१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२५ लाख पर्यटक धान्न सकिन्छः व्यवसायी

काठमाडौं–विभिन्न प्रवद्र्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे। सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ।अध्यागमन विभागको विवरणअनुसार अक्टोबरसम्म करिब ८ लाख ८० हजार पर्यटक नेपाल घुम्न आएका छन्। 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। पर्यटकीय पूर्वाधार निर्माणले गति लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अघि बढेको छ। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको केही महीनामै सञ्चालनयोग्य हुँदैछ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको नयाँ दुई वाइड बडी विमानले अन्तर्राष्ट्रिय गन्तव्य विस्तारसँगै व्यावसायिक योजनाका साथ अघि बढेको छ। 
पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो पर्यटकस्तरदेखि तारे तथा चेन होटल धमाधम निर्माण भइरहेका छन्। सन् २०१९ सम्म निर्माणाधीन अधिकांश होटल बनिसक्ने छन्। हालको पर्यटकीय पूर्वाधारबाटै २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायीको विश्वास छ। 
होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले पर्यटन प्रवद्र्धनात्मक गविविधि केही सुस्त देखिए पनि २० लाख पर्यटक भित्र्याउन गाह्रो नहुने बताउछन्। उनले भने, ‘हामी अहिले नै २५ लाख पर्यटकलाई धान्नसक्छौ तर २० लाखको लक्ष्यले मात्रै पुग्दैन पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ, सरकार र निजी क्षेत्रले सक्रियता बढाउनुपर्छ।’ 

अहिले होटलको ‘वेड’ संख्या ३७ हजार छ। सन् २०२० सम्म पाँच देखि छ हजार बेड संख्या थपिने अध्यक्ष शाक्यको भनाइ छ। काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन्। 

नेपाल भ्रमण वर्षलाई प्रभावकारी रुपमा सञ्चालन गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यलाई कार्यक्रम कार्यान्वयन उपसमितिको संयोजकको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियुक्त गरिसकेको छ। 

कार्यक्रमको सुव्यवस्थित सञ्चालनका लागि नेपाल पर्यटन बोर्डमा सचिवालय स्थापना गरी कार्यक्रम अघि बढाइएको छ। नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन उपसमितिको अध्यक्षसमेत रहेका पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढेको बताए। 

सरकारले चालु आवको बजेटबाट भ्रमण वर्षका लागि १० करोड रुपैयाँ बजेट विनियोजना गरेको छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षलाई सफल बनाउन प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको बताए। 

विशेषगरी छिमेकीमूलुक भारत र चीन लक्षित कार्यक्रमलाई तीव्रता दिइएको छ। पहिला दक्षिणपूर्वी एशियालीमूलुक मलेसिया, सिङ्गापुरलगायत देशमा केन्द्रित कार्यक्रमलाई अब भियतनाम, म्यानमार, कम्बोडियाजस्ता बुद्धिष्ट देशमा स्रोत बजारको रुपमा प्रवद्र्धनात्मक अभियान चलाइनेछ।

यसकासाथै युरेपेली मुलुकमा पनि विभिन्न कार्यक्रम केन्द्रित गरिनेछ। मुख्य चुनौती पूर्वाधार भए पनि निर्माणाधिन पूर्वाधारले २० देखि २५ लाख पर्यटकलाई सहज व्यवस्थापन गर्न कठिन नहुने प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ। रासस 

 

प्रकाशित: ८ मंसिर २०७५ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App