९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

हिमपातले किसान मर्कामा, चरन क्षेत्रमा भेडा लैजान सकस

जुम्ला- हिमपातले ५१ भेडाबाख्रा मरेपछि सिजा गाउँपालिका २ का गोबिचन्द्र तिरुवा निकै चिन्तित् छन। उनले पाटनमा भेडा पाल्दै आएका थिए। गाउँ नजिकैको पाटनमा हिउँ धेरै नपर्ने र घाम लाग्ने बित्तिकै चरन क्षेत्रमा लैजान निकै सहज हुने भएकोले यो पटकको हिउँदमा भेडाबाख्रा गाउँमा ल्याएनन्। उनले भने,“ अत्याधिक हिमपातसंगै बढेको चिसोले कठ्याग्रिनुका साथै चरन क्षेत्र लैजान निकै समस्या भएका कारण भेडाबाख्रा मरे।” बर्षौको मेहनतले पालिएका भेडाबाख्रा हिमपातका कारण एक्कासी  मर्न थालेपछि उनको परिवारमा निराशा छाएको छ।

गोबिचन्द्र प्रतिनिधि उदाहरण मात्र हुन्। उनी जस्ता सयौँ भेडाबाख्रा पालक किसानलाई यो हिउँदमा भेडाबाख्रा बचाउन सकस भईराखेको छ। जिल्लाको तातोपानी गाउँपालिकाको ताम्ती, तिलाको घोडेमहादेब र मालिकाठाँटा, हिमा गाउँपालिकाको बड्की, सिजाको शनिगाउँ क्षेत्र र कनकासुन्दरीको तत्कालिन बोतामालिका गाबिसमा भेडाबाख्रालाई चरन क्षेत्रमा लैजान समस्या भएको हो। पातारासी गाउँपालिकाको डिल्लीचौर र पातारासी र गुठिचौर गाउँपालिकोको उच्च भेकमा पनि भेडाबाख्रा पालनमा कठिनाई उत्पन्न भईरहेको किसान बताउँछन्। सदरमुकाम खलंगामा झण्डै डेढ फिट हिउँ जमेकोमा उच्च हिमाली क्षेत्रमा झण्डै पाँच फिटसम्म हिउँ परेकोले पशुवस्तु लालनपालनमा समस्या आईरहेको स्थानीय बताउँछन्।

भेडापालक गोबिचन्द्रले भने,’यो संकट सबै किसानमा छ। तर बढि भेडाबाख्रा मरेकोले मलाई क्षति बढि भएको हो।‘ झण्डै तीन दशक पछि आएको हिउँले रोजिरोटी खोस्नुका साथै आशा लुटेको उनी बताउँछन्। ‘एक्कासी भेडा मरेपछि एक छाक टार्न समस्या हुने स्थिति सृजना भयो’, उनले भने, “अब मरेका भेडा गाउँ ल्याउन समेत हप्तौ लाग्ने भयो।” हिउँले बाटो खुलेको छैन्। सहज  रुपमा आवतजावत नहुँदासम्म मरेको भेडा गाउँमा ल्याईसक्ने अवस्था देखिदैन्।

मरेका ५१ मध्ये १० वटाको विमा गरेका थिए। चालु आर्थिक बर्षमा हिमपातले सिजामा झण्डै ५० लाख जतिको क्षती पुर्याएको पशु विज्ञ मित्रलाल धिताल बताउँछन्। निरन्तरको हिमपातले स्थानीयको दैनिकी कष्टकर बनाउनुका साथै आर्थिक रूपले धेरै क्षति भएको उनी सुनाउँछन्। पछिल्लो समयमा चरनक्षेत्र अभावले पशुपालन घट्दै गईराखेको बेला यो बर्ष परेको हिउँले किसानलाई झनै निरुत्साहित बनाएको छ। जुम्लाको एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा भेडाबाख्रापालन गरिन्छ। हिउँ धेरै नपरेको भए पाखामा पालुवा पलाईसक्थ्यो, स्थानीय कालीबहादुर थापाले भने,“अहिले पलाएको पालुवा समेत हिउँले ढाकिसकेको छ। हिउँद महिनाको लागि संकलन गरिएको घाँसपात सकिसकेको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App