११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

पुरीको नमुना जातीय बस्ती निर्माणमा अवरोध

सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी पनौतीस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा। तस्बिर : नागरिक

बनेपा - नेपालका सम्पदाको संरक्षणमा जुटेका संरक्षणकर्मी रवीन्द्र पुरीले पनौती–४ चामखर्कमा बनाउन लागेको नमुना जातीय बस्ती ‘बोरिस–शंकर ग्राम’ को निर्माणमा एक समूहले अवरोध गर्न थालेको छ। ‘चामखर्कस्थित नमुना जातीय बस्ती निर्माणस्थलमा आफूखुसी बाटो लैजान र बनेको पर्खालसहितको संरचना भत्काउन जग्गा किनबेचमा सक्रिय केही व्यापारी तथा दलाल लागिपरेका छन्’, नेपाल भोकेसनल स्कुल, पनौतीमा आयोजित पत्रकार सम्मेलनमा पुरीले भने। उक्त जग्गामा पर्खाललगायतका पूर्वाधार निर्माण गर्न पनौती नगरपालिकाबाट गत वर्ष फागुन ८ गते नक्सा पास भएअनुसार काम अघि बढाउँदा समेत अवरोध भइरहेको उनले प्रस्ट्याए।

‘हाम्रो स्वामित्वको जग्गाभित्रैबाट मनखुसी बाटो बनाउन लागिएको बारे गत चैतमा जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक अवगत गराएको थिएँ। जिल्ला प्रहरी कार्यालयले तत्कालै उक्त अनधिकृत गतिबिधि रोक्न सघाउ पनि गरेको थियो। अहिले फेरि गत मंसिर १ र ५ को राति एस्काभेटर प्रयोग गर्दै केही व्यक्तिले बनिसकेको पर्खालसहितको संरचना भत्काइदिएका छन्’, पुरीले भने।

पुरीको ‘मिसन पनौती’ अनुरुप चामखर्कनजिकै करिब एक सय रोपनी क्षेत्रमा व्यावसायिक विश्वविद्यालय निर्माणाधीन छ। पनौती, ढलमलेमा बीस रोपनी क्षेत्रफलमा निर्मित रंगीन घर (बालआश्रम) सञ्चालनको प्रक्रियामा छ।

पाँच वर्षअघि उनले बनेपाको साँगामा ‘नमुना गाउँ’ बनाएका थिए। सो स्थानका सबै घर पहाडी शैलीका भएकाले दोस्रो चरणमा पनौती–४ चामखर्कको करिब ६० रोपनी क्षेत्रफलमा हिमालदेखि तराईसम्मका जातीय शिल्पी झल्कने बस्ती निर्माण गर्ने योजना उनले अघि बढाएका हुन्। ‘शेर्पा, गुरुङ, तामाङ, खस आर्य, नेवार, थारु, मैथिली तथा किरात शैलीका ८ वटा जातीय घर तथा उनीहरुका चाडबाड मनाउने सांस्कृतिक कार्यक्रम गर्ने थलोसमेत बनाउन प्रारम्भिक खाका तयार भइसकेको छ। यस्तो अवस्थामा एकाएक व्यवधान आउन थालेकाले दुःखी भएको छु’, पुरीले भने।

काभ्रेकै फूलबारीमा परम्परागत ‘बार्दली घर’सहित पर्यटकीय–सांस्कृतिक स्थल निर्माणको योजना हालकै जस्तो अवाञ्छित गतिविधि हुँदा पुरीले स्थगित गरिसकेका छन्। ‘पनौतीकै लागि भोकेसनल एकेडेमी, भोकेसनल युनिभर्सिटी र रंगिन घर (बाल आश्रम) बनाएको छु। पनौतीमा भएको मेरो सम्पूर्ण सम्पत्ति पनौतीबासी तथा यो देशको नै भएको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, पुरीले भने।

