१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

हिमपातले सोलु–काठमाडौं सडक अवरुद्ध, यात्रु अलपत्र

पत्ताले क्षेत्रमा परेको हिमपातको दृश्य । तस्बिर : शिखर/नागरिक

सोलुखुम्बु – पत्ताले क्षेत्रमा परेको हिमपातले सोलु–काठमाडाैं सडक अवरुद्ध भएको छ। गएराति देखि पत्ताले क्षेत्रमा बाक्लो हिमपात भइरहेकाले सडक अवरुद्ध  भएको हो। सल्लेरीदेखि छुटेका साना तथा ठूला सवारी गरि करिब ४० सवारी पत्ताले क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अहिले पनि हिमपात भइरहेको छ। हिमपात रोकिए जेसिभीको प्रयोग गरि हिउँ हटाउने र सवारी संचालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरक्षक अमर निरौलाले जानकारी दिए। ३१०० मिटर उचाईमा रहेको पत्तालेमा हिमपात नरोकिएपछि काठमाडाैंका लागि यात्रा तय गरेका यात्रुहरू अलपत्र परेका छन्।

पत्ताले क्षेत्रमा ७ इन्चसम्म हिमपात भएको स्थानीय प्रकाश मगरले बताए। चिसो बढेपनि स्थानीयहरू हिउँमा रमाएका छन्। सल्लेरी र ओखलढुंगा क्षेत्रबाट हिउँ खेल्नका लागि आउने संख्या सुरु भइसकेको मगरले बताए। हिउँ खेल्नेको संख्या भोली अझ बाक्लिने उनको भनाई छ। सदरमुकाम सल्लेरी, सेलगुडी, पिके, लगायतको सबै क्षेत्र हिउँले सेताम्य बनेको छ।

खुम्बुक्षेत्रमा पनि हिमपातको कारण दैनिकी असहज बनेको छ।  बाक्लो हुस्सु र हिमपातको कारण तेन्जीङ हिलारी बिमानस्थलमा बिहानैदेखी उडान आवजावतमा अवरोध भएको छ भने हिमपातकै कारण स्थानीय घर बाहीर निस्कन समेत नसकेको लुक्लाबाट तोया श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ९ माघ २०७५ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App