मलेसियामा घाइते भएकी काभ्रे नमोबुद्धकि माया वाइवालाई काभ्रे कल्याणकारी समाज मलेसियाले आर्थिक सहयोग गरेको छ। समाजले आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर घाइते वाइवालाई २ लाख ७४ हजार प्रदान गरेको हो। मलेसियाका विभिन्न कम्पनीमा कार्यरत काभ्रे कल्याणकारी समाजका सदस्यहरुले संकलन गरेर पठाएको आर्थिक सहयोग समाजका संरक्षक शंकर आचार्य, काभ्रे कल्याणकारी सेवा समाज नेपालका अध्यक्ष उर्गेन थोकर तामाङ लगायतको उपस्थितिमा घाइते वाइवालाई हस्तान्तरण गरिएको हो।
मलेसियाको औषधि कम्पनीमा कार्यरत वाइवाको गाडी दुर्घटनामा हात भाँच्चिएको थियो भने खुट्टामा सामान्य चोट लागेको थियो। दुर्घटनापछि मलेसियाकै अस्पतालमा केही समय उपचार गरेकी वाइवाको हातको शल्यक्रिया गर्नुपर्ने र धेरै खर्च लाग्ने जानकारी अस्पतालले गराएपछि उनी फेब्रुवरीमा नेपाल फर्किएकी थिइन।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजका संरक्षक आचार्यले मलेसियामा मलेसियामा धेरै संघ संस्था खुले पनि केही मात्र अस्तित्वमा रहेको र ति मध्ये पनि केही सीमित संस्था सामाजिक सेवा गर्ने उद्देश्यले खोलिएको बताए।
यस्तै समाजका अध्यक्ष तामाङले काभ्रे कल्याणकारी समाजले रोजगारीका क्रममा समस्यामा परेका थुप्रै नेपलीलाई विगतमा पनि सहयोग गरेको जानकारी गराउँदै सामाजिक कार्यलाई निरन्तरता दिने बताए। त्यस्तै उनले विगतमा संस्थाको नाम काभ्रे समाज रहँदै आएकोमा आजदेखि काभ्रे कल्याणकारी समाज बनेको र केही दिनमै जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाणपत्र प्राप्त हुने जानकारी दिए।
"अप्रेशन गरेर स्टिल हालेको छ अब २ वर्षमा स्टिल निकाल्ने भनेको छ अस्पतालले। मलाई आर्थिक सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद भन्छु।"सहयोग पाएपछि वाइवाले भनिन्।
प्रकाशित: २ चैत्र २०७५ ११:४५ शनिबार