८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नमुना सहकारी खेतीमार्फत समृृद्धिको सपना

गौरादह ५ मा महरानीझोढा साना किसान सहकारी संस्थाले प्रबद्र्धन गरेको नमुना एकिकृत सहकारी खेती भित्र रहेका गाई । तस्बिर : युवराज/नागरिक

दमक - गौरादह–५ का अर्जुन खतिवडाले आफूसँग भएको खेत २५ वर्षका लागि एकीकृत नमुना सहकारी खेतीलाई दिएका छन्। अहिले उनीसँग तरकारी खेतीका लागि अलिकति बारी मात्रै छ। आफ्नै खेतमा काम गरे पनि घन्टाको हिसाबले भुक्तानी पाउँछन्। अनि अन्न उत्पादनबाट बजार मूल्य पनि राम्रै पाउँछन्। उनीजस्तै हेमनाथ घिमिरेले सबै खेतबारी सहकारी खेतीमा लगाइएको छ। उनीजस्तै ७२ घरपरिवारले आफ्नो जमिन सहकारी खेतीमा लगाइएको छ।

एक कट्ठादेखि दुई बिघा जग्गा ती परिवारको छ। जम्मा ८० बिघा जग्गा सहकारी खेतीले लिएको छ। त्यसमा बर्सेनि धानबापत बिघाको ३२ मन धान जग्गाधनीले पाउने छन्। अनि खेतीको काममा सहयोग गरेमा घन्टाको ५० रुपैयाँसमेत श्रमबापतको रकम पाउँछन्। नमुना खेतीको सुरुवात गर्ने महारानीझोडा सानाकिसान सहकारी संस्थाकी अध्यक्ष मिना ढकालका अनुसार यो काम सुरु गर्न सुरुवाती चरणमा धेरै अप्ठेरो परेको थियो। ‘अहिले त सबैतिरका जग्गाधनी आएर जग्गा लिइदिन अनुरोध गर्न थालेका छन्,’ उनले सुनाइन्, ‘अब हामीले चौघेरा भित्रको ८० बिघा जग्गा लिएका छौं, यसलाई नै व्यवस्थित गर्दै लैजाने छौं।’

नमुना खेतीमा धानको मात्रै काम हुँदैन। ५२ वटा गाई पनि छन्। अब मकैको चिउरा निकाल्ने उद्योग पनि धमाधम स्थापना हुँदैछ। बागवानीको दुई बिघामा आँप, लिची, कागती लगाइएको छ। सवा बिघामा माछापोखरी छ। किमुमाइल प्रशोधन गर्ने उद्योग समेत छ। मकै, गहुँ, जैघास, तोरी, हिउँदे धान पनि उत्पादन हुन्छ। तर खेती गरिएका सबै जग्गाका धनी भने अरु नै छन्।

सहकारी खेतीमा संलग्न शकुन्तला घिमिरेका अनुसार आफैंले गरेको धान उत्पादनभन्दा सहकारी खेतीले उत्पादन उल्लेखनीय वृद्धि छ। ‘एकीकृत रुपमा खेती नि भएको छ, लागत बढी लाग्ने थियो तर प्रविधि प्रयोगले उत्पादन पनि बढेको छ,’ उनले भनिन्, ‘उत्पादन बढेपछि सबै किसान उत्साहित पनि छन्।’ उनीजस्तै महिला जग्गा सहकारी खेतीलाई दिएपछि फुर्सदको समयमा अन्य काम गर्न थालेका छन्। ‘मैले अचार बनाएर राखेको छु,’ उनले भनिन्, ‘कति जनाले त ढाकाको काम गरिरहेका छन्।’ खेतीका व्यवस्थापक अर्जुन खतिवडाले खेतीमा सदस्य बन्नका लागि किसानको न्यूनतम एक कट्ठादेखि तीन बिघासम्म लिइएको बताए। ‘अहिलेसम्म सबै सन्तुष्ट नै छन्,’ उनले सुनाए, ‘कसैले त भएको सबै जग्गा नराखी सहकारीलाई नै दिएका छन्।’ महारानीझोडा–५ को मैदानघोपा र चिउरा मिलमा रहेको एक सय ५० बिघामा धान खेती गरिएको छ।

