२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भारतीय अवरोधले ठुटेखोला पुल प्रयोगविहीन

रत्ननगर- भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल प्रयोगमा आउन सकेको छैन । पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो जोडिन नपाउँदा प्रयोगविहीन बनेको हो ।

ठोरी गाउँपालिका–२ र ३ वडा जोड्ने १०२ मिटर लामो ठुटेखोलामा पुल बनेको एक वर्ष भइसक्दा पनि स्थानीयवासी खोलाकै बाटो प्रयोग गर्न बाध्य छन् ।

नहरको पानीको विषयमा पटक–पटक भारतीय र नेपालीबीच झडप हुने गरेको स्थानीय रबीन तिमल्सिनाले बताए। नेपाली भूमि भएर बगेको खोलामा नेपालीले बाँध बाँधेर कुलोमा पानी लैजाँदा भारतीय बाँध भत्काउन आउने गरेको तिमल्सिनाको भनाइ छ । नेपालले माथिल्लो एउटा बाँधबाट र भारतले तल्लो दुई बाँध बनाएर पानी लगेको छ ।

ठोरी–केरुङ हुलाकी मार्गअन्तर्गतको ठुटेखोला पुल भएर ठोरी गाउँपालिका वडा नंं ३ सुवर्णपुर हुँदै वीरगञ्जसम्म जान सकिन्छ । ठोरी भन्सारबाट सानाठूला गरी दैनिक करीब १०० गाडी आवतजावत गर्ने गरेको ठोरी निर्मलबस्ती सामुदायिक वन उपभोक्ता समितिअन्तर्गतको चोरी सिकारी नियन्त्रण समितिका संयोजक पिताम्वर सिलवालले बताए।

ठुटेखोला पुलबाट भारततर्फको करीब ३० मिटरमा नेपाल–भारत सीमा पिल्लर रहेको छ । तर, भारतले भने पुलभन्दा भित्र आएर बाँध बनाई वर्षाैदेखि पानीको प्रयोग गर्दै आएको छ । यहाँको पानीले भारतको भिखनाठोरी, डुम्मरवाना, जमुनिया, भवानीपुरसम्मको क्षेत्रमा सिँचाइ पुगेको छ । ठुटेखोला पुल हुलाकी मार्गअन्तर्गत पर्ने भएकाले पानीको कुलोमा ह्युमपाइप राख्न नमिल्ने भएकाले पुल सञ्चालनमा समस्या आएको सिलवाल बताउछन्।

दुवै देशलाई समस्या पर्ने भएकाले समाधानको मध्यमार्गी बाटो खोजी भइरहेको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले बताए। ‘पुल चलाउनका लागि नहर पुर्नुपर्ने भए पनि पुर्न सहज नभएकाले बाटो रोकिएको हो,’ उनले भने, ‘नहर पुर्दा भारतलाई समस्या पर्छ, नपुर्दा पुल सञ्चालनमा समस्या आएको छ।’रासस

प्रकाशित: १४ पुस २०७५ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App