२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सडकपेटी ठेला व्यापारीले पैदलयात्रुलाई सास्ती

वीरगन्ज - वीरगन्ज घन्टाघरदेखि रानीघाट जाने बाटोमा ठेलामा व्यापार गर्नेहरूका कारण आवतजावतमा समस्या आएको छ। घन्टाघरनजिकै जिल्ला प्रशासन कार्यालय रहेका कारण उसै त त्यस सडकमा मानिसको आवतजावत बढी हुन्छ, त्यसमाथि सडकपेटीमै ठेलामा बेचिने खानेकुरा खानेहरूको भीडले पैदलयात्रु सास्ती खेप्न बाध्य छन्। भीडभाडले गर्दा ससाना सवारीसाधन चलाउनसमेत मुस्किल पर्ने गरेको छ।

‘सडक पार गर्दा पनि गाडीले किच्ला भन्ने त्रास हुन्छ,’ घन्टाघरनजिकैको औषधि पसलमा आएका सञ्जय साहले भने, ‘घन्टाघर मात्र होइन, वीरगन्ज महानगरको माईस्थान, महावीरस्थान, लोहारपटी, आदर्शनगरजस्ता व्यस्त सडक ठेला व्यापारीको कब्जामा छन्।’ यस्तो अवस्थाले वीरगन्जलाई नै फोहोर र कुरूप बनाएको उनको भनाइ छ। ठेलाका खानेकुरा खाएसकेपछि घन्टारघरकै आसपासमा रहेका खुला नालामा फोहोर फाल्दा दुर्गन्ध फैलिएको यात्रुहरुको गुनासो छ। ठेलामा विशेष गरी पुरी तरकारी, एगरोल, छोलाभटुरा, चाउमिन, मम, बदाम, चटपटे, पकौडा, पानीपुरी, लस्सी, आइसक्रिमलगायत खानेकुरा बिक्री हुन्छ। सडकपेटीमा हुने ठेलाव्यापारका कारण सास्ती भोगेका सर्वसाधारण जथाभावी पार्किङले थप हैरानी बेहोर्न बाध्य भएको भन्दै रानीघाट निवासी ब्रिजमोहन गुप्ताले दुखेसो पोखे। ‘हाम्रो वीरगन्जमा त सधैं फुड फेस्टिभलजस्तै हुन्छ,’ उनले भने, ‘सरकारले ठेला व्यवासायलाई व्यवस्थित गरे मात्र वीरगन्ज सुन्दर र स्वच्छ सहर बन्न सक्छ।’

उपेन्द्र साह विगत २८ वर्षदेखि घन्टाघरकै सडकपेटीमा ठेलामा बदाम र मकै बेच्दै आएका छन्। नगर प्रहरी आउँदा आफूहरू ठेलासहित लुक्ने गरेको र प्रहरी गएपछि मात्र व्यापार गर्ने गरेको उनको भनाइ छ। ‘प्रहरीले भेट्टाए पार्किङमा राखिएका बाइक र ठेला उठाएर लगिदिन्छ,’ उनले भने, ‘अहिलेसम्म भागेर समान बचाउन सफल भएको छु तर कहिलेसम्म भागीभागी व्यापार गर्ने भन्ने कुराले चन्तित तुल्याउँछ।’ उनले थपे, ‘व्यापार नगरे के खानु ? सरकारले हाम्रा लागि व्यवस्थ्ति स्थान तोकिदिए हुन्थ्यो।’

सुरजकुमार सोहनीको खानेकुराको पसल घन्टाघरनजिकै छ। तर उनी दुई वर्षदेखि पसलमा पकाइएका खानेकुराहरू सडकछेउ ठेलामा राखेर बेच्छन्। ‘ग्राहकहरू बसेर भन्दा पनि उभिए खानै मन पराउँछन्,’ सोहनीले भने, ‘त्यसैले पसल भए पनि हामी ठेलामा खानेकुरा बेच्छौं।’ वीरगन्ज महानगर–९ का वडाध्यक्ष मनोजकुमार कलवारले घन्टाघरको पूर्वतर्फ पार्किङ गर्ने स्थल तोकए पनि त्यसको प्रयोग नहुँदा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको दाबी गरे। उनले सडक कब्जा गरी ठेलामा व्यासाय गर्नेलाई समेत व्यवस्थापन गर्न महानगरपालिकासँग सहकार्य गरी अघि बढेको बताए।

‘हामी जनप्रतिधि हौं। व्यवस्थित वडा बनाउने हाम्रो लक्ष्य हो,’ वडाध्यक्ष कलवारले भने, ‘यो हाम्रो वडाको मात्र नभएर वीरगन्जका सबै मुख्य सडकमा व्याप्त समस्या हो।’ नगर प्रहरी लगाएर पटकपटक ठेला हटाइए पनि फेरि आउने हुनाले समस्या समाधानमा चुनौती देखिएको उनको भनाइ छ। कलवारले घन्टारघरको उत्तरतिर बीपी उद्यान पार्कमा ६० वटा कोटा तोकेर ठेला व्यवसायीलाई सकेसम्म व्यवस्थित गर्न महानगरसँग छलफल चलाइरहेको बताए। वडाध्यक्ष कलवारले वडाका कच्ची बाटोलाई समेत ढलान गर्ने कार्य र नाला छोप्न ग्रिल लगाउने कार्यलाई तीव्रता दिएको उल्लेख गरे।

                                                

प्रकाशित: २८ माघ २०७५ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App