१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

‘सरकारले हामीजस्ता दुःखीका कुरा पनि सुन्छ होला नि !’

बनेपा–१३, भैंसेपाटीस्थित अस्थायी टहरोमा सावित्री भुजेल। तस्बिरः मधुसुधन/नागरिक

बनेपा – दुर्भाग्य पनि कस्तो ! आठ वर्षअघि कान्छो छोरोले विष खाएर आत्महत्या गरे। त्यसको डेढ वर्ष नपुग्दै पतिले पनि विषै पिएर संसार छाडे। यो पीडाको घाउमा खाटा बस्दैथियो। फेरि जेठो छोरोले पनि गत असारमा पासो लगाएर आफूलाई सिध्याए।

लगातार एकपछि अर्काे बज्रपात व्यहोर्नुपर्यो, काभ्रेको बनेपा–१३, भैंसेपाटीकी ४६ वर्षिया सावित्री भुजेलले। ललितपुरको धापाखेलस्थित थापामगर परिवारबाट भैंसेपाटीको भुजेल परिवारमा आइपुगेकी सावित्रीले पढ्न–लेख्न पाइनन्। अर्काको ज्यालाबनी नगरी खान नपुग्ने उनले पढाउनकै लागि कान्छो छोरोलाई माइतीमा पठाइन्। माइतीले पनि कान्छो नाति भनेर माया गरेर पढाइरहेका थिए। ‘८ कक्षामा पढ्दैथियो। के भएर हो कुन्नी, तरकारी बालीमा हाल्न ल्याएको विष खाएर बितेछ,’ सावित्री सुनाउँछिन्।

पति भजराम ट्याक्टर चलाउँथे भने जेठो छोरो ईश्वर स्थानीय गौरीशंकर ग्यास उद्योगमा काम गर्थे। भक्तपुरे साहुको खेतमा(अँधिया लिएर) सावित्री, जेठानी–देउरानीहरूसँग मिलेर धनियाँ, लसुन लगायतका सागसब्जी रोप्थिन्। बनेपा बजार लगेर बेच्थिन्। जेनतेन गुजारा चलिरहेको थियो।

‘कान्छो छोरो बितेको १८ महिनामात्रै भएको थियो। किराले धनियाँ खायो भनेर विष किनेर ल्याएकी थिएँ। बूढाले त्यही खाइदिएछन्। धुलिखेल अस्पताल लग्यौं, बचाउन सकिएन,’ उनले सुनाइन्।

पति र कान्छो छोरो बितेपछि सावित्रीलाई पनि ज्यान फालौं कि जस्तो लाग्थ्यो। तर उनले सोचिन्– ईश्वर भगवान्ले नहेरे पनि जेठो छोरो ईश्वरले मलाई पक्कै हेर्ला ! भक्कानिँदै उनी भन्छिन्,‘तर त्यसले पनि घात गर्यो।’

भूकम्पलगत्तै साविक नासिकास्थान साँगा गाविसबाट १५ हजार लिएर टहरा बनाइन्। तर, त्यही टहरोमा जेठो छोरोले २०७५ असार २३ गते पासो लगाएर आत्महत्या गरेपछि उनी भित्रै छिरेकी छैनन्। ‘एक मन त गाउँ नै छाडेर जाउँजस्तो लागेको थियो तर साहिँला देवरले एउटा कोठा दिन्छु, बाँडेर खाउँला भन्नु भएपछि मन थामेर बसेकी छु,’ सावित्री सुनाउँछिन्।

निजी आवास पुनर्निर्माणका लागि उनले जेठो छोरालाई साक्षी राखेर सम्झौता गरी प्रथम किस्ताबापत ५० हजार रुपैयाँ ल्याएकी थिइन्। छिमेकी लघुवित्त संस्था तथा जेठानी–देउरानीहरूसँग सापट गरेर घरको डिपिसीसम्म बनाइन्। त्यसपछि उनले दोस्रो किस्ता डेढ लाख रुपैयाँ पनि ल्याइन्। ‘तर के गर्नु, जसका लागि घर बनाउँदै थिएँ उही (जेठो छोरो) नै नरहेपछि त्यो पैसाले सबैको ऋण चुक्ता गरेर बसें,’ उनले भनिन्।

उनका आँगनभरि इँटा छरिएका छन्। टहरो छेउमै बालुवाको थुप्रो छ। बिग्रेला भनेर सिमेन्ट पनि छिमेकीलाई दिएकी छन्। डिपिसी गरेको घरमा घाँस उम्रिएका छन्।

सावित्रीको सम्पत्ति भनेकै साविक साँगा–४ मा सासुले कमाएको सगोलको १ रोपनी ८ आना ३ पैसा जमीन छ। त्यो पनि हिटीचोक सदावर्त गुठीको नाममा छ। पछिल्लो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले, अनुदान लिएर पनि घर नबनाउनेहरूलाई कारबाही गर्ने कुरा सुनेकी सावित्रीलाई यतिखेर चिन्ता थपिएको छ। उनी भन्छिन्, ‘सरकारले दिएको पैसाले डिपिसीसम्म बनाँउदा लागेको ऋण तिरेकी हुँ। त्यसभन्दा माथि लैजान पैसा छैन। सहारा दिने जेठो छोरो बितिहाल्यो। अब जे गर्नुछ, गर्नुस् भन्छु। सरकारले हामीजस्ता दुःखीका पनि कुरा सुन्छ होला नि !’

प्रकाशित: २६ मंसिर २०७५ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App