४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हिउँदे वर्षा शनिबारसम्म

काठमाडौं - गत सोमबारदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार एक दिन भने मौसम सामान्यतः सफा रहनेछ। बुधबार हिउँदे वर्षाको प्रभाव काठमाडौंलगायत देशभर परेको छ। बुधबार दिनभर काठमाडौंमा भएको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकाको उच्च स्थानमा हिमपात भएको छ भने अन्य क्षेत्रमा तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सबैभन्दा बढी वर्षा जुम्लामा भएको छ। जुम्लामा पछिल्लो २४ घन्टा २३ दशमलव ३ मिलिमिटर वर्षा भयो। यसैगरी नेपालगन्जमा पछिल्लो २४ घन्टामा २२ मिलिमिटर वर्षा भयो। काठमाडांैमा भने पछिल्लो २४ घन्टामा १० दशमलव १ मिलिमटर वर्षा भएको जनाइएको छ। महाशाखाका अनुसार पश्चिमा वायुको प्रभावबाट सोमबारदेखि सुरु भएको मौसम प्रणाली बुधबार राति समाप्त हुँदै छ। बिहीबार एक दिन भने मौमम सफा रहने र शुक्रबारदेखि दोस्रो चरणको मौसम प्रणाली सुरु हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। महाशाखाले बिहीबार दिउँसो र राति देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने बताएको छ। शुक्रबार भने देशभर पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा सामान्यदेखि पूर्ण बदली हुनेछ। यसैगरी शुक्रबार दिउँसो र राति पश्चिमी क्षेत्रका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै शुक्रबार देशको हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार समान्यतया पुस १५ देखि माघ १५ सम्म तापक्रम घट्ने क्रम जारी रहन्छ। तापक्रमसम्बन्धी यस्तो चक्रअनुसार प्रत्येक वर्ष पुसको सुरुवातसँगै तापक्रम निरन्तर घट्न थाल्छ। यस वर्ष हिउँदे वर्षापछि चिसो घट्दै जाने महाशाखाको भनाइ छ। ‘हिउँदे वर्षापछि क्रमशः चिसो घट्दै जानेछ,’ मौसमविद् अर्याल भन्छन्, ‘गत पुसको अन्त्यदेखि नै दिन पनि लम्बिँदै गइरहेको छ।’ यस वर्ष काठमाडौंमा सबैभन्दा चिसो गत पुस १६ गते भएको र सो दिन काठमाडांैको चिसो शून्य दशमलव ५ मा पुगेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बादल लागेका बेला अधिकतम तापक्रम घट्छ तर राति र भोलिपल्ट बिहानसम्म बादल लाग्यो भने न्यूनतमा तापक्रम बढ्छ। बादल लागेको बेला सूर्यको किरण सोझै प्रवेश गर्न नसक्ने भएकाले यस्तो हुने मौसमविद्को भनाइ छ।

पानी परेको बेला प्रदूषण घट्ने
पानी परेका बेला प्रदूषण ह्वात्तै घट्ने गर्दछ। पानी पर्दा धुलो नउड्ने र भएको धुलो पनि तल झर्ने भएकाले प्रदूषण कम हुने वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीको भनाइ छ। ‘पानी पर्दा धुलोका कणहरू हट्ने भएकाले जनस्वास्थ्यका लागि वर्षायाम उपयुक्त हुने देखिन्छ,’ उनी भन्छन्।

वातावरणविद्हरू चिसोयाम त्यसमा पनि बादल लागेको बेला प्रदूषणको मात्रा निकै खतरनाक हुने बताउँछन्। चिसो बढेको बेला विशेषगरी बिहान र बेलुका हावामा हुने प्रदूषण बढ्ने उनीहरूको भनाइ छ। चिसोमा धुलोका मसिना कणहरू (२.५ पिएम) जमिनमै टाँसिएर बस्ने गर्छन् तर गर्मीयाममा भने हावाको बहावसँगै धुलाका मसिना कणहरू पनि उड्ने गर्छन्। गर्मी यामभन्दा चिसो याममा हावाको बहाव कम हुन्छ। ‘चिसोमा हावाको बहाव कम हुने प्रदूषणको जोखिम अत्यधक बढी हुन्छ,’ वातावरण विभागका शंकरप्रसाद पौडेलले भने, ‘गर्मी याममा भने हावाको वहावसँगै मसिना धुलाका कणहरू उड्ने गर्छन्।’

यसैगरी वर्षा नभएको र शीतलहर चलेको बेला प्रदूषणको जोखिम झन् बढ्ने वातावरणविद्हरू बताउँछन्। वरिपरि पहाडले घेरिएको काठमाडौंजस्तो ठाउँमा चिसोयाममा धुलाका मसिना कणहरू गुम्सिएरै हावाभित्रै रहने पौडेलको भनाइ छ।

प्रकाशित: १० माघ २०७५ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App