coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खुला आकाशमुनि रात काट्न बाध्य पीडित

आगलागीमा परेको कालिकोट पलाँताको खाँडागाउँ। तस्बिर : पवित्रकुमार/नागरिक

कालिकोट - पलाँता गाउँपालिका–१ खाँडाका लालमणि उपाध्यायका लागि गएको आइतबार अहिलेसम्मकै पीडादायी दिन बन्न पुग्यो। उक्त दिनको भीषण आगलागी सम्झेर उनी बेलाबेलामा झस्किरहन्छन्। त्यस दिन मध्यरातमा उनको परिवारका सबैजना मस्तसँग निदाइरहेका थिए।

उनले घरबाहिर कताकता हल्लखल्ल भएको जस्तो निद्रामै महसुस गरे। आगोको राप र धुवाँले घरमा घेरा हालिसकेको उनले पत्तै पाएनन्। ओछ्यानसम्मै आइपुगेको आगोले पोलेपछि मात्र उनी बिउँझिए। गाउँभरिका मान्छे ‘गुहार ! गुहार !! आगो लाग्यो’ भन्दै कराइरहेका रहेछन्। उनी पत्नी र दुई छोरालाई उठाएर हतारहतार बाहिर निस्किए। उनको परिवार बाहिर निस्केको केहीबेरमै आगलागीले सिंगै घर सिध्याइदियो। ‘भाग्यले बाच्यौं,’ ६५ वर्षीय वृद्ध उपाध्यायले भने, ‘अत्तालिएर भाग्ने क्रममा लुगा पनि ल्याउन भ्याएनौं, रातभरि खुला ठाउँमा चिसोसँग जुध्दै बस्यौं।’ उनले थपे, ‘अबको भर भनेकै सरकार हो। हामीसँग त गाँस–बास–कपास केही छैन।’

सो दिन लालमणिको सहित ८७ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख देवेन्द्र मल्लले बताए। उनका अनुसार आगोबाट बच्न भागदौड गर्ने क्रममा सातजना सामान्य घाइते भए। १४ गाईगोरु, दुई भैंसी र दुई बाख्रा मरेको स्थानीय बताउँछन्। आगोले जलेर ढलेका गोठमुनि पुरिएकाले मरेका चौपाया अझै ननिकालिएको स्थानीय धनकर्ण विकले बताए। एउटा घरमा लागेको आगो गाउँभरि फैलिएपछि घरभन्दा पनि आफूलाई कसरी बँचाउने भन्ने भयावह स्थिति सिर्जना हुँदा मध्यरातमा भागभाग मच्चिएको थियो। पाँच सय ४० जना आगलागीपीडित यतिखेर गाउँनजिकैको विद्यालयछेउछाउ बसिरहेका छन्। उनीहरू खुला आकाशमुनि कठ्यांग्रिँदै रात गुजार्न बाध्य छन्। उनीहरूले सोही विद्यालय प्रांगणमा संयुक्त मेस बनाएर खाना खाने गरेका छन्।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की राहत वितरणका लागि आगलागी स्थलमा पुगेका छन्। मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट दुई ट्रिप राहत सामग्री पु-याइएको छ। आगलागीबाट तीन करोड ६ लाखबराबरको क्षति भएको प्रारम्भिक विवरण आएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए। खाँडामा आइलागेको विपत्तिले त्यहाँका नागरिकमा लागेको पीडाको घाउ दर्दनाक रहेको प्रतिक्रिया दिँदै प्रजिअ कार्कीले उनीहरूको पीडाको घाउमा मलम लगाउन आफैं उपस्थित भएको जानकारी दिए। अग्निपीडितको व्यवस्थापनमा स्थानीय प्रशासन अहोरात्र खटिरहेको प्रजिअ कार्कीले जानकारी दिए। संघीय र प्रदेश सरकारले पनि पीडितको उद्धारका साथै राहत सामग्री संकलन र वितरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको उनले सुनाए। त्यहाँका अधिकांश युवा रोजगारीका सिलसिलामा गाउँबाहिर छन्। महिला, वृद्धवृद्धा र केटाकेटी मात्र भएकाले आगलागी अझ पीडादायी भएको एक पीडितले बताए।

धनदेवीको आवाजले मानवीय क्षति हुन पाएन
‘राति शौचका लागि उठ्दा २ बजेर ३९ मिनेट गएको रहेछ। घरनजिकैको चर्पीसम्म जाने क्रममा सानो आगो बलेजस्तो देखियो। हाम्रो घरनजिकै नवीन न्यौपानेको घरमा आगो बलेको जस्तो देखियो। अनि नजिकै गएर हेरें। आगोको राप र धुवाँको मुस्लो देखेपछि अागलागी भएको थाहा पाएँ। त्यसपछि ठूलो स्वरमा ‘गुहार ! गुहार !! नविन देवरको घरमा आगो लाग्यो भन्दै कराएँ।’ सिंगो गाउँमा आगो लाग्दा मानवीय क्षति हुन नदिने धनदेवी न्यौपानेको भनाइ हो यो। उनले राति शौचालय जाने क्रममा आगे लागेको नदेखेकी भए त्यहाँ ठूलो मानवीय क्षति हुन सक्थ्यो। आगो देखेर अत्तालिएकी उनी कराएको आवाजले गाउँ बिउँझिएको थियो। धनदेवीको गुहारको आवाज सुनेरै गाउँले धमाधमा उठेर घरबाहिर आई बाँचेका हुन्। धनदेवीकै सबै गाउँले बाँचको स्थानीय मनप्रसाद न्यौपानेले बताए। धनदेविके ठूलो स्वर सुनेर आफू उठेर घरबाहिर निस्किएको उनले बताए। मनप्रसादले भने, ‘धनदेवीको घरनजिकै मेरो घर छ। मैले त अरू केही समस्या भयो कि भनेर बाहिर आए। तर आगो लागेको देखेपछि गाउँले बिउँझाउन म पनि चिच्याउन थालें।’ धनदेवीको घर भने आगोबाट जोगिएको छ।

घाइतेको अवस्था सामान्य
आगलागीबाट घाइते सातजनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। घरमा सुतिरहेका उनीहरू घरबाहिर भाग्ने क्रममा घाइते भएका हुन्। घाइते हुनेहरूमा ७० वर्षीया चन्द्ररूपा संज्याल, ७० वर्षीय देवराज हमाल, ३५ वर्षीय विष्णुऋषि न्यौपाने, ५८ वर्षीय कर्णप्रसाद न्यौपाने, १० वर्षीया करिश्मा न्यौपाने र नौ वर्षका एक बालक छन्।

अग्निपीडितसँगै गाउँपालिका अध्यक्षको बास
अग्निपीडितसँगै खुला आकाशमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पनि बस्ने गरेका छन्। पीडितको सान्त्वनाका लागि पीडितसँगै बसेको अध्यक्ष बमले बताए। आगलागी भएको रात सुर्खेतमा कामका लागि गएका अध्यक्ष बम हेलिकोप्टरमा नौ लाखबराबरकोे राहत सामग्रीसहित खाँडा पुगेका थिए। पीडित प्रतिपरिवारलाई २५ किलोका दुई बोरा चामल, दुई थान डस्ना, दुई थान सिरक, दुई थान कम्बल, एक सेट भाँडा, एक थान कोरियन कम्बल वितरण गरिएको अध्यक्ष बमले बताए। राहतका लागि प्रदेश सरकार र संघीय सरकारको सहयोग रहेको उनको भनाइ छ। नौ लाखबराबरको खाद्यान्न र कपडा राहत भने गाउँपालिकाबाट कोषबाट प्रदान गरिएको अध्यक्ष बमले बताए। उनका अनुसार अन्य स्थानीय तहले पनि नगद सहयोग गर्ने घोषणा गरेका छन्। अब खाँडा गाउँ नै खरमुक्त गर्ने तयारीमा गाउँपालिका जुटेको अध्यक्ष बमले बताए।

राहत संकलन जारी
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा खाँडाका पीडित घरपरिवारलाई प्रतिघरधुरी २० हजार नगद राहत दिने तयारी भएको छ। गृह मन्त्रालयबाट दुई सय थान कम्बल, ७० थान त्रिपाल, सय थान ज्याकेट, सय थान ट्राउजरसहितको राहत सामग्री वितरण गरिएको छ। जिल्ला प्रशासनको पहलमा खाद्य संस्थान कालिकोट शाखाबाट ९० बोरा चामल र रेडक्रसको सहयोगमा केही त्रिपाल, कमल, भाँडाकुडा तथा स्थानीय चेम्बर अफ कमर्स कालिकोटले संकलन गरेर वितरण गरिएको बताइएको छ।

प्रकाशित: १२ पुस २०७५ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App