६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल–भारत सिमाक्षेत्रको दशगजा अतिक्रमणको चपेटामा

नेपाल भारत सिमाको दशगजा क्षेत्रमा भारतीय र नेपाल पक्षद्धारा अतिक्रमण गरेर पराल, पशुचौपाया, गोइठा तथा खेतीपाती । तस्बिर : मदन/रौतहट

रौतहट – नेपाल र भारतबीचको सिमा छुट्याउने दशगजा दिनदिनै अतिक्रमणको चपेटामा परेको पाइएको छ। भारतीयले दशगजा अतिक्रमण गरी खेतीपाती गरिरहेका छन् भने नेपालतर्फका नागरिकले दशगजामै पराल थुपार्ने, गुइठा बनाउने, पशु चौपाया बाध्ने जस्ता कार्यका कारण दुई देशलाई छुट्याउने दशगजा (नोमेन्स ल्याण्ड) अतिक्रमणको चपेटामा परेको देखिएको छ।

सिमावर्ती भारतसँग जोडिएको रौतहटको राजदेवी, गौर, इशनाथ, परोहा र बौधीमाई नगरपालिका क्षेत्र भित्र पर्ने करिब ३२ किलोमिटरसम्मको दशगजा क्षेत्रमा करिब २५ किलोमिटर भन्दा बढि स्थान अतिक्रमणको चपेटामा परेको छ। दुवै देशको सिमाना छुट्याइएको दशगजा क्षेत्रमा भारतीय र नेपाली पक्ष दुवैले अतिक्रमणको कारण सम्बन्धित निकायले यसलाई जोगाउनुपर्ने जरुरी रहेको स्थानीयको भनाइ छ।

रौतहटको पुर्वी क्षेत्र राजदेवी नगरपालिकाको ब्रम्हपुरीदेखि पश्चिमी क्षेत्र बौधीमाइको बंकुलसम्मको दशगजा क्षेत्रको अधिकांश ठाउँमा स्थानीयबासिन्दा पराल थुपार्ने, गुइठा बनाउने, पशु चौपाया बाध्ने, खेतीपाती गर्ने जस्ता कार्यका कारण दुई देशलाई छुट्याउने दशगजा (नोमेन्स ल्याण्ड) अतिक्रमणको चपेटामा परेको छ। रौतहटको राजदेवी नगरपालिका र ईशनाथ नगरपालिकासँग सिमाना जोडिएका भारतिय नागरिकले दशगजाको बीचमा गाडीएको पिलरसम्म अतिक्रमण गरी खेती योग्य जमिनमा परिणत गरेका छन्।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशगजा क्षेत्र एक सय मिटर दाँया र बायाँ कुनै पनि कार्य गर्न निषेधित भएपनि सम्बन्धित निकायको उदासिनताको कारण राजदेवी नगरपालिकाको सिमानामा रहेको ३ सय ४३ नम्बर मुख्य पिलरदेखी पूर्वको जग्गा भारतिय नागरिकले अतिक्रमण गरेर खेतीपाती गरेका छन्। वर्षौ अघिदेखी भारतियले दशगजा अतिक्रमण गरेर खेतीपाती गर्दै आएपनि स्थानीय प्रशासनले त्यसलाई हटाउन कुनै ठोस कदम नचालेको राजदेवी नपाका ९ ब्रह्मपुरीका स्थानीय समाजसेवी नविन कुमार सिंहले बताए।

नेपाली पक्षद्धारा पराल र पशु चौपायाका साथै मदिरा पसलहरू संचालन गर्न अस्थायी टहरा बनाएर बिक्री वितरण गर्दा दशगजा क्षेत्र अतिक्रमणमा परेको र भारतीयले खेती योग्य जमिन बनाएर अतिक्रमण गरिरहेकोले दुवै देशका पदाधिकारीले अतिक्रमण क्षेत्रलाई खाली गराएर दशगजा जोगाउनुपर्ने सिंहको कथन छ। झण्डै डेढ दशकअधि भएको अतिक्रमणकै कारण सिमास्तम्भहरू हराउने तथा जीर्ण हुँदै गएको गौरका सदानन्द झाले बताए। झाका अनुसार कतिपय स्थानमा भारतीय पक्षद्धारा आफ्नै भुमिमा बनाइएको बाधका कारण नेपाली भु–भाग बर्षा तथा बाढीको समयमा डुवानमा परी ठूलो जनधनको क्षति हुँदै आएको छ।

बाँधको उत्तरतर्फ भारतीय बासिन्दाहरू आएर खेती किसानी गर्दा नेपाली भु–भाग अतिक्रमणको चपेटामा परेको समेत उनले आरोप लगाए। सिमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विओपीहरू भएपनि अवाञ्छित गतिविधि माथि निगरानी राख्ने, अवैध मालसामानको ओसारपसार नियन्त्रण गर्ने तथा दुवै देशको अपराधिक कार्य गरेर सजिलै सिमा वारीपारी गर्नेहरूमाथि अंकुश लगाउने गरेको तर, दुवै देशका स्थानीय बासिन्दाद्धारा भइरहेको अतिक्रमणलाई नियन्त्रण गर्न ठोस कदम नचालिँदा उनीहरूको मनोवल बढदै गएको रामपुर खापका राजु सहनीले बताए।

नेपाल र भारतबीच वेटीरोटीको सुमधुर सम्बन्ध रहेकोले दशगजा जोगाउन दुवै देशको उच्चस्तरिय टोलीको गठन भइ छानविन गरेर अतिक्रमण भएका स्थानलाई खाली गराएमा भविष्यका लागि राम्रो हुने जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले बताए। अन्तर्राष्ट्रिय सिमाना दशगजा धेरै पहिलेदेखी नै स्थानीयले मिचेर प्रयोग गरिरहेको कारण यस क्षेत्रलाई पूर्ण रुपमा सुरक्षित राख्न दुवै देशको उच्च निकायको ध्यान जानुपर्ने भएपनि स्थानीय बासिन्दापनि सोको अक्षरश पालना गरेमा अतिक्रमणको चपेटामा पर्ने थिएन तर त्यसो नभएको हुँदा हाई लेवलबाट ठोस निर्देशन आए हटाउन सजिलो हुने एसपी ढकालले स्पष्ट पारे।

अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन माथिल्लो निकायबाट आएमा खाली गराउन हामी सक्षम रहेका छौ उनले भने। ३२ किलोमिटर खुल्ला सिमाना रहेको रौतहटमा मुख्य पिलर १५, सहायक पिलर २९ र सानो पिलर १ सय १५ वटा गरि कुल १ सय ६२ वटा पिलर रहेका छन्। जसमा सानो र मुख्य गरि १७ वटा पिलर हराएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। सीमास्तम्भ हराएको फाइदा उठाएर भारतीय नागरिकले दसगजा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको देखिएको छ।

प्रकाशित: २ माघ २०७५ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App