धादिङ - आफ्नो गाउँमा बाटो पुगेपछि धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका वडा नम्बर २ मा बस्ने प्रिस्किला तामाङ निकै खुसी छिन्। विकट बस्ती, सधैं खच्चडकै भरमा खाद्यान्न तथा निर्माण सामग्री गाउँमा पु-याउनुपर्ने बाध्यता हटेपछि उनी खुसी भएकी हुन्। ‘सधैँ खच्चड र आफैंले बोकेर खाद्यान्न सामग्री ल्याउनुपर्ने हुन्थ्यो,’ तामाङले भनिन्, ‘घरनजिकै मोटर गुड्ने बाटो बनेपछि अहिले सहज भएको छ।’
घरआँगनमै गाडी आउन थालेपछि अहिले तामाङजस्तै यस क्षेत्रका सबै स्थानीय हर्षित भएका छन्। बजार अभावकै कारण हरेक वर्ष आलु, अलैंचीलगायतका कृषि उपजहरू त्यत्तिकै खेर जाने गरेका थिए। अब भने आफ्ना उत्पादनलाई बजार पु¥याउन पाउने भएपछि स्थानीय बासिन्दा हर्षित भएका हुन्। तर गाउँनजिकै रहेको झार्लाङको पहिरो जब स्थानीय आँखामा पर्छ तब यो खुसी दुःखमा परिणत हुन्छ। कारण पहिराले उत्तरी धादिङका विभिन्न बस्ती नै बगाएर लगेका घटनाहरू ताजै छन्। ‘गाउँनजिकै रहेको पहिरोले कतिबेला लैजाने हो थाहा छैन,’ तामाङले भनिन्, ‘गाउँमा सडक त बनेको छ तर यो हिउँदमा विकास र बर्खामा विनाशको बाटो बन्ने गरेको छ।’ स्थानीयका अनुसार यहाँका सडक हिउँदमा मात्र काम लाग्छन्, बर्खामा त बन्द हुन्छन्। पानी पर्नासाथ माटो बगाउने, पहिरो जाने र खनिएको सडक भासिने गर्छ।
सडक र यातायात विकासको पहिलो आधार हो। नेपालमा अझै पनि सबै ठाउँमा यातायात पुग्न सकेको छैन। राजधानी काठमाडौंसँगै जोडिएको धादिङ पनि यसमा पछाडि छ। अझै पनि उत्तरी क्षेत्रका बस्तीहरू सडक सञ्जालबाट टाढा छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएयता पछिल्ला केही वर्षदेखि ग्रामीण सडक बनाउने होडबाजी नै चलेको छ। पुस्तांैदेखि सडक सञ्जालबाट टाढा रहेका स्थानीय गाउँमा बाटो पुग्दा खुसी त भएका छन्, तर बर्खामा त्यसले निम्त्याउने विनाशले भने पीडित हुने गरेका छन्। विकट मानिने उत्तरी धादिङका बस्तीहरूमा अहिले धमाधम सडक खन्ने क्रम चलिरहेको छ। स्थानीय जनप्रतिनिधिहरूले आफ्ना ठाउँको विकासका लागि सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखेका छन्। तर विकासका नाममा निर्माण गरिने यस्ता कतिपय सडकले बर्खामा विनाशको रूप लिने गरेका छन्। धादिङको उत्तरी क्षेत्र जाने धादिङबेसी–सल्यानटार, धादिङबेसी–तिप्लिङ, आदामघाट–किराञ्चोक लगायतका सडकहरूको हालत हेरिनसक्नु छ। यी सडकको दुरवस्था हेर्ने हो भने यसले विकासभन्दा बढी विनाशलाई निम्त्याएको प्रस्ट हुन्छ। यस्तै हिउँदका बेला धुलो व्यापक उड्ने भएका कारण यस्ता सडक स्थानीय बासिन्दाको स्वास्थ्य समस्या बढाउने मुख्य कारण पनि बनिरहेको छ।
विकट क्षेत्र उत्तरी धादिङका बस्तीहरूमा अहिले धमाधम सडक खन्ने क्रम चलिरहेको छ। जनप्रतिनिधिहरूले आफ्ना गाउँको विकासका लागि सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखेका छन्। तर विकासका नाममा निर्माण गरिने यस्ता कतिपय सडकले बर्खामा विनाशको रूप लिने गरेका छन्।
