२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सरकारी जग्गा पूर्व गाविस अध्यक्षकी श्रीमतीका नाममा !

लहान- सिरहाका एक पूर्व गाविस अध्यक्षले पदमा रहेका बेला सरकारी जग्गा पत्नीलाई नामसारी गराएको खुलेको छ। सखुवानन्कारकट्टी गाविसका अध्यक्ष (तत्कालीन) खुशीलाल यादवले लहान–ठाडी सडक खण्डको मुख्य बजार रहेको जग्गा आफ्नो पत्नीलाई सुकुम्वासी बनाएर नामसारी गराएको पाइएको छ।

१९ असार २०५८ सालमा सुकुम्वासी समस्या सामाधान आयोगको निर्णय बमोजीम ५६९ नम्बरको २ कठ्ठा १० धुरको कित्ता सुशीलादेवी यादवको नाममा आएको देखिन्छ। सुकुम्वासी समस्या सामाधान आयोग सिरहाले सुशीलादेवी लाई दिएको जग्गाधनी दर्ता प्रमाणपूर्जामा (अव्यवस्थित वसोवासको प्रयोजनका लागि) उक्त कित्ता नम्बरको जग्गा सबिक ३०९ नम्बर कित्ताबाट कित्ताकाट भएको नापी कार्यालय लहानले प्रमाणीत गरेको छ।

३०९ नम्बरको १९ कठ्ठा १४ धुर सिमित कित्ता कित्ताकाट गरि ५६९, ५७०, ५७१, ५७२ बनाइएको नापी शाखाले उपलब्ध गराएको श्रेस्तामा उल्लेख छ। साविक कित्ताबाट (३०९ नम्बर) २ कठ्ठा १० धुर जग्गा सुशीलादेवी यादवको नाममा नामसारी भएको नापी शाखाको श्रेस्तामा उल्लेख छ।

मालपोत कार्यालय लहानले दिएको प्रमाणीत प्रतिलिपीमा सखुवानन्कारकट्टी गाउँपालिका १ स्थित कित्ता नम्बर ३०९ को १९ कठ्ठा १४ धुर जग्गा श्री ५ को सरकारको नाममा दर्ता रहेको उल्लेख छ। सुकुम्वासी समस्या सामाधान आयोग सिरहामा ०५९ साउन १३ गत्ते खुशीलाल मण्डलले २ कठ्ठा जग्गाको १५ सय ६२ रुपैयाँ ५० पैसा बुझाएको नगदी रसिद समेत गाउँपालिकाले उपब्ध गराएको छ।

सम्पूर्ण तथ्य प्रमाणबाट सरकारको नाममा दर्ता रहेको १९ कठ्ठा १४ सरकारी जग्गा मध्ये २ कठ्ठा १० धुर जग्गा सुकुम्बासी समस्या समाधान आयोगका तत्कालीन जिल्ला अध्यक्षसँगको मिलोमतोमा तत्कालिन गाविस अध्यक्ष खुशीलाल यादवले पत्नी सुशिलादेवी यादवको नाममा नामसारी गराएको प्रष्ट भएको सखुवानन्कारकट्टी ४ का वडा अध्यक्ष रमेश कुमार यादवले बताए। यो जग्गा हालको सखुवानन्कारकट्टी गाउँ कार्यपालिकाको केन्द्र रहेको खयरबोना बजारमा पर्छ।

लहान–भगवानपुर–ठाढी सडक खण्डको पश्चिम खयरबोना चोकमा पर्ने उक्त जग्गामा गाउँपालिकाले स्थानीय हाटबजारको निम्ति भौतिक पुर्वाधार निर्माणको क्रममा जग्गाको कागजात खोज्न थालेपछि उक्त तथ्य फेला परेको वडअध्यक्ष यादवले बताए। कागजाज खोज्दै जाँदा उक्त जग्गा पूर्वगाविस अध्यक्ष समेत रहेका खुशीलाल यादवले आफ्नी पत्नीलाई सुकुम्बासी बनाएर नामसारी गराएको तथ्य फेला पर्यो, उनले भने। सुशीलादेवीको नाममा नामसारी हुनुभन्दा पहिले उक्त जग्गामा निर्माण भएको स्वास्थ्य चौकी तथा प्राथमिक विद्यालय अहिले पनि सञ्चालनमा छ। त्यसबाहेक लहान–भगवानपुर–ठाडी सडक पनि सोही जग्गामै परेको छ।

सुकुम्वासी आयोगबाट जग्गा प्राप्त गर्नु अगाडि नै पूर्वगाविस अध्यक्ष यादव र उनका भाउजु तथा भाइहरुको संयुक्त नाममा दुई बिघा भन्दाबढी पुख्र्यौली जग्गा मालपोत कार्यालय लहानको श्रेस्तामा कायम रहेको देखिन्छ। पुख्र्यौली सम्पति रहेका यादवले आफू गाविस अध्यक्ष रहेको बेला पदको दुरुपयोग गरि पत्नीको नाममा हाटबजार लाग्ने सरकारी सम्पती पत्नीको नाम गरेको तथ्य सहित स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा समेत दर्ता गराएका छन्।

'गाउँको हितमा काम गर्लान भनेर अध्यक्षमा जिताएका थियौ तर उनले पत्नीलाई सुकुम्वासी बनाएर सरकारी सम्पती हडप्ने काम गरे', सखुवानन्कारकट्टी गाउँपालिका–४ का अध्यक्ष रमेश यादवले भने,‘गाउँपालिकाको सम्पती हडप्नेमाथि कारवाहीका लागि कुनै कसर बाँकी राख्दैनौं।’

'खुशीलाल २०५४ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए। पदमा हुँदा जनप्रतिनिधिले कतिसम्म शक्तिको दुरुपयोग गर्दा रहेछन् भन्ने उदाहरण हो यो', संघीय समाजवादी फोरमका स्थानीय नेता प्रयागलाल यादवले भने,‘हटियाका लागि भौतिक पुर्वाधार खडा गर्न जग्गाको कागजात खोजी नभएको भए यो कृत्य उदांगीदैनथ्यो होला।’ ‘१७ वर्ष अगाडि भएको कृत्य अहिले तथ्यसहित उदांगीएको छ,’ यादवले भने,‘पदीय शक्तिको दुरुपयोग र सरकारी सम्पति हत्याउने कृत्य गर्नेमाथि कारबाहीका लागि सम्बन्धित निकाय ईमान्दार कदम चाल्नुपर्छ।’

पूर्वगाविस अध्यक्ष खुशीलाल यादवले भने,‘बलान खोला छेउमा रहेको जग्गामा घर बनाउन डर लागेकोले कान्छी पत्नी सुशीलाको नाममा सरकारी नियमानुसार जग्गा प्राप्त गरेको छुँ।’ कान्छी पत्नी सुशीलादेवीको नाममा आफूले त्यो बेला कुनै सिफारिस नगरेको तथा चार खण्डको एक खण्ड रकम तिरेर जग्गा प्राप्त गरेको उनको जिकीर छ।

प्रकाशित: ९ मंसिर २०७५ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App