२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

फोक्सिन्टार पुल भत्केपछि गाईघाटमा तरकारीको मूल्य आकाशियो

पछिल्लो वर्षापछिको बाढीले फोक्सिन्टारको पक्की पुल बगाएर सोझो यातायात सम्बन्ध टुटेपछि उदयपुरमा हरियो तरकारीको भाउ आकाशिएको छ । खोटाङबाट आउने तरकारीले गाईघाटको झण्डै ४० प्रतिशत बजार ओगट्दै आएकोमा गाडी चल्ने मुख्य पुल नै बगेपछि यस्तो अवस्था आएको हो ।  

उदयपुर र खोटाङलाई सोझो यातायातले जोडेको गाईघाट दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत फोक्सिन्टारस्थित सुन नदीको पुल गएको १२ गते राति बाढीले बगाएको थियो । सो पुल भत्केपछि गाईघाट दिक्तेल आउजाउ गर्ने यातायात पूर्णरुपमा बन्द भएको छ । गाडीहरु चल्न छाडेपछि त्यहाँबाट गाईघाट आउने तरकारी पुरै रोकिएकाले हरियो तरकारीको भाउ महँगिएको हो ।  

गाईघाटका तरकारी व्यवसायी निरज पौडेलका अनुसार पुल भत्केपछि खोटाङबाट आउने तरकारी पूर्णरुपमा रोकिएको छ । त्यसैगरी उदयपुरकै पहाडी भेगको तरकारी पनि स्थनीय सडकहरु पनि भत्के बिग्रेका कारण यातायात चल्न कम भएसँगै तरकारी थप अभाव हुन पुगेको पौडेलले बताए ।  

गाईघाटमा एक तिहाई व्यापारीलाई थोक मूल्यमा तरकारी बेच्दै आएका पौडेलले खोटाङबाट मात्र दैनिक ५ मेट्रिक टनसम्म तरकारी ल्याउने गरेका थिए । खोटाङबाट साग, सिस्नु, आलु, पीडालु, फर्सी, काँक्रा, कागति, गोलभेडा, स्कुस, करेला, चिचिण्डा, मिस्टङ्गा, निउरो, डोँठे, स्कुसको मुन्टा, फर्सीको मुन्टा, कर्कलोजस्ता हरिया सागपात र फलफुल गाईघाट आउँथ्यो । दिनहुँ तरकारीको ढिरी लाग्ने पौडेलको गोदाम अहिले सुनसान हुन पुगेको छ ।  

खोटाङ विभिन्न स्थानीयतहबाट ट्याक्टर, ट्रक र बोलेरो गाडीका गाडी गाईघाट आउने तरकारी फोक्सिन्टार नाका भत्केसँगै यता उपभोक्ता महँगीको मारमा परेका छन् भने उता किसानको तरकारी कुहेर जान थालेको छ । ‘पुल भत्केपछि बर्बात भयो, यता तरकारी माग्ने व्यापारीको भिड लाग्छ, ल्याउने बाटो भए पो’ पौडेलले भने ‘उता बारीभरी कुहेर खेर गईरहेको फोटो ह्वाट्सएप र मेसेन्टरमा किसानले देखाउँछन् । वर्षाले गर्नु ग¥यो ।’

पछिल्लो दुई वर्षयता गाईघाटमा पहाडका प्राङ्गारिक (अग्र्यानिक) तरकारीले बजार पिट्दै गएको थियो । ३ वर्षअघि मात्र फोक्सिन्टारको पुल बनेर सोझो यातायात सञ्चालनमा आएपछि खोटाङका किसानले उत्पादन गरेको सबैखाले तरकारी र फलफुलले गाईघाट बजार कब्जा जमाउँदै गएको थियो । उदयपुरकै पहाडी भेग र खोटाङको चिसो ठाउँमा उत्पादित अग्र्यानिक तरकारी आउन थालेपछि भारतीय बजार र तराईभेगको विषादीयुक्त तरकारीको आयात गाईघाटमा घट्दै गएको थियो ।  

