७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जुम्ला बिमानस्थल मन्त्रीलाई खुला, सर्वसाधारणलाई बन्द

तारा एयरको जहाजमा जुम्ला पुगेका पर्यटनमन्त्री अधिकारी। तस्बिरः नागरिक

जुम्ला – दुई सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको उपचार गराइरहेकी रोल्पा थवाङकी जनसरी घर्तिलाई अस्पतालले रेफर गर्दा पनि जहाजले बोक्न मानेनन्। उनी स्तरउन्नती गर्न भन्दै बिमानस्थल बन्द हुने खबर पाएपछि हतपत जुम्ला बिमानस्थल पुगिन्। त्यो दिन कार्तिक ७ गते थियो। कार्तिक ८ देखि बिमानस्थल बन्द हुुने भएकोले घर्तिलाई काठमाडौंस्थित अस्पतालमा लिन हतारो थियो। अक्सीजन जोडेर एम्बुलेन्समा विमानस्थलमा पुगेकी घर्तिले उड्न पाइनन्। बरु उनलाई एम्बुलेन्समै अस्पताल फकाइयोे।

जीवन र मरणको दोसाँधमा रहेकी उनलाई काठमाडौं लैजानको लागि जहाज मगाउने धेरै ठाउँबाट पहल भयो। तर, विमानस्थल बन्द भएकोले जहाजको सुरक्षा चुनौति थेग्न नसक्ने भन्दै अबतरण गरिएन। उनी अस्पतालमा दुई दिनसम्म छ्टपटाइन्। जहाजले बन्द विमानस्थलमा अबतरण गर्न नमान्दा हिमा गाउँपालिका १ मा जीप दुर्घटनामा परि घाइते भएका चार जना विरामी सहजै रुपमा जान सकेनन्। दुर्घटनाका विरामी लैजानको लागि नेपाली सेनाको हेलिकप्टर आएपछि मुटुरोगी जनसरीलाई पनि लगियो।

जनसरीका आफन्त गुठिचौर गाउँपालिका–३ का प्रेमराज गिरीले भने, ‘सर्वसाधारण मरेपनि कुनै वास्ता नहुने, जनता बिरामीले मर्न लागेको बेला जहाज बोलाउँदा विमानस्थल बन्द भन्दै आउन नमान्ने तर मन्त्री आउने भन्ने वित्तिकै जहाजले उडान भर्ने कस्तो संस्कार हो?’ ‘विरामी उडाउनका लागि थप जहाज मगाउन खोज्दा सुरक्षा चुनौति भन्दै उडान भर्न नमान्ने तर देशको एक जना मन्त्री आउनको लागि जहाज लिएर आउनु पर्ने विडम्बनाले यहाँका सर्वसाधारणको मन खिन्न हुन्छ’, उनले भने।

यहा अवतरण गर्ने प्रत्येक जहाजमा दुई जना विरामी र दुई कर्मचारीका लागि भन्दै सिट छुट्याइएको छ। तर, न विरामी जान पाउँछन्, नत कर्मचारी। सबै नीजि विमानकम्पनीमा आफन्त र पहुँचवालाको मात्रै हालीमुहाली हुन्छ।

जुम्ला अस्पतालको एम्बुलेन्समा अक्सिजन चढाएर विमानस्थल पुगेकी उनी जहाजले उडान नमाने पछि पुर्न जुम्ला अस्पताल फर्किइन्। विहानैदेखि उनका आफन्त जहाजमा टिकटका लागि विमान स्थलमा पर्खिरहेका थिए। तर, पनि जहाज आए, विरामी जान पाएनन्, बिरामीका आफन्त गुठिचौर गाउँपालिका–३ का प्रेमराज गिरीले भने, ‘अक्सिजन विना उनको ढुकढुकी चल्न सक्ने अवस्था थिएन।’
बिमानस्थलमा विहानैदेखि टिकटको लागि पहल गरे, कुनै जहाज कम्पनीका कर्मचारीले सुनेन्, उनले भने, ‘सदरमुकाम आसपासका नीजि एयरलाइन्स कम्पनीका कर्मचारीसँग पहुँच भएका विरामीलाई भने टिकट बाड्दै उडाउदै गरिएको छ।’

विरामीको चित्कार, विमानस्थलका कर्मचारीले सुन्दैनन्, सामान्य अवस्था विरामी पनि पहुँच हुँदा सहजै रुपमा उड्छन्।  सस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारी जहाज लिएर जुम्ला पुगेपछि स्थानीयले आक्रोश पोखेका छन्। दुर्गम क्षेत्रका विरामीले जहाज मगाउँदा पनि बन्द गरिएको वाहनामा आउन नमान्ने गरेको भएपनि मन्त्री आफै बन्द गरिएको विमानस्थलमा जहाज ल्याएर आएपछि चर्को विरोध भइरहेको छ।

जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले बिमानस्थल स्तरउन्नतीका लागि एक महिना बन्द गरिएको बताए। तर नागरिक उड्ययनमन्त्री नै जुम्ला आउने भएकोले दुई दिनको लागि खुला गरिएको छ, उनले भने, ‘यो बीचमा मन्त्रीको विमानस्थल निरिक्षणको काम पनि छ। स्तरउन्नतीको काम हेर्ने र सुझाव दिएर गुणस्तरिय काम गर्न निर्देशन दिने कार्यक्रम पनि छ।’

जुम्ला विमानस्थल सुरक्षा समितिले स्तरउन्नतीको लागि बन्द गर्ने सिफारीस गरेकोले नागरिक उड्ययन प्राधिकरण केन्द्रिय कार्यालयले सूचना प्रकाशित गरेर जुम्ला बिमानस्थल बन्द गराएको थियो। अहिले तदारुकताका साथ स्तरउन्नतीको काम भइरहेको छ। पर्यटनमन्त्रीले जहाज ल्याएर आउने भनेपनि विहानैदेखि विमानस्थलको काम भइरहेको छ। कामदारले बिहानै विमानस्थल सफाई गरेका थिए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले सस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जुम्लामा आउँदा विमानस्थल स्तरउन्नतीमा सहयोग पुग्ने बताए।

प्रकाशित: १५ कार्तिक २०७५ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App