प्रारम्भिक चरणमा खेतको उपचारका लागि २१ मेट्रिक टन कृषिचुन उपयोग गरियो। समूहमा खेती गर्न थालेपछि जोत्ने, रोप्ने, काट्ने, झार्ने लगायत काम मेसिनबाट हुने गरेका छन्। ‘अधिकांश काम भने प्रविधि प्रयोगबाटै गरिएको छ,’ खतिवडाले भने, ‘त्यसमा मानिसले सहयोगी भूमिका निर्बाह गर्छन्। खेतीको मुख्य उत्पादन भने धान नै हो।’ ‘यस पटक दुई हजार तीन सय मन धान जग्गा धनीलाई वितरण गरे। बर्खे धान उत्पादन बढी पनि हुन्छ,’ खतिवडाले भने, ‘त्यसैले किसानलाई हामीले केही मात्रै खर्च कटाएर जग्गा अनुसारको लाभांश वितरण गरेका छौं।’ यसबाट किसानलाई सन्तुष्टि मिलेको खतिवडाको भनाइ छ।

सहकारी खेतीका अध्यक्ष बेदनिधि चापागाइँले मुलुकमा सहकारीमार्फत भएको यस्तोखाले खेती नमुना भएको दाबी गरे। ‘किसानलाई सन्तुष्टि पनि मिलेको छ, अन्नको उत्पादन समेत बढेको छ,’ उनले भने, ‘गाउँमै रोजगारीको वातावरण पनि तयार भएको छ।’ सहकारी खेतीबाट उत्पादन भएको धान भने सरकारले सूचिकृत गरिएका नै हुन्। उत्पादन भएको धान बजारमा बिक्री गरिँदैन।

साना किसान सहकारीले प्रवद्र्धन गरेको बिउविजन प्रशोधन केन्द्रमा गएर प्रशोधन गरिन्छ। अनि बिऊका रुपमा बजारमा जान्छ। सहकारी संस्थाका व्यवस्थापक चिरन्जीवी भण्डारीले किसानले बजारको भन्दा सहकारीबाट धानको मूल्य राम्रो पाने बताए। ‘बजारमा बिक्री गर्दा अत्यन्त न्यून मूल्य हुन्छ,’ भण्डारीले भने, ‘हामी बजारको भन्दा बढी मूल्य दिएर प्रशोधन गर्छौ।’ प्रशोधन केन्द्रमा धानसँगै मकै समेत प्रशोधन भएर बिऊका रुपमा बिक्री गरिन्छ। भण्डारीले नमुना खेतीले उत्पादन गरेको सबै बाली सहकारीले नै प्रवद्र्धन गरेको प्रशोधन केन्द्रमा जान्छ अनि त्यसले प्रशोधन गरेर बजारमा पठाउँछ।

उनका अनुसार सहकारीले किसानलाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि समेत यस्ता योजना ल्याएको छ। न्युन मुल्यमा धान विक्री गर्नुपर्ने बाध्यतामा रहेका किसानलाई बढी मुल्यमा ल्याएर भण्डार समेत गरिन्छ, अनि प्रशोधन गरेर विऊका रुपमा विक्री गरिन्छ, उनले भने, अहिले हामीलाई विऊको माग धान्न मुस्किल परेको छ।

सहकारीले नै प्रबद्र्धन गरेर अहिले मकैको चिउरा कन्फेक्स बनाउने उद्योग समेत शिलान्यस गरेको छ। त्यसले सहकारी खेती सँगै किसानले उत्पादन गरेको मकै बजारको भन्दा बढी भाउमा खरिद गर्छ। हामी आफैले उद्योग चलाउने भए पछी किसानले अन्यत्र भन्दा बढी मुल्य पनि पाउने भए, भण्डारीले भने, बजार पनि यसको धेरै छ।

सरकारले अहिले घोषणा गरेको पर्यटकीय केन्द्रका रुपमा यो खेती पनि परेको छ। खेती थालिएको पाचौ बर्षमा यसले धेरै उचाइ पाएको छ। सहकारी संस्थाकी अध्यक्ष मिना ढकालका अनुसार धेरै देशका राजदूतले समेत यो खेती प्रणालीको प्रशंसा गरेका छन्। मुलुकमा कार्यकारी प्रमुख सहित अन्य नेताहरुले समेत यसलाई प्रशंसा गरेका छन्, उनले भनिन, हामी नमुना पर्यटकीय केन्द्र र नमुना खेती बनाउने प्रणमा छौ। उनका अनुसार नमुना खेतीमा प्रशोधन,विक्री बितरणको काम समेत गरिने छ। मकै उद्योग पछी दुग्ध प्रशोधनको लागि उद्योग ल्याउने तयारी छ। किसानको दुधले मुल्य पाएका छैनन्, हामीले त्यसको तयारी स्वरुप गाई पालेका छौ, उनले भनिन, अर्को बर्ष हामी सबै किसानको दुध खरिद गरेर प्रशोधन गर्ने तयारी गरेका छौ।

प्रकाशित: १२ पुस २०७५ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App