बाजुरा - संरक्षण अभावमा संकटमा परेको छेडेदह तालको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले अवस्था अध्ययन तथा अनुगमन गरेका छन्। तालको अवस्था र संरक्षणका लागि गर्न सकिने पहल बारे अवस्था बुझ्न मन्त्री शाहसहित मन्त्रालयका उपसचिव दिपेन्द्र केसीको टोलीले तालको अनुगमन गरेको हो।
घरभेट तथा प्रदेश सरकारका योजना बारे जनतालाई जानकारी दिन बाजुरा पुगेका शाहले जिल्लाकै ठूलो तालको अवस्था देख्दा चिन्ता व्यक्त गरेका छन्। जिल्ला बासीको श्रोत र सम्पत्तिका रुपमा रहेको तालको अस्तित्व नै संकटमा रहेकोले संरक्षण आवश्यक रहेको मन्त्री शाहले बताए।
‘बलियो घेरबार लगाउनु पर्ने देखियो, पहिराले तालको पानी सुक्न थालेकोले त्यसको समाधान जरुरी छ, यसमा मेरो विशेष ध्यान जानेछ, मन्त्री शाहले भने। उनले प्रकृतिक श्रोत नै हाम्रो प्रमुख आर्थिक श्रोत भएकोले संरक्षण र प्रवद्र्धन नै पहिलो काम हुने बताए। प्रचुर संभावना बोकेको ताल संरक्षणका लागि पहल गर्ने मन्त्री शाहले आश्वासन दिए।
उनले भने,‘स्थानीय स्तरबाटै धेरै काम गर्न सकिने अवस्था हो, सरोकार कम देखियो, चिन्ता नेताहरुले मात्र नलिई स्थानीयले पनि लिनुपर्ने हो।’ तालको अवस्था बारे खप्तड छेडेदह गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष खगेन्द्र रावतले जानकारी गराएका थिए। तालको पश्चिम पट्टी ठूलो पहिरो बग्ने गरेको छ। तालको संरक्षणका लागि गाउँपालिका तयार रहेको अध्यक्ष नरबहादुर रावतले बताउने गरेका छन्। तर लगानी गरिएको देखिदैन्।
उक्त ताल खप्तड रारा पैदल मार्गको बीचमा पर्दछ। खप्तड छेडेदह गाउँपालिका ४ र ७ नम्बर वडामा पर्ने यो तालको जति महिमा र आकर्षण छ, त्यति महत्व र स्थान पाउँन सकेको छैन्। देशको ठुलो ताल रारा र सुदुरपश्चिमको पर्यटकीय गन्तव्य खप्तडको बीचमा पर्छ छेडेदह।
पैदल यात्राको क्रममा सोहि बाटो भएर जानु पर्ने भएकोले यस तालको महत्व अझै बढेको व्यवसायी बताउँछन्। चारैतिर धना जंगल, तालवरीपरी रमाइलो चौर, बीचमा खापर देवताको मन्दिरले शोभायमान र सुन्दर देखिन्छ छेडेदह। जिल्लाका आटीचौर, गुदुखाती र डोगडी गाविसको बीचसीमा क्षेत्रसँग तालको भूभाग जोडिएको छ। निलो आकाश जस्तै देखिने तालको आर्कषणले मनलाई लोभ्याउने गर्छ। तर तालवरीपरिको फोहर, व्यवस्थापन नभएको देखिदा मन खिन्न हुने गरेको हेर्न जानेहरुले बताउने गरेका छन्।
ताल खप्तड राष्ट्रिय निकुञ्जबाट ५ घण्टाको पैदल दुरीमा पर्छ। नेपाल टेकिङ्ग एजेन्सीले पनि छेडेदहहुँदै रारा पैदल मार्ग तय गरेको छ। तर दुभाग्र्य ताल संरक्षण अभावमा गाई, गोरु भैंसी चराउँन, नुहाउन, खाल खेल्नका रुपमा प्रयोग हुदै आएको छ। जसका कारण तालको शोभा र अस्तित्व संकटमा परेको छ।
प्रकाशित: २२ पुस २०७५ ०५:४४ आइतबार