२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटना टर्ने विश्वासमा देवीलाई ऐना

काठमाडौं - पूर्वी नेपाल र राजधानी काठमाडौंबीचको दूरी छोट्याइदिने बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन हुइँकिन्छन्। नियमित रूपमा आउजाउ गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र होइन, राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू पनि यही राजमार्ग हुँदै यात्रा गर्न रुचाउँछन्।

धुलिखेलबाट सुरु भई भकुन्डेबेंसी, मंगलटार, नेपालथोक हुँदै जाने बीपी राजमार्ग सिन्धुलीको दुम्जा कटेपछि खुर्कोट नआइपुग्दासम्म सुनकोसीको तीरैतीर अगाडि बढ्छ। राजमार्गका अनेकन् मोड छिचोलेर गन्तव्यमा पुग्न हतारिँदै कुदिरहेका गाडीहरू जब सिन्धुलीको रिट्ठेभीरमा पुग्छन्, तब ऐनैऐनाले भरिएको भित्तामा नजर ठोक्किँदा जोकोहीको मनमा जिज्ञासा जन्मन्छ। त्यहाँ ऐनाहरूबीच अवस्थित सेतीदेवी माईको दर्शन गर्न सकिन्छ। त्यहाँ सेतीदेवी स्थापना गरिनु र ऐनैऐना राखिनुको खास कारण दैवी शक्तिमाथिको आस्था र सुरक्षित यात्राको आकांक्षासँग जोडिएको स्थानीय बताउँछन्।

चार खण्डमा विभाजित एक सय ६० किलोमिटर लामो बीपी राजमार्ग २० वर्ष लगाएर निर्माण गरिएको हो। तीन चरणमा सिन्धुलीमाडी–बर्दिबास (३७ किमि), धुलिखेल–नेपालथोक (५० किमि) र सिन्धुलीमाडी–खुर्कोट (३६ किमि) खण्ड निर्माण पूरा हुँदा चौथो खण्ड नेपालथोक–खुर्कोट (३७ किमि) भने निर्माणाधीन अवस्थामै थियो। सिन्धुली सुनकोसी गाउँपालिका–५ मूलकोटको रिट्ठेभीर त्यही खण्डमा पर्छ। २०७२ सालमा जापानले नेपाललाई सडक हस्तान्तरण गर्नुभन्दा पाँच÷छ वर्षअगाडि नै त्यस खण्डमा सवारीसाधन चल्न थाले। त्यतिबेला रिट्ठेभीरमा ट्र्याकमात्र खोलिएको थियो। जोखिम मोलेर सवारीसाधन चलाइएकाले दुर्घटनामा परिने त्रासले यात्रु पिरोलिन्थे।

त्यतिबेला अप्ठ्यारो बाटो भएकाले दुर्घटनाको अनुमान गरिनु अस्वाभाविक थिएन। नभन्दै अनुमान यथार्थमा बदलियो। २०६८ वैशाख २० गते एउटा यात्रुबस रिट्ठेभीरबाट सुनकोसीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गयो। कहिल्यै दुर्घटना नदेखेका स्थानीय खुब डराए। सोही दुर्घटनाको पाँच महिनापछि असोज २६ गते सोही ठाउँका त्यस्तै खालको दुर्घटना दोहोरियो। सिन्धुलीबाट राजधानीतर्फ आइरहेको यात्रुबस सुनकोसीमा खस्दा ४१ जनाले घटनास्थलमै ज्यान गुमाए। सेतीदेवीको स्थापनामा अगुवाइ गरेका र हाल मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका स्थानीय मनोज श्रेष्ठका अनुसार पहिलाको दुर्घटनाले आतंकित स्थानीय अर्को कहालीलाग्दो दुर्घटनापछि झनै भयभीत भए। ‘केटाकेटीमात्र होइन, तन्नेरी र वृद्धवृद्धासमेत तर्सिने, कहालिने, निद्रामा बर्बराउन गर्न थाले,’ उनले भने, ‘मूलकोटवासीको मनमा पैदा भएको डर भगाउन सप्ताह पुराण लगाउने सल्लाह भयो।’

