माघ महिनाको एक दिन लमजुङबाट काठमाडौं फर्कने क्रममा हामीले होमस्टेमा बस्ने सल्लाह ग-यौं। पृथ्वी राजमार्गसँग जोडिएको विमलनगर बजारको सामुदायिक होमस्टे रोज्यौं हामीले। राजमार्ग दायाँबायाँ दोहोरीलत्त घर। त्यहाँ दिदीबहिनीले सञ्चालन गरेको होमस्टेमा एक रात बस्यौं हामी।
बजारमा मगर समुदायको बसोबास बढी छ। त्यसबाहेक केही नेवार पनि रहेछन्। काठमाडौं आउँदाजादाँ धेरैपटक नजर परेको थियो तर विमलनगरमा सामुदायिक होमस्टे छ भन्ने थाहा थिएन। गाउँलेले होमस्टेमा पारिवारीक वातावरणमा पर्यटकलाई अर्गानिक खाना खुवाउँदा रहेछन्। महिला समूह सामाजिक काममा अग्रसर छ। हाल त्यहाँका १२ घरमा पाहुना राखिन्छ। होमस्टेमा ३० बेड रहेछन्। आठ सय रुपैयाँको प्याकेजमा वेलकम ड्रिंक्स, डिनर, बेड र ब्रेकफास्ट सुविधा पाइन्छ।
पाहुना बढ्दै जाँदा घर थप्दै जाने योजना छ। होमस्टे उद्यम समूहले बास बस्न आउने पर्यटकलाई फूलमालाले स्वागतसँगै साँझपख मगर संस्कृतिको स्वाद चखाउँछ। त्यसमा कौरासहितका नृत्य देखाइन्छ। खानेकुरामा स्थानीय परिकार पाइन्छ। गाउँलेको आत्मीयताले लठ्ठ बनाउँछ। स्थानीय कुखुरा, माछा, गुन्द्रुक, रायो, कोदोको ढिँडो, कोदोको रोटी, लोकल कोदोको रक्सी विमलनगरका विशेषता।
पृथ्वी राजमार्गसँग जोडिएको तनहुँको विमलनगरमा सामुदायिक होमस्टे सञ्चालनमा छ। त्यहाँ बसेर सिद्धगुफा र बन्दीपुर घुम्न सकिन्छ।
हामीले होस्ट परिवारसँग बसेर कुखुराको मासुसँग भात खायौं। सुत्ने कोठा पनि चिटिक्क ! त्यो रात मलाई आफ्नै घरमा सुतेझैं लाग्यो। एउटा कुरा मनमा सोच्दै सुतेँ, ‘आफैं मात्र खाऔं, आफैंमात्र लाऔं’ भन्ने चरम पुँजीवादी समयले प्रभाव पार्दै गइरहेको अवस्थामा सामूहिक भावना अनुरुप सञ्चालित व्यवसाय आफैंमा विशिष्ट हो। हामीले बिहान उठेर नास्ता खायौं। नास्तामा कोदोको रोटी पनि रहेछ। मलाई स्वादिष्ट रोटीले पुरानो नास्ताको याद दिलायो। नास्तापछि हामी तीनजना विमलनगरको आकर्षण एसियाकै ठूलोमध्येको एक सिद्धगुफामा गयौं। बजारबाट उत्तरपश्चिममा अवस्थित गुफा पुग्न २५ मिनेट उकालो हिँड्नुप-यो।
गुफा अनौठो छ। त्यहाँ किसिम–किसिमका कलाकृति छन्। समयको कालखण्डमा विभिन्न ऋषिमुनिले तपस्या गर्ने ठाउँ भएको हामीसँगै गएका गाइड साथीले सुनाए। स्थानीयले गुफा संरक्षण गरेका छन्। अचेल दुई युवाले गुफा घुम्न आउनेलाई बाटो देखाउँछन्। विमलनगर चट्टान आरोहणका लागि समेत प्रख्यात छ। बजार नजिकैको ढुंगे पहाडमा साहसिक खेल ‘रक क्लाइम्बिङ’ गरिन्छ। त्यसैले विमलनगर आफैंमा एउटा गन्तव्य हो।
महिलाको अगुवाइमा मौलिक संस्कृति जगेर्ना गर्ने र आयआर्जनको दायरा फराकिलो बनाउँदै लैजाने उद्देश्यले सञ्चालन भैरहेको होमस्टे उद्यम समूहले च्याउखेती, ढाका व्यवसाय, बाख्रापालन जस्ता उद्यमशील कार्यक्रमसमेत चलाउँदै आएको छ। साना तथा घरेलु उद्योग कार्यालयको पहलमा होमस्टे सुरु भएको रहेछ। यसको प्रवद्र्धन र विकासमा गण्डकी प्रदेश सरकारले महिलासँग हातेमालो गर्नुपर्ने देखिन्छ। गुफा घुमेर फर्केपछि हामी गुन्द्रुकको झोलसँग खाना खाएर काठमाडौं फर्कियौं, मनभरि मीठो सम्झना बोकेर।
प्रकाशित: २ चैत्र २०७५ ०३:२० शनिबार