२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

हेटौंडामा बर्डफ्लु संक्रमण पुष्टि

हजारौ कुखुरा भकाभक मर्न थालेपछि हेटौंडा उपमहानगरपालिका ७ मा कुखुराको खोरमा संयुक्त रुपमा निरीक्षण गर्दै अनुगमन टोली।तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर - हेटौंडा उपमहानगरपालिकामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। सो पुष्टिसँगै बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले चार किल्ला तोकी रोग नियन्त्रणको प्रयास थालेको छ।

समितिका अध्यक्ष एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबार आपत्कालीन सर्वपक्षीय बैठकले कुखुरा व्यवसायी, उपभोक्ता सबैलाई सचेत र सहयोग गर्न आग्रहसमेत गरेको छ। हेटौंडा–७ नागस्वतीका कुलप्रसाद चौलागाईंको मरेको कुखुराको नमुना जाँच गर्दा बर्डफ्लु फेला परेपछि रोग नियन्त्रणको प्रयास भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. चेतनारायण खरेलले बताए। उनका अनुसार चौलागाईंले व्यावसायिक रूपमा पालेको लेयर्स कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु प्रमाणित भएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले रोग नियन्त्रण गर्न कुखुरा, अन्डा र सुलीसमेत अन्यत्र निकासीमा रोक लगाएको छ। चौलागाईंको कुखुरा खोरको पूर्वमा वडा ६ र ७ को सिमाना, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्थाको भवनको सिमानाको बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमाना परिधिभित्र कुखुरा, अन्डा र सुलीसमेत अन्यत्र निकासी नगर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले सूचना प्रकाशित गरेका छन्।

हेटौंडा–७ नागस्वतीका कुलप्रसाद चौलागाईंको मरेको कुखुराको नमुना जाँच गर्दा बर्डफ्लु फेला परेपछि रोग नियन्त्रणको प्रयास भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. चेतनारायण खरेलले बताए।

फागुन दोस्रो सातापछि हेटौंडा–७ कमानेसहित जिल्लाका करिब २५ हजारभन्दा बढी कुखुरा मरेको किसानहरूको भनाइ छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार मरेको कुखुराको दोस्रोपटक पठाइएको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्न पठाइएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले बुधबार पत्राचार गर्दै बर्डफ्लु रोग नियन्त्रण (संशोधनसहित) आदेश २०६४ को दफा ६ अनुसार नियन्त्रण कार्यान्वयन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार गर्न निर्देशन दिएको थियो। रोग नियन्त्रण र पत्ता लगाउने कार्य विगतदेखि नै गरिरहेको बताउँदै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका डा. खरेलले शुक्रबार बैठक बसेर रोग नियन्त्रणका लागि थप काम गरिने बताए। ठूलो संख्यामा एकै गाउँका कुखुरा मरेपछि नमुना संकलन गरेका हेटौंडा–७ मा कुखुरा बिक्रीमा फागुन १४ बाट प्रशासनले रोक लगाएको थियो।

प्रकाशित: १ चैत्र २०७५ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App