२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

विस्थापित शिविरमा एकीकृत बस्ती

सिन्धुपाल्चोक - चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्ले डाँडा स्थित विस्थापित शिविरमा आश्रित भूकम्प पीडित एकीकृत बस्तीमा पुनर्स्थापित हुने भएका छन्।

साढे तीन वर्षदेखि यहाँ विस्थापित १९ पीडित परिवारका लागि एकीकृत वस्ती निर्माण प्रक्रिया सुरु भएको हो। सेलाङकै सेपगाउँबाट विस्थापित भएर यहाँ शिविर बनाइ बसेका उनीहरु अझै त्रिपाल, भकारी र स्यालाले बनाएको अस्थायी टहरोमा बस्दै आएका छन्। स्थानीय साझेदार जनहित ग्रामिण सेवा समितिसँगको समन्वयमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको आर्थिक तथा प्राविधिक सहयोग विस्थापित शिविरमै एकीकृत बस्ती बसाल्न लागिएको हो। एकीकृत बस्ती विकास गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत स्वीकृती दिइसकेको छ। साझेदार संस्था जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले यसै वर्षभित्र बस्ती पीडितलाई हस्तान्तरण गर्ने गरी निर्माण प्रक्रिया थालनी भइसकेको बताए। 

‘एक महिना भित्रै बस्तीको शिलान्यास गर्दै छौँ,’ उनले नागरिकसँग भने। पीडितले घर बनाउन आवश्यक जग्गा खरिद गरेपछि बस्ती विकास थालनी गर्न लागिएको हो। प्राधिकरणले घडेरी किन्न पीडितलाई २ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो। पीडितले घडेरी आफ्नो नाममा ल्याइ लालपूर्जासमेत पाइसकेका छन्।

प्राधिकरणको नीतिभित्र रहेर अक्सफामले बस्ती विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने छ। प्राधिकरणले पीडितलाई पुनर्निर्माणमा ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ। ‘बस्ती विकास, खानेपानी र विस्थापितको जीविकोपार्जनमा एकसाथ काम अघि बढाउँदै छौँ,’ कार्यकारी अधिकृत शर्माले भने।

बस्दै आएको सेपगाउँको जमिन भूकम्पले चर्काउनुका साथै पहिरोसमेत निम्त्याएपछि असुरक्षित महसुस गर्दै पीडित २०७२ वैशाख १५ गते काफ्लेडाँडामा विस्थापित भएका थिए। प्राधिकरणको विज्ञ टोलीले सेपगाउँ जोखिममा रहेको औँल्याउँदै पीडितलाई अन्यत्र पुनर्स्थापना गर्न सुझाएको थियो। विस्थापित शिविरमै पीडितका लागि बन्न लागेको यो एकीकृत बस्ती जिल्लाकै पहिलो हो।

पुनर्निर्माणलाई सघाउन विस्थापित पीडित सोबले तामाङको संयोजकत्वमा सेलाङ एकीकृत बस्ती विकास समिति गठन गरिएको छ। समितिको अगुवाइमा पीडित ढुंगा, काठपात संकलनमा जुटिसकेका छन्। पीडितले भुँइतले चारकोठे घर रोजेका छन्। त्यसै अनुसार घर र बस्तीको प्राविधिक डिजाइन भइरहेको दाता संस्था अक्सफामका इन्जिनियर बिवेक घिमिरेले बताए।

हिमाली गाउँ सेलाङ भूकम्पबाट विस्थापित भएका पीडितहरुको सबैभन्दा ठूलो आश्रय शिविर हो। यहाँको बाँसखर्क, काफ्लेडाँडा र आसपासमा सुरुमा ५ सय पीडित परिवारको शिविर थियो। पुनर्स्थापनामा वेवास्ता हुँदै गएपछि पीडितले शिविर छोड्दै गए। केही सुरुमा छोडेको जोखिमस्थलमै फर्के भने केहीले अन्यत्र घडेरी किनेर पुनर्स्थापित भए। एकीकृत बस्ती बसाल्न लागेका काफ्ले डाँडाका पीडितसहित बाँसखर्क क्षेत्रमा अझै विस्थापित ६० पीडित परिवार आश्रित छन्। उनीहरु अझै अस्थायी शिविरमा कष्टकर दैनिकी चलाउँदै आएका छन्।

प्रकाशित: ८ मंसिर २०७५ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App