२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

न न्याय पाइयो न परिपूरण भयो : द्वन्द्वपीडित

सुनछहरी गाउँपालिकाका श्रीमान् गुमाएका द्वन्द्वपीडितहरू। तस्बिर ; दिनेश/नागरिक

रोल्पा - माओवादी द्वन्द्व सकिएको १२ वर्ष बितिसक्दा पनि पीडितहरूले हत्या गरिएका र बेपत्ता पारिएका आफन्तबारे चित्तबुझ्दो जवाफ पाएका छैनन्। आफ्नो पीडाको सम्बोधन कहीँकतैबाट नहुँदा उनीहरू निरास बनेका छन्। सरकारले गठन गरेको सत्यनिरूपण तथा बेपत्ता आयोगले समयमा काम नसक्दा न्याय नपाउनु त छँदै छ, परिपूरणका विषय पनि ओझेलमा परेका छन्।

द्वन्द्वको सुरुवाती काल २०५२ सालमा श्रीमान् मारिँदा ४० वर्षकी थिइन् थबाङकी धुला रोकामगर। थबाङ फुन्टिबाङस्थित विद्यालयमा शिक्षक रहेका उनका श्रीमान् धनप्रसाद रोका एकाएक बेपत्ता भए। उनी बेपत्ता भएको केही समयपछि द्वन्द्वरत माओवादी घरमा आएर उनलाई श्रीमान् मरेको खबर सुनाए। ‘खै अरूले प्युठानमा मारेको भन्थे। कहाँ मारियो, कसरी मारियो, केही थाहा भएन। लास पनि दिएनन्। सेनाले मारेको भन्थे,’ तीन छोरीकी आमा धुलाले सुनाइन्। आजसम्म उनलाई श्रीमान् मारिनुको कारण थाहा छैन।

दसवर्षे युद्ध, त्यसपछिको शान्तिसम्झौता, गणतन्त्र घोषणा, संविधान निर्माण, चुनाव भएर सरकार पनि बन्यो। व्यक्तिगत जीवन कष्टकर रूपमा काटिरहेकी उनीजस्ता सयौं द्वन्द्वपीडितले आफन्त मारिनु र बेपत्ता पारिनुको कारण थाहा पाएका छैनन्। बाहिरी गामकी अनु परियारका बुवा लालबहादुर परियार २०५८ साल चैतमा बेपत्ता भए। त्यतिखेर अनुको उमेर चार वर्षको थियो। बुवा बेपत्ता भएको सात वर्षमा आमाले दोस्रो बिहे गरेपछि उनी अनाथजस्तै भइन्। ‘दाइ, दिदीसँग रुँदै बस्थें रे। विगतका ती दिन हिजोआज गाउँलेहरू सुनाउँछन्,’ अनुले कालो विगत सम्झिइन्, ‘दाइ घरमा नबस्ने। दिदीहरूको पनि बिहे भएपछि मेरो जीवनमा पहाड खस्यो।’

‘राजनीतिक वृत्तमा विभिन्न नाटक भइरहेको छ। त्यसका पात्र हामी द्वन्द्वपीडितलाई बनाइएको छ।’

२०५५ फागुन २६ गतेको रात तत्कालीन माओवादीबाट आक्रान्त युवा समूह लुंग्री गाउँपालिका–७ हार्जङस्थित बलबहादुर रोकाको घरमा छलफल गर्दै थिए। उनीहरूले अति भएपछि गाउँमा गस्ती गर्न ‘माओवादी प्रतिकार समिति’ गठन गरे। रातको करिब १० बजेतिर उनीहरू बसेको घरमा बाहिरबाट चुकुल लगाइयो। घर घेरियो। खरको छानोको उक्त घरमा आगो लगाइयो। हल्लीखल्ली भयो। ढोका बाहिरबाट बन्द भएकाले कोही भाग्न सकेनन्। एकजना झ्याल खोलेर भाग्न खोजे। तर उनलाई गोली हानियो। गोलीले उनको कान छेड्यो। ‘जलेर घाइते भएका मेरो बुढालाई झ्यालबाट भाग्न खोज्दा गोली हानेर मारे,’ ५७ वर्षीया दिलमता गिरीले सुनाइन्। विगतको त्यो घटना सम्झिँदा उनलाई अहिले पनि पीडा हुन्छ।

‘नौजनालाई जिउँदै जलाएर मारे। मेरो भाइ पनि जलेरै बित्यो। जलेर खाक भएको लासको अनुहारै चिन्न नसकिने भएको थियो। मुढाजस्तो थियो लास,’ श्रीमान् जिउँदै जलेको घटनाको साक्षी गौमला पुनले पीडाका ती तस्बिर सम्झिइन्। २०५५ फागुन २६ मा गाउँका बेगमबहादुर पुन, मनबहादुर गिरी, अमृत गिरी, पुस्ते गिरी, नरबहादुर पुन, ढाटे पुन, ऐभान पुन, गोपाल गिरी, तिर्खराम गिरीलाई एउटै घरमा जिउँदै जलाइएको थियो। सबै किसान। उनीहरूसँग न त धेरै धन थियो न त जमिन। ती युवा किन जिउँदै जले भन्ने प्रश्नको उत्तर परिवारका सदस्यले अहिलेसम्म पाएका छैनन्। किन जलाइए भन्ने चित्तबुझ्दो कारण पनि जलाउनेले दिएका छैनन्।

‘सत्तामा पुग्नेले आयोगलाई सहयोग गर्दैनन्, किनभने उनीहरू कुनै न कुनै रूपमा विगतका घटनामा संलग्न भएका हुन्छन्। यसोउसो गरेर पीडितलाई झुलाउने र पीडितलाई न्याय पनि नदिने परिपूरणमा समेत बेवास्ता गर्ने रणनीति देखिन्छ,’ माओवादी द्वन्द्वमा बुवा गुमाएकी रोल्पा उवाकी श्रीकुमारी रोकाले भनिन्, ‘राजनीतिक वृत्तमा विभिन्न नाटक भइरहेको छ। त्यसका पात्र हामी द्वन्द्वपीडितलाई बनाइएको छ।’ उता माघ २६ मा विधिवत् म्याद सकिएको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई सरकारले समयावधि थपे पनि ती दुवै आयोग कामविहीन बनेका छन्। जसले गर्दा पीडितले पाउनुपर्ने न्याय र परिपूरणका विषयहरू अन्योलमा परेको छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App