१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

१४ वर्षअघि बन्द जडीबुटी उद्योग सञ्चालनमा

डोल्पा - हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ खातीज्युलामा रहेको जिल्लाकै पुरानो जडीबुटी प्रशोधन उद्योग पुन सञ्चालनमा आएको छ।

जिल्लामा प्रशस्त पाइने भुल्ते, बोजो, पिरे घाँसलगायत जडीबुटीहरुको स्थानीयस्तरमै प्रशोधन गर्ने उद्देश्यले ०६३ सालमा झण्डै १६ लाखको लागतमा उद्योग स्थापना गरिएको थियो। तर आर्थिक अभावका कारण १४ वर्षअघि उद्योग बन्द भएको थियो। प्रदेश सरकारको ५० लाख रुपैयाँको सहयोगमा उद्योग सञ्चालनमा आएको हो। 

उद्योग सञ्चालनमा आएसँगै वनपाखामा खेर गइरहेको पीरे घाँस(सोत्तर)प्रयोगमा आउन थालेपछि स्थानीय खुसी भएका छन्। ‘वनपाखामा पशुवस्तुले खाएर त्यसै गइरहेको थियो, हाम्रो रोजगारी पनि थिएन, उद्योग सञ्चालनमा आएपछि पीरे घाँसको खरिद बढ्न थालेको छ।’ 

प्रतिकिलो १० रुपैयाँका दरले उद्योगले उक्त घाँस किन्न थालेपछि घाँस नै स्थानीयको आम्दानीको स्रोत बन्न थालेको छ। गएको पुसको दोस्रो साताबाट उद्योग सञ्चालनमा आएदेखि १ सय ४० लिटर तेल पीरे घाँस चुलाई गरी प्रशोधन गरिएको उद्योग प्रबन्धक प्रकाश बुढाले बताए। उद्योगले वनपाखामा आफैं उम्रने घाँस खरिद गरी दिन थालेपछि स्थानीयले रोजगारी पनि पाएका छन्। 

त्रिपुरासुन्दरी नगरसभाले पनि बन्द उद्योगलाई सञ्चालनमा ल्याई बेरोजगार युवालाई रोजगार दिने बताएको थियो। पीरे घाँसको तेल भारत, अस्ट्रेलिया, पाकिस्तान  चीनलगायत देशमा प्रतिलिटर ७ देखि १२ हजारसम्म पर्ने बताइएको छ।

बहुजडिबुटी पाइने र जिल्लामै प्रशोधन गरिने भएकाले उद्योगलाई चाहिने कच्चा पदार्थको नियमितता र व्यवस्थापकीय पक्षलाई चुस्त बनाई राख्न सके नगरको आर्थिक समृद्धिको आधार उद्योग बन्ने छ।

विगतमा व्यवस्थापकीय पक्षको गैह्रजिम्मेवारीपन र आर्थिक अनियमितताका कारण आर्थिक अभावमा भई उद्योग बन्द हुन पुगेको थियो। उद्योग सञ्चालनमा आएपछि ३० भन्दा बढी बेरोजगार युवाले रोजगारी पाएका छन्।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App