५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अमिलो जातको सबै फलमा किराको प्रकोप

किराले जुनारलाई आक्रमण गरि बोटबाट झरेको जुनार बटुलेर खाल्डामा हाल्दै जुनार किसान। तस्बिर : अनिल/नागरिक

सिन्धुली – अमिलो जातको अधिकांश फलफूलमा किराको समस्या देखिएको छ। सिन्धुलीको प्रमुख नगदे फलफूलको रुपमा रहेको जुनार, निबुवा, सुन्तला र कागती जस्ता अमिलो जातको फलफूलमा चाइनिज सिट्रस फ्लाई किराकोे प्रकोप बढ्न थालेपछि किसान मर्कामा परेका छन्।

विगतको तुलनामा यस वर्ष किराको प्रकोप झन् बढेसँगै किसान मर्कामा परेका हुन्। जुनार खान योग्य समय नहुँदै किराले सखाप पारेपछि सिन्धुलीका किसान चिन्तित बनेका छन्। जिल्लाको पूर्वी पहाडी भागको मुख्य नगदे फलफूलको रुपमा परिचित जुनारमा फल कुहाउने औषा पार्ने झिगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सले जुनार र निबुवा लगायतका फल कुहाउन सुरु गरेको किसानहरू बताउँछन्।

विशेष गरी फलको दाना भित्र केस्रा तथा झिल्ली हुने जातको फलमा यसको आक्रमण कमै भएपनि जुनार निबुवामा भने अत्याधिक किराको समस्या देखिएको छ। उचित व्यवस्थापनमा किसान व्यापारी र उपभोक्ताले ध्यान नदिँदा विगतको वर्षभन्दा यसवर्ष उक्त किराको प्रकोप जुनार क्षेत्रमा ह्वात्तै बढेको छ। जुनारमा मात्र नभएर जिल्लाको महाभारत क्षेत्रमा हुने निबुवामा समेत उक्त प्रकोप देखिएको किसान बताउँछन्। झिगाले अमिलो जातको फलहरूलाई यस वर्ष पनि बिर्गान सुरु गरेको विज्ञहरूले बताएका छन्।

वर्षेनी लाखौंको आम्दानी गर्दै आएका जुनार किसानलाई यसवर्ष भने किराको प्रकोपले समस्या हुने देखिएको छ। जुनार क्षेत्रमा विभिन्न कार्यक्रम गरी किराको प्रकोप न्युनिकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना(जुनार सुपर जोन) कार्यक्रमले केहि क्षेत्रमा अपनाएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागु भएको क्षेत्र बाहेक अन्य क्षेत्रको ८० प्रतिशत जुनारमा किराको समस्या देखिएको छ। 

जुनार क्षेत्रमा विभिन्न चार कार्यक्रम लागु भएका हुन्, यहाँको गोलञ्जोर गाउँपालिका ४ तिनकन्याका किसान लोकबहादुर आलेले भने क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम केही प्रभावकारी देखिएको छ, अन्य कार्यक्रमबाट कुनै उपलब्धि भएको छैन।’ उनका अनुसार तिनकन्याकै ८ सय रोपनी क्षेत्रफलमा भएको जुनार बगैंचामा झन्डै २० लाख रुपैयाँ खर्चेर क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागु गरिएको थियो। उक्त कार्यक्रम लागु भएको क्षेत्रको जुनार पनि ३० प्रतिशत किराकै समस्या भएको र अन्य क्षेत्रमा ८० प्रतिशत जुनार खानलाई उचित नदेखिएको किसान बताउँछन्। अहिलेनै किराको समस्या ठुलो देखि सकिएको छ, उनले भने, ‘मंसिर पुषमा जुनार किराको प्रकोपले सबैजसो झर्ने देखिन्छ।’

जुनार क्षेत्रमा ब्याक्ट्रोसेरा मिन्याक्सको समस्या २०७२ सालबाटै सुरु भएको किसान बताउँछन्। २०७२ सालमा केहि दानामा मात्रै देखिएको समस्या समयमै समाधान गर्न नसक्दा हाल विकराल अवस्था आएको छ। व्यवस्थापनमा लापरवाही किसानदेखि व्यापारी सबैले गरेका कारण किराको व्यवस्थापन हुनुको साटो थप फैलदै गएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोनमा सरुवा भइ आएका कार्यालय प्रमुख देवराज अधिकारी किरा नियन्त्रण गर्न जटिल रहेको बताउँछन्। अरु किराजस्तो पासो र बट्टामा यो किरा आउँदैन, उनले भने, ‘उपभोग गर्ने देखि विक्री वितरण गर्ने र जुनार क्षेत्रमै काम गर्ने किसानलेनै विशेष ध्यान दिनुपर्छ।’ किसानले हेलच्याक्र्याई गरे अमिलो जातका सबै फल सखाप हुन्छ, तर नियन्त्रणको विधि अपनाए घट्दै जान्छ, उनले भने।

सिन्धुलीको जुनार बगैंचामा देखिएको किरा रामेछाप, दोलखा काभ्रेमा फैलिदै गएको जनाए। जुनारको दाना लाग्ने समयमै किराले आक्रमण गर्ने र जुनारको दाना भित्र किरा पर्ने भएकाले बाहिर राम्रो देखिएपनि भित्र किरा लागेको दाना हुने उनको भनाई छ। धेरै आत्तिने भन्दा पनि व्यवस्थापन गर्न तिर सबै लाग्नुपर्याे, उनले भने।

प्रकाशित: १३ मंसिर २०७५ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App