रोल्पा – तिहार नजिकिदै गर्दा रोल्पाका बजार भने प्लास्टिकका कृतिम फुलमालाले ढपक्क छोपिएका छन्। आसपासमा कतै पनि फुल उत्पादन नहुँदा तिहारमा स्थानीयले कृतिम फुलको भर पर्नुपरेको हो।
‘नझर्ने, नओइलाउने, नसुक्ने भएकाले कृतिम फुलमाला बेच्छौ। यहाँ फुल उत्पादन हुँदैन। बाहिरबाट ल्याउदा महङ्गो पर्छ’, सदरमुकाम लिवाङका ब्यापारी चन्द्रज्योति सुबेदीले भने, ‘फुल नपाइने, अर्को साल पनि बिक्रि गर्न सकिने भएकाले यसको बिक्रि बढेको हो।’
आर्थिक हिसाबले पनि सस्तो पर्ने भएकाले कृतिम फुलमाला तिर आकर्षण बढेको उनले बताए। दश रुपैयाँदेखि १ सय ९० सम्मका माला बेच्ने गरेको उनले बताए। पाकृतिक फुलप्रतिको लगाव भएपनि विक्रिका लागि सहज नहुँदा समयस्या भएको व्यापारिले बताएका छन्। प्राकृतिक फुल विग्रीने र व्यापारमा घाटा लाग्ने भएकाले कृतिम फुलमाला बेच्नुपरेको सुबेदीको भनाई छ।
रोल्पाका सुलिचौर, घर्तिगाउँ, होलेरी लगायत गाउँका साना ठुला सबै पसलमा कृतिम फुलका माला मात्रै पाइने गरेका छन्। हिजो युद्धताकासम्म दसैं तिहार नमान्नेहरु पनि बिस्तारै दसैं तिहार लगायतका पर्वहरु मनाउन थालेपछि चाडवाडमा प्रयोग हुने बस्तुको खपत बढ्न थालेको छ।
प्रकाशित: २० कार्तिक २०७५ ०४:२६ मंगलबार