६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चाडपर्वमा वन्यजन्तुकाे अवैध तस्करी बढ्याे

तेह्रथुम – चाडपर्वकाे मौका छोपी जिल्लाका सामुदायिक तथा निजि वन क्षेत्रमा सिकारीहरुले लुकीछिपी वन्यजन्तुको अवैध चोरी तस्करी गर्ने गरेको खुलासा भएको छ। जिल्लाका सामुदायीक तथा निजि वन क्षेत्रमा सिकारीहरु लुकीछिपी भरुवा वन्दुक र पासो वोकेर वन्यजन्तुको सिकार गर्न हिड्न थाले पछि अबैध चोरी तस्करी फस्टाएको खुलासा भएको हो।

वाहिरी जिल्लाबाट आएका व्यापारीहरुले स्थानीय वासिन्दालाई पैसाको प्रलोभन देखाएर वन्यजन्तु मार्न लगाउने गरेकाले पनि पछिल्लो समय वन्यजन्तुको अवैध चोरी तस्करी बढेको पाईएको छ। जिल्लाको आठराई गाउँपालिकाको सक्रान्ति, माझिटार, मेन्छेयायेम गाउँपालिकाको श्रीजुङ्ग, मोराहाङ्ग, गुफाबजार, लालिगुराँस नगरपालिकाको वसन्तपुर, तेह्रथुम र संखुवासभाको सिमाना चौकीबजारको नाका प्रयोग गरेर छाला पखेटे (चरिबाघ) को छाला, सालकको खपटा, मृगको छाला र सुकुटी, दुम्सी र कालेज तस्करी हुने गरेको जानकारहरुले बताएका छन्।

पहिले जंगलमा दुम्सी, मृग, हरिण, गोहोरो, कालिज, खरायो पाईन्थे तर अहिले त सवैतिर चाहार्दा पनि पाउन मुस्कील भएको लालीगुराँस नगरपालिका वडानम्बर ९ का कृष्ण कुमार लिम्बुले बताए। उनले गाउँका जंगलमा मारिएका वन्यजन्तुका छाला, हड्डी र मासुको सुकुटी बनाएर गोप्यरुपमा किनवेच हुने गरेको दाबी गरे।

संरक्षीत सुचीमा रहेका र अन्य लोपाेन्मुख जनावर मार्नाले जैविक विविधतामा असर हुने, वंश विनास हुने र जलवायु परिवर्तनमा समेत ठुलो असर पर्ने सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश नम्वर १ का अध्यक्ष तुलसी संग्रौलाले बताए। नियम, कानूनले बन्देज गरेका जंगली जनावर नमार्न  पनि उनले सवैमा अनुरोध गरे।

यसरी खुलेअाम दुम्सी, मृग, हरिण, गोहोरो, कालिज, खरायो लगायतका वन्यजन्तुको समेत अवैध सिकार हुँदा सम्वन्धित पक्ष मौन रहेको पाईएको छ। जिल्ला प्रशासनले अबैधरुपमा राखेका भरुवा बन्दुक प्रशासनमा बुझाउन पटक पटक सुचना गरे पनि जिल्लाका वन क्षेत्रका सिकारीहरु लुकीछिपी अबैध भरुवा वन्दुक र पासो वोकेर वन्य जन्तुको सिकार गर्न हिडी रहेका भेटिन्छन्। पछिलो समय पाँचथरको फिदिम, तेह्रथुमको सक्रान्तिबजार, लालीगुराँस नगरपालिकाको बसन्तपुर, म्याङलुङको जिरिखिम्ती बजार र संखुवासभाको गुफापोखरीमा वन्यजन्तुको व्यापक तस्करी हुने गरेकाे स्थानीयले बताएका छन्।

प्रकाशित: २४ कार्तिक २०७५ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App