९ असार २०८१ आइतबार
image/svg+xml
समाज

लाङटाङ निकुञ्जमा फागुन १ देखि ‘महाहन्ट अप्रेसन’

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जले फागुन १ गते ‘महाहन्ट अप्रेसन’ सुरु गर्ने भएको छ। निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरीसिकार रोक्न विशेष अभियान सञ्चालन गर्न लागिएको हो।

वनजन्य सामग्री अवैध ओसारपसार नियन्त्रण गरी दुर्लभ वन्यजन्तु एवं वनस्पति संरक्षण गर्न अप्रेसन सुरु गर्न लागिएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन्। ‘हाम्रो यो पाँचौ अप्रेसन हो,’ उनले भनिन्, ‘यसले संरक्षणमा निकै योगदान पु¥याएको छ।’ गत वर्ष सञ्चालित अभियानले २०७४ साललाई रेडपाण्डाको शून्य चोरीसिकार वर्ष घोषणा गर्न सफल भएको उनले बताइन्। निकुञ्जका तीनवटै जिल्लामा अभियान सञ्चालन हुनेछ। प्रमुख संरक्षण अधिकृत रानाका अनुसार रसुवाका बृद्धिम, लोकिल र बोन्द्रोमा थप सुरक्षा पोस्ट स्थापना गरिनेछन्। रसुवाको भागमा पर्ने निकुञ्ज क्षेत्र सुरक्षाका लागि खटिएका कालीजंग गणका सेना ती पोस्टमा परिचालन हुनेछन्। यसैगरी नुवाकोट र सिन्धुपाल्चोकमा पनि थप सेना परिचालन गरिने जनाइएको छ।

आगलागी तथा अवैध क्रियाकलाप नियन्त्रणलगायतका काम गरिने निकुञ्जले जनाएको छ। चार महिना सञ्चालन हुने अभियानमा एक महिना रिङ अप्रेसन गरिनेछ भने बाँकी तीन महिना कोर अप्रेसन हुनेछ। रिङ अप्रेसन बस्तीबाट सात मिटर टाढासम्म सुरक्षा टोली परिचालन हुनेछ भने कोर अप्रेसनमा एउटा पोस्टबाट अर्को पोस्टसम्म टोली पुग्नेछ। अभियान सुरु भएपछि निकुञ्ज क्षेत्रमा दैनिक १ सय ७० जनासम्म गस्तीमा खटिनेछन्। गत वर्ष सञ्चालित अप्रेसनका क्रममा ११ जना पक्राउ परेका थिए। तीमध्ये दुई जनाविरुद्ध मुद्दा चलाइएको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले जानकारी दिए। अप्रेसनमा सातवटा गुलेली बरामद भएको थियो।

२०३२ सालमा स्थापना भएको उक्त निकुञ्ज तीन जिल्लामा फैलिएको छ। जसले रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको सात प्रतिशत भूभाग ओगटेको छ। निकुञ्जमा हजारभन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय ५० भन्दाबढी पन्छी, ११ प्रकारका सरिसृप, ३० जातका माछा, १० किसिमका माकुरा र ५८ प्रजातिका पुतली पाइन्छन्।

प्रकाशित: २९ माघ २०७५ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App