पछिल्लो दुर्घटनामा निधन भएका ४१ जनाको शव जम्मा पारिएको मूलकोट चौरमा सप्ताह लगाइएको थियो। अघिल्लो र पछिल्लो घटनामा मृत्यु हुनेका परिवारजन तथा मूलकोट र आसपासका बासिन्दाको उपस्थितिमा चलिरहेको सप्ताहमा घटेको एउटा अनौठो घटना नै सेतीदेवी स्थापनाको कारण रहेको जनाइएको छ। बसमा सिन्धुलीतर्फ जाँदै गरेकी २८÷३० वर्षीया एक महिलाले हाल ऐनैऐना भएको ठाउँमा जबर्जस्ती बस रोक्न लगाएको र ओर्लिएर ‘म सेतीदेवी हुँ’ भन्दै काम्न थालेको बसचालक र सहचालकको भनाइ उद्धृत गर्दै श्रेष्ठ सुनाउँछन्। ‘सप्ताहस्थलमा ल्याइएकी ती महिलाले काम्दै सबैसामु आफू सेतीदेवी भएको र आफ्नो बासस्थानमा क्षति पु¥याएपछि मान्छेको भोग लिन थालेको बताइन्,’ उनी भन्छन्, ‘ती महिलाले रिट्ठेभीरतिर मलाई जान लगाएर सप्ताहस्थलमा रहेका सबैसामु मोबाइल फोनबाट निर्देशन दिँदै गइन्, हाल सेतीदेवी रहेको स्थानमा पुग्दा आफ्नो बासस्थान त्यही भएको बताउँदै सम्झन लगाइन्।’ त्यसपछि सुनकोसीमा आएर एउटा ढुंगा टिप्न लगाएर ती महिला काम्न छाडेको उनी सुनाउँछन्। आफूलाई सेतीदेवी बताउने महिलाले आफ्नो बासस्थान भन्दै देखाएको ठाउँ सडकछेउ भित्ता परेकाले हाज्मा कम्पनीलाई खोपी बनाउन लगाई २०६८ सालमा सुनकोसीमा टिपिएको ढुंगालाई सेतीदेवी माईका रूपमा प्रतिस्थापन गरिएको श्रेष्ठको भनाइ छ। धामीझाँक्रीमा विश्वास ननराख्ने आफूलाई त्यस घटनाले अचम्मित तुल्याएको उनी बताउँछन्। अझ जापानीहरूले समेत बोका बलि दिएको घटना झनै आश्चर्यलाग्दो छ। रिट्ठेभीरमा देवी स्थापनापछि रिट्ठेभीरको बाटो खन्दै गरेका एक्साभेटर पल्टिने, बिग्रिनेजस्ता अनपेक्षित घटना हुन थाले। सडक निर्माणमा जुटेको हाज्मा कम्पनीका जापानी प्राविधिकको टोलीले सेतीदेवीलाई बोका बलि दिएपछि भने त्यस्ता घटना दोहोरिन छाडेको श्रेष्ठको भनाइ छ।

देवी स्थापनाको केही दिनमै चालक बाल तामाङले आफ्नो बसको नम्बर ‘बा२ख ८८८५’ लेखेर एउटा ऐना राखेको सुनकोसी–५ का वडाध्यक्ष कृष्णराज दाहाल बताउँछन्। त्यसपछि अन्य चालकले पनि यात्रा सुरक्षित हुने विश्वास राख्दै र दुर्घटनामा ज्यान गुमाउनेका केही आफन्तले दिवंगत आत्मालाई शान्ति मिलोस् भन्दै ऐना चढाउँदै जाँदा सडकभित्ताको ठूलो भाग ऐनाले ओगटिएको उनको भनाइ छ। पहिलेपहिले बटुवाले भन्ज्याङमा देवीदेवतालाई सम्झेर एकएक गर्दै ढुंगा थुपार्दै जाँदा देउराली बनेजस्तै एउटा–दुइटा गर्दागर्दै ऐनैऐनाले भरिएको रिट्ठेभीर सजिलै सम्झिने र आस्थाले पुजिने ठाउँ बनेको छ। ढुंगाढुंगामा देवताको बास हुने विश्वास सँगालेर हुर्किएकाहरू सेतीदेवी माईनजिक पुग्नासाथ हुइँकिरहेकै सवारीसाधनबाट श्रद्धाले शिर झुकाउँछन्। कुनै यात्रु गाडीबाटै पैसा चढाएर देवीप्रति आस्था प्रकट गर्छन्। ससाना सवारीसाधनमा सवारहरू भने रोकिएर मन्दिरमै पुगी देवीको दर्शन गर्छन्, भेटी चढाउँछन् र पुजारीको हातबाट टीका ग्रहण गरेर मात्र गन्तव्यतर्फ लाग्छन्। चाडबाडका बेला धेरै सवारीसाधन आवतजावत हुने भएकाले दिनको चार–पाँच हजार रुपैयाँसम्म संकलन हुने र अरूबेला पनि चार–पाँच सय रुपैयाँ संकलन हुने त्यहाँ बस्दै आएका पुजारी नीरप्रसाद आचार्य बताउँछन्।

