४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘झोला’मा वडा कार्यालय

सोलुखुम्बु – माप्य दूधकोसी गाउँपालिका–५ को कार्यालय नहुँदा झोलाबाटै काम गर्ने गरिएको छ। स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बित्दा पनि वडा कार्यालयको व्यवस्था नहुँदा स्थानीय जनप्रतिनिधिले झोलाबाटै कार्यालय सञ्चालन बाध्य भएका हुन्।

वडाको सिफारिस चाहियो भने स्थानीय बासिन्दालाई सदरमुकाम सल्लेरी नै धाउनुपर्ने अवस्था सिर्जना भएको छ। वडाध्यक्ष निमराज तामाङ धेरैजसो सदरमुकाम नै बस्ने तथा उनको अनुपस्थितिमा कार्यवाहकको जिम्मेवारी पाउने वडासदस्य विमला राई पनि उतै होटल गर्ने भएकाले सानो कामका लागि पनि स्थानीय बासिन्दा सल्लेरी नै धाउन बाध्य भएका हुन्।

स्थानीय तेन्जी शेर्पाले नयाँ व्यवस्था आएको भए भनिए पनि त्यसको कुनै महसुस गर्न नपाइएको गुनासो गरे। ‘पहिले पनि हामी सल्लेरी नै पुग्थ्यौं,’ उनले भने, ‘अहिले पनि सिफारिसलगायत कामकाजका लागि त्यहीँ पुग्नुपर्छ।’

स्थानीय टम्बर राईले पनि संघीयताको महसुस गर्न नपाएको गुनासो गरे। वडाका जनप्रतिनिधिले नै कार्यालय स्थापनामा कुनै ध्यान नदिएको उनको आरोप छ। राईले भने, ‘गाउँलेले पटक–पटक वडा कार्यालय राख्ने स्थान टुंगो गरेर कार्यालय स्थापना गरौं भने पनि वडाध्यक्ष तयार हुनु भएन।’

वडा कार्यालय कहाँ राख्ने भन्ने पनि यहाँ अन्योल छ। मोरल र बुर्दिममध्ये कहाँ राख्ने भन्ने अन्योलकै कारण पनि वडा कार्यालय स्थापना हुन नसकेको स्थानीय बासिन्दा बताउँछन्। वडाअध्यक्ष निमराज तामाङले वडा कार्यालय राख्ने स्थान टुंगो लगाउन स्थानीय बासिन्दासँग छलफल भइरहेको बताए। उनले भने, ‘छलफल जारी छ। छिट्टै निकास निकाल्छौं।’

प्रकाशित: २४ माघ २०७५ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App