तर, खोटाङसँगको यातायात मार्ग टुट्नुका साथै उदयपुरका पहाडी सडक भत्केपछि तरकारी फेरि महँगिएको गाईघाटका अर्का थोक विक्रेता रबिन राई बताउँछन् । उनी दैनिक ३ देखि ५ मेट्रिक टनसम्म पहाडको हरिया तरकारी थोक मूल्यमा बेच्दै आएको बताउँछन् । जिल्लाको लिमचुङबुङ, रौतामाई र ताप्लीको उत्रीभेगसम्का गाउँमा उत्पादित तरकारी आयात गरेर खुद्रा व्यापारीलाई बेच्दै आएका राईको पनि गोदाम सुकेको छ ।  

दिनहुँ ४–५ बोलेरो तरकारी गाउँबाट ल्याएर बेच्ने गरेका राईको व्यापार पछिल्लो वर्षाले स्वाट्टै घटेको छ । उच्च र चिसो हावापानीमा उत्पादित निउरो, स्कुस, मुन्टा, काँक्रा, फर्सी, कागती र गोलभेडादेखि रायो र तोरीको सागसम्म आयात गरेर स्थानीय व्यापारीलाई बेच्ने  गरेका राई अविरल वर्षापछि सुख्खाराम हुनुपरेको बताउँछन् । ‘दिनहुँ ४–५ बोलेरो तरकारी आउँथ्यो, ३–४ घण्टासम्म त वितरण गर्न र पैसा समाउन भ्याईनभ्याई हुन्थ्यो’ राईले भने ‘अविरल पानीले सबै बाटो भत्काईदिएछ, तरकारी आउन ठप्प भयो, सुख्खाराम भइया छ ।’  

खोटाङको सोझो यातायात टुटे पनि जिल्लाभित्रके गाउँ–सदरमुकाम आउजाउ गर्ने मुख्य सडकहरु मर्मतपछि विस्तारै सुचारु हुन थाले पनि गाउँपालिकाभित्रका शाखा सडकहरु मर्मत भईनसकेका कारण किसानलाई कृषि उपज बेच्न लाने अवस्था छैन । निउरो, स्कुस र काँक्रा बेचेर वर्षमा १० लाख हाराहारी आमदानी गर्दै आएका लिमचुङबुङ ५ जाँतेका दिलबहादुर मगर बाटो भत्केका कारण किसानले उत्पादन गरेको तरकारी गाडी चल्ने ठाउँसम्म ल्याउन नसक्ने अवस्था भएको बताउँछन् । ‘तरकारी त अझै पाइन्छ तर, आन्तरिक सडक सबै भत्के बिग्रेकाले गाडी चल्ने ठाउँसम्म ल्याउन सक्ने अवस्था छैन’ उनले भने ।

अहिले गाईघाटमा रायोको साग खुद्रा मूल्य पाउको ७०–८० रुपैयाँ पुगेको छ भने टमाटर पाउको ९०–१०० भन्दा घटीमा पाइदैन । आलु किलोको ८०, काँक्रा प्रतिकिलो १५०, फर्सी १२०, निउरो पाउको ८० रुपैयाँमा किनबेच भईरहेको छ । त्यो पनि बजारमा पाउनै मुस्किल भएको गृहीणी पूर्णमाया राई बताउँछिन् । गोलभेँडा सबभन्दा महँगो भएको छ भने त्यो पनि हम्नेसी नपाइने उनी बताउँछिन् ।  

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीका अनुसार खोटाङसँगको याताायत सम्पर्क टुट्नाले सबभन्दा बढी मार्का गाईघाटलाइ परेको छ । पुल भत्केका कारण दसैँ तिहारको मुखमा तरकारीको आयात त रोकिएर उपभोक्ता मारमा पर्नुका साथै खोटाङ निर्यात हुने खाद्यान्न, लत्ता कपडा, मरमसला, तेल र नुनजस्ता अत्यावश्यक उपभोग्य वस्तु जान नपाउँदा गाईघाटको अर्थतन्त्रलाई ठूलो धक्का पुगेको उनले बताए । 

प्रकाशित: २३ आश्विन २०८१ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App