मोटरसाइकल रोकेर ना२३प ४२५७ नम्बर लेखिएको ऐना ठोक्दै गर्दा भेटिएका सर्लाही ईश्वरपुर नगरपालिका–३ सागरनाथ निवासी जयराम योञ्जनले भने, ‘यो बाटो हिँडिरहिन्छ, यहाँ आइपुग्दा ऐना चढाउँछु भन्ने लाग्थ्यो। आज इच्छा पूरा भयो।’ सिन्धुलीमाडी जान गाडी कुरिरहेका स्थानीय जयराम गिरीले सेतीदेवीको सन्दर्भ जोड्दै बताएको कुरा पनि रोचक छ। ‘भर्खरै देवी स्थापना हुँदा भेटीको १० रुपैयाँ उठाएर घरमा लगेको थिएँ तर सपनामा देवी आएर तर्साउनुभयो,’ उनले भने, ‘बिउझँदा कताकता जीउ दुखेको र सास फेर्न गाह्रो भइरहेको रहेछ।’ बिहानै नुहाइधुवाइ गरी पहिलाकै ठाउँमा पैसा लगेर राखिदिएपछि मात्र शान्ति मिलेको उनी बताउँछन्। गिरीका कुरा सुनिरहेका पुजारी पनि त्यस्तै अनुभव सुनाए। त्यहाँको ऐना घरमा लाँदा उनले पनि त्यस्तै नियति भोगेका रहेछन्। ‘घरमा ऐना लगेको थिएँ, सपनामा देवीले खुब दुःख दिनुभयो,’ उनले भने, ‘बिउँझँदा अप्ठ्यारो महसुस भइरहेको थियो। बिहान चोखो भएर मन्दिरमै पुगी ऐना फिर्ता गरेपछि शान्ति मिल्यो।’ यस्ताखाले अनुभव गाउँका अरू केही स्थानीयसँग पनि रहेको उनीहरूको दाबी छ।

सेतीदेवी स्थापना गरिएको ठाउँ सडकसँगै जोडिएको र त्यहाँ ठाउँ अभाव भएपछि करिब ५० मिटर पर मन्दिर स्थापना गरिएको वडाध्यक्ष दाहाल बताउँछन्। त्यहाँ पनि ऐना चढाउने क्रम बढिरहेको छ। यसरी ऐनाकै कारण रिट्ठेभीरले फरक पहिचान बनाइसकेको उनको भनाइ छ। सेतीदेवी भएको ठाउँबाट मोडैमोड भएको सुन्दर सडक, रमाइलो मूलकोट बजार र शान्त भई बगिरहने सुनकोसीको दृश्यावलोकन गर्न सकिने भएकाले त्यस ठाउँको धार्मिक मात्र नभएर पर्यटकीय महत्व पनि रहेको छ। कहिलेकाहीं ऐना चोरी हुने, फुटाइदिनेजस्ता समस्या पनि देखा पर्न थालेको वडाध्यक्ष दाहाल बताउँछन्। सेतीदेवी बिस्तारै धार्मिक आस्थाको केन्द्र बन्दै गएको र सुनकोसी क्षेत्रको पर्यटन प्रवद्र्धनमा त्यसले सहयोग गर्न सक्ने मूलकोट बजार व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका श्रेष्ठ बताउँछन्। मूलकोटमा होटल र रिसोर्ट चलाइरहेका उनले त्यस क्षेत्रमा घुम्न आएका पाहुनालाई ऐनाडाँडामा लाने, सुनकोसीमा -याफ्टिङ गराउने, सिन्धुलीगढी घुमाउने गरेका छन्।           

देवीको दर्शन गरिरहेको अवस्थामा भेटिएका र गाडी चलाउने क्रममा सिन्धुली–काठमाडौं आवतजावत गरिरहने तीनपाटन गाउँपालिका–२ भीमस्थान निवासी नारायण पूर्वछाने मगर सडकछेउमा स्थापित सेतीदेवीनिर रोकिने सवारीसाधन र सडक वारपार गर्नेहरूका कारण दुर्घटनाको सम्भावना बढेको बताउँछन्। अध्यक्ष श्रेष्ठ भने त्यहाँ आइपुग्दा देवीको दर्शनका लागि भनेर सबैले बिस्तारै सवारी हाँक्ने हुँदा दुर्घटनाको सम्भावनाचाहिँ टरेको दाबी गर्छन्। अहिलेसम्म रिट्ठेभीरमा सानाठूला थुप्रै दुर्घटना भइसके। २०७० भदौ ३१ गते रिट्ठेभीरमै भएको जिप दुर्घटनामा परी तीनजनाले ज्यान गुमाए। गत असोज २७ गते पनि मन्दिरनजिकै तीव्र गतिमा हुँइकिरहेको मोटरसाइकलसँग जुधेको बस अनियन्त्रित भई सुनकोसीमा खस्दा ६ जनाको निधन भयो। देवीदेवताको पूजाआजाले दुर्घटना टर्ने विश्वास त छँदै छ तर साँघुरो सडकमा तीव्र हँकाइ दुर्घटनाको मुख्य कारण रहेको अनुमान गर्न गाह्रो पर्दैन। बेलाबखत भइरहने भीडभाडले त्यस ठाउँमा दुर्घटनाको सम्भावना आफूले पनि देखेको बताउँदै वडाध्यक्ष दाहाल भन्छन्, ‘भौगोलिक कठिनताका बीचमा पनि कतै सडकछेउमा चारपाँचवटासम्म गाडी रोक्ने ठाउँको व्यवस्था गर्न सकिन्छ कि भनेर वडाले विचार गरिरहेको छ।’

प्रकाशित: २९ माघ २०७५ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App