२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरण: मुद्दा परेपछि एसपी विष्ट र जिसी सम्पर्क बिहिन

कंचनपुर- निर्मला हत्या प्रकरणमा तत्कालिन कंचनपुर प्रहरीका प्रमुख एसपी डिल्ली बिष्ट सहित ८ जना बिरुद्ध अदालतमा सरकारी वकिलको कार्यालयवाट मुद्दा दर्ता गरिएको छ। डिएसपी ज्ञानबहादुर सेठी सहित ६ जना प्रहरीको नियन्त्रणमा छन् भने एसपी बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसी सम्पर्क बिहिन छन्।

उपस्थित हुन पत्र काटेपछि ६ जना आफै अदालतमा उपस्थित भएको र अदालतको आदेश पछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा राखेको कंचनपुर प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्ण ओझाले बताए। बिहिवार कंचनपुर अदालतमा उनीहरुको बयान लिने काम शुरु भएको छ। अदालतले धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागी थुनामा राख्ने आदेश गर्न सक्ने छ। अदालतको आदेश नहुन्जेल सवै जना प्रहरीको हिरासतमा रहने ओझाले बताए। एसपी बिष्ट र डिएसपी जिसीको फोन स्विच अफ भएको र सम्पर्कमा नभएको उनको भनाई छ।

निर्मलाका आमा दुर्गादेवी पन्त र दिलिप सिंह बिष्टका दाजु खडक बिष्टले दिएको उजुरीका आधारमा सरकारी वकिल कार्यालयले उनीहरु माथी फौजदारी अपराध संहिता अनुसार यातना दिएको र प्रमाण नष्ट गरेकोमा मुद्दा दर्ता गरिएको हो। तत्कालिन एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआईवीका प्रहरी उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिश भट्ट,  प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायव निरिक्षक हरि सिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चादनी साउँद बिरुद्ध मुद्दा दर्ता भएको हो। प्रमाण नष्ट गरेको भन्दै एसपी बिष्ट र इन्सपेक्टर खड्कालाई भविष्यमा अयोग्य नहुने गरि जागिरवाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्वनमा परेका छन।यो मुद्दामा ५ बर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ।  साउन १० गते साथीको घर गएकी निर्मलाको साउन ११ गते उखुवारीमा शव फेला परेको थियो।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App