२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटमा झडप, प्रहरीद्वारा हवाई फायर

रौतहट – गरुडा नगरपालिका–९, रघुनाथपुरको बिर्ता टोलमा सोमबार साँझ झडप भएको छ। स्थानीय हाट बजारमा गाउँकै दुई समूहबीच भएको झडप प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरी नियन्त्रणमा लिएको छ।

गत मंसिर २८ गते स्थानीय शेख हुसैनसहितको समूहले पुरानो विवादको निहुँमा वडाध्यक्ष राजेश सहनी र उनका बुबा हरिलाई कुटपिट गरेका थिए। त्यही रिसमा सोमबार सहनी पक्षको समूहले गाउँमै लागेको हाट बजारको मौका पारी विपक्षी व्यक्तिहरूमाथि ढुंगामुढा गर्न थालेपछि झडप भएको हो। झडपले उग्र रूप लिन थालेपछि ६ राउन्ड टियर ग्यास र २ राउन्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको रौतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, डिएसपी महेन्द्र मरासिनिले बताए।

गत असोज ३ गते स्थानीय हरिन्दर सहनीकी ६५ वर्षीया आमा भोगियादेवीको कालगतिले मृत्यु भएको थियो। उनको शव गाउँदेखि पूर्व नहर छेउमा, जहाँ हिन्दु समुदायले पुस्तौंदेखि दाहसंस्कार गर्ने गरेका छन्, जलाउन लाग्दा अर्काे पक्षले अवरोध गरेको थियो। यही विषयमा विवाद हुँदा त्यसबेला पनि प्रहरीले २३ राउन्ड टियर ग्यास र ३२ राउन्ड हवाई फायर गरेर झडप नियन्त्रणमा लिएको थियो। तीन दिनसम्म घटनास्थलमा प्रहरी परिचालन गरी दुवै पक्षबीच सहमति गराइएको थियो।

तर घटनालाई राजनीतिक रूप दिई यसपछि दुई पक्षबीच पटक–पटक झडप हुँदै आएको छ। त्यही क्रममा सोमबार पनि दुई पक्षबीच झडप भएको हो। सहमति भइसकेको विषय पनि बारम्बार झिकेर समाजमा अशान्ति फैलाउनेहरूलाई प्रहरी प्रशासनले कुनै कारबाही नगर्दा घटना दोहोरिइरहेको स्थानीय देवेन्द्र सहनी गुनासो गर्छन्।

प्रकाशित: ३ पुस २०७५ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App