३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बहिनीको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना

ओखलढुंगा – बहिनीको सम्झनामा सिद्धिचरण नगरपालिका–६, जन्तरखानी डमारमा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । स्थानीय ङिमा शेर्पाले आफ्नी स्वर्गीय बहिनी डाली शेर्पाको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना गरेका हुन् । ओखलढुंगा नौ डाँडा संस्था स्थापना गरी शेर्पाले डाली शेर्पा मेमोरियल स्वास्थ्य सेवा केन्द्र निर्माण गरेका हुन्।

पाँच वर्षअघि बच्चा जन्माउने क्रममा अत्यधिक रक्तश्राव भएर उनकी ४२ वर्षीया बहिनी डालीको ज्यान गएको थियो । उनकी बहिनीले जस्तै अन्य महिलाले यसरी अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आफूले बहिनीकै नाममा स्वास्थ्य केन्द्र स्थापना गरेको संस्थापक शेर्पाले बताए । उनले भने, ‘यस क्षेत्रका हाम्रो शेर्पा समुदायका अधिकतर महिला गर्भ जँचाउन स्वास्थ्य संस्था जाँदैनन् । स्वास्थ्य संस्थाहरू टाढा पनि छन् । त्यसैले गाउँमै स्वास्थ्य केन्द्र स्थापना गरेको हुँ ।’

प्रसव वेदनाका कारण आफ्नी बहिनीले जस्तै अन्य महिलाले ज्यान गुमाउनु नपरोस् भनेर ओखलढुंगा सिद्धिचरणका ङिमा शेर्पाले बहिनीकै नाममा गाउँमा स्वास्थ्य केन्द्र स्थापना गरेका हुन्।

यस केन्द्रबाट सोलुखुम्बु सम्मका बिरामीले सेवा पाउँछन् । सोलुको डिