२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘नेपाल–चीन सम्बन्ध कमजोर बनाउने खेल’

काठमाडौं – अमेरिका र नेपालका परराष्ट्रमन्त्रीबीच इन्डो–प्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा भएको छलफललाई कूटनीतिज्ञहरूले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रूपमा टिप्पणी गरेका छन्।

अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओेबीच मंगलबार स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक र उत्तर कोरियालगायतका विश्वस्तरीय मुद्दामा नेपालको केन्द्रीय भूमिका हुने विषयमा छलफल भएको थियो।

अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता रोबर्ट पल्लादिनोले जारी गरेको विज्ञप्तिमा इन्डो–प्यासिफिकमा नेपालको भूमिका, पाँच सय मिलियन अमेरिकी डलरको मिलिनियम च्यालेन्ज कर्पाेरेसन र नागरिक तहको सम्बन्ध विस्तारका विषय उल्लेख छ। नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने इन्डो–प्यासिफिकमा नेपालको भूमिकाबारे उल्लेख छैन।

नेपालले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा हस्ताक्षर गरिसकेको अवस्थामा इन्डो–प्यासिफिकमा नेपालको केन्द्रीय भूमिकाबारे छलफल हुनुलाई कूटनीतिज्ञहरूले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रूपमा अथ्र्याउने गरेका छन्। ‘इन्डो–प्यासिफिकमा नेपालको हैसियत मुख्य भूमिका खेल्ने अवस्था भएको भए हामी धेरै अघि बढिसक्थ्यौं,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘नेपालको भूमिकालाई हैसियतभन्दा माथि उठाएर व्याख्या गरिनुका पछाडि कुनै स्वार्थ हुनसक्छ।’

इन्डो प्यासिफिकमा नेपालको भूमिकाबारे भएको छलफलका सम्बन्धमा कूटनीतिज्ञ मधुरमण आचार्यले ट्विट गरेका छन्, ‘कसैले चाहिने भन्दा धेरै प्रशंसा गरे बुझ्नोस्, तपार्इंलाई केमा फसाउन लागेका छन् ! यो नियम जताततै उत्तिकै लागू हुन्छ ! जीवनमा होस् या कूटनीतिमा।’ आचार्यको यो भनाइले पनि नेपालको हैसियतभन्दा माथि उठाएर अमेरिकाले नेपालको प्रशंसा गर्नुमा कुनै स्वार्थ लुकेको भन्ने बुझाउँछ।

इन्डो प्यासिफिक रणनीति चीनको बढ्दो प्रभाव रोक्न शक्ति सन्तुलनका लागि अमेरिकाले अघि सारेको रणनीति हो। अमेरिका, भारत, जापान र अस्ट्रेलियालगायतका महत्वपूर्ण मुलुकको स्वार्थ जोडिएको इन्डो प्यासिफिकलाई चीनको बिआरआइलाई चुनौती दिन अघि सारिएको अवधारणाका रूपमा समेत हेर्ने गरिन्छ। विश्वका शक्तिशाली मुुलुकको स्वार्थ जोडिएको इन्डो प्यासिफिकमा हैसियत नै नभएको नेपालको भूमिका मुख्य हुने विषयमा चर्चा हुनु आफैंमा पत्याउन नसकिने जानकार बताउँछन्।

चीनका लागि नेपालका पूर्वराजदूत डा. महेश मास्के भने नेपालले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेकाले जुनसुकै मुलुक वा फोरमसँग पनि सम्बन्ध विस्तार गर्न सक्ने बताउँछन्। ‘वेल्ट एन्ड रोड इनिसिएटिभसँग आबद्ध भएर इन्डो–प्यासिफिक रणनीतिमा जानुलाई म आश्चर्य मान्दिनँ,’ मास्केले भने। बिआरआईसँग सम्बन्ध तोडेर अर्काे गठबन्धनमा सामेल भएमा भने त्यो गलत हुने मास्के बताउँछन्। नेपालले सबैसँग सहकार्य गर्न सक्ने तर आफ्नो मुख्य स्वार्थ छोड्न नहुने उनको भनाइ छ।

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जान खोजिरहेका बेला सहकार्यमा जोड दिनु स्वाभाविक हो,’ उनले भने। यस विषयमा नेपालका तर्फबाट आधिकारिक धारणा बाहिर नआएकाले अमेरिकाको भनाइलाई मात्र मानेर शंका गर्न नहुने मास्के बताउँछन्। उनले भने, ‘नेपालको भूमिका मुख्य हुने भनी उल्लेख गरिएको शब्द अतिशयुक्तपूर्ण लाग्छ, इन्डो प्यासिफिकमा नेपाल मुख्य भूमिका खेल्ने अवस्थामा छैन,’ उनले भने।

पूर्वराजदूत शम्भु सिम्खडा नेपालले कुनै पनि निर्णय गर्दा सचेत हुनुपर्ने बताउँछन्। परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमण महत्वपूर्ण भए पनि त्यसको सदुपयोग गर्न जाने राम्रै हुने र सदुपयोग गर्न नजाने नोक्सान हुन सक्ने उनी बताउँछन्। नेपालले सही निर्णय गर्न नसके सामरिक चलखेलको केन्द्रबिन्दु हुने खतरा रहेको उनी बताउँछन्।

प्रकाशित: ६ पुस २०७५ ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App