यातायातको पहुँच नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा शिक्षा, स्वास्थ्य, बजारजस्ता सेवा–सुविधा एवं आर्थिक अवसरबाट बञ्चित हुने भएकाले सडक निर्माण एवं विस्तार आवश्यक छ। बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० का ३२ वर्षीय रामकुमार चेपाङ पनि गाउँमा बाटो पुग्दा हर्षित छन्। सडक सञ्जालबाट टाढा चेपाङ बस्तीहरूमा धमाधम बाटो पुग्दा शिक्षा, स्वास्थ्य लगायतका सेवा लिन सहज भएको उनले बताए। ‘तर जब वर्षा सुरु हुन्छ तब बाटोमा खोलो बग्न थाल्छ,’ चेपाङले भने, ‘भर्खरै निर्माण गरिएका बाटाहरूमा न कुलेसो छ न भिरालोपन मिलाइएको छ, यसले झनै ठूलो समस्या पारेको छ।’ यसैकारण हचुवाका भरमा होइन, इन्जिनियरको सल्लाहबमोजिम– उचित प्रविधि, गुणस्तरीय निर्माण सामग्री र तालिमप्राप्त कामदारद्वारा ग्रामीण सडक बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ। जानकारहरूका अनुसार ग्रामीण सडकहरूमा जतासुकै पहिरो जानुको एउटा मुख्य कारण जथाभाबी डोजर प्रयोग पनि हो। नेपाल सरकारको नियम हेर्ने हो भने वातावरण विभागबाट ‘वातावरणीय प्रभाव मूल्यांकन’ स्वीकृत गराइसकेपछि मात्र सडक खन्न थाल्नुपर्छ। यसो नगरिकन खन्न थालिएका ग्रामीण सडकहरूको स्तरोन्नति गर्न वा बाँकी भाग बनाउन सरकारले बजेट दिन पनि कानुनअनुसार मिल्दैन।
असार–साउनको वर्षा सकिएर दसैं–तिहारजस्ता महत्वपूर्ण चाडपर्व मनाइसकेपछि गाउँमा सडक निर्माणका कुरा चल्छन् र काम सुरु गरिन्छ। तर प्राविधिकको सल्लाह नै नलिई जथाभाबी डोजर चलाएर बाटो खन्ने चलनले विकासको साटो विनाश हुने गरेको छ। अहिले जिल्लाका रोबाङ, कोस्राङ, गोइराङ, जवाङका बस्तीहरूमा धमाधम सडक निर्माण भइरहेका छन्। यसैपालि निर्माण हुँदै गरेको बाटो हिउँदे वर्षाले बिगारिसकेको स्थानीय बासिन्दा बताउँछन्। रोबाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक सरस्वती पोखरेलका अनुसार ठाउँठाउँमा पहिरो गएका छन् भने सडक पनि भासिएको छ। ‘गाउँघरमा बाटो बनाउनु आवश्यक पनि छ,’ उनले भनिन्, ‘तर दीर्घकालीन आवश्यकता र औचित्य हेरेर तथा सावधानी अपनाएर मात्र बाटो खन्न थाल्नुपर्छ, नत्र सुविधा भित्र्याउन बनाइएको बाटोबाट विपद्चाहिँ भित्रिन्छ।’ सडकको ट्र्याक खोल्दा भिरालोपन नमिलाइएका ठाउँमा बढी क्षति पुगेको उनको भनाइ छ।
स्थानीयको हितलाई ध्यानमा राखेर वन, खेतबारी, पानीका स्रोत, पर्यटकीय क्षेत्रजस्ता स्थानमा क्षति नपु¥याई वातावरणीय एवं प्राविधिक दृष्टिले अनुकूल हुने गरी ग्रामीण सडक निर्माण गरेको उदाहरण विरलै पाइन्छन्। सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरण परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र बाटो खन्ने परिपाटीको विकास गरे मात्र त्यो दिगो र सुरक्षित हुने स्थानीय बासिन्दा बताउँछन्।
प्रकाशित: ७ फाल्गुन २०७५ ०३:०९ मंगलबार