पुरीले पनौतीमा सम्पदा संरक्षणमा मात्रै नभई खानेपानीका लागि समेत सहयोग गरेको पनौतीका नगर प्रमुख भीम न्यौपानेले जानकारी दिए।‘काभ्रे उपत्यका एकीकृत खानेपानीको चामखर्कस्थित ट्यांकीलगायतका संरचना बनाउन एक रोपनीभन्दा बढी जग्गा दिनुभएको छ। त्यही क्षेत्रमा नमुना जातीय बस्ती र भोकेसनल युनिभर्सिटी बनाउने क्रममा हुनुहुन्छ’, उनले थपे।

पुरीको ‘मिसन पनौती’ अनुरुप चामखर्कनजिकै करिब एक सय रोपनी क्षेत्रमा व्यावसायिक विश्वविद्यालय निर्माणाधीन छ। पनौती, ढलमलेमा बीस रोपनी क्षेत्रफलमा निर्मित रंगीन घर (बालआश्रम) सञ्चालनको प्रक्रियामा छ। भोकेसनल स्कूल पनौतीको वर्कसपमा नेपालबाट चोरिएर बाहिरी विश्वमा पुगेका अमूल्य मूर्तिको प्रतिलिपि मूर्ति कुँदिँदैछन्। यी मूर्तिलाई म्युजियम अफ स्टोलन आट्र्स बनाउन प्रयोग गर्ने योजना पुरीको छ।

मल्लकालीन सम्पदा र संरचना झल्कने नमुना घर बनाएर युनेस्को पुरस्कार पाएका पुरीले सन् २०१० मै आफ्नो सम्पूर्ण सम्पत्तिको आधा हिस्सा आरपी फाउन्डेसन फर कन्जर्भेसनका नाममा दिएर संस्थागत स्वरूपमा संस्कृति तथा सम्पदाको प्रवद्र्धन तथा संरक्षण गर्दै आएका छन्। ‘पनौतीमा ज्ञान विकास पुस्तकालय मेरै सक्रियता र सहयोगमा बनेको हो भने म्युजियम अफ स्टोलन आर्टस्को काम पनि धमाधम हुँदैछ। पनौती नगरमाझ मैले बनाएका मतान छें, कुन्छें, द्वारेघर आदि पनि यो क्षेत्रकै निम्ति सम्पदाजन्य संरचनाका रुपमा चिनिएकै छन्’, पुरीले भने।

उनले फूलबारी, दाप्चा, नमोबुद्ध, कात्तिके–देउरालीमा मौलिकता झल्कने गरी पाँचवटा सरकारी विद्यालयको भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन्। ‘मेरो कार्यमा बाधा–व्यवधान आएपछि नगरपालिकालगायत प्रहरी–प्रशासनलाई जानकारी गराएर दोषीमाथि कारबाहीको अनुरोध गरेकोमा कतैबाट सुनुवाइ भएको छैन। मौलिकताको संरक्षणमा निःस्वार्थ भावले लाग्ने मजस्ता नागरिकलाई यसबाट चोट पुगेको छ’, उनले भने। जीवनकालमै व्यावसायिक विश्वविद्यालय र जातीय बस्ती निर्माण गर्ने योजना राखेकोमा नसकिने हो कि भन्ने चिन्ता उनले व्यक्त गरे।

यसैबीच तोकिएको मापदण्डको पालनासहित नक्सा पास गरी निर्माण भइरहेको पर्खाल भत्काउने समूहलाई कारबाही गर्नेतर्फ प्रहरी–प्रशासन मौन रहे पनि नगरपालिकाले भने सक्रियता देखाएको छ। उसले वडाध्यक्ष तथा प्राविधिकसहितको कार्यदलमार्फत निर्माणस्थलको अध्ययन गराएको छ। ‘समितिको प्रतिवेदनमा नक्सा पास भएअनुसार नै पर्खाल निर्माण भइरहेको उल्लेख गरेको छ। बाटोको मापदण्ड मिचेर निर्माण भइरहेको आरोप निराधार रहेको ठहर भएको छ। नगरपालिकाको स्वीकृतिमै भइरहेको निर्माण कार्यलाई सुचारु हुन दिनु हाम्रो पनि दायित्व हो। यसबारेमा न्यायिक समितिलाई उचित निर्णय गर्न अनुरोध गरेको छु’, नगर प्रमुख न्यौपानेले भने।

प्रकाशित: १३ मंसिर २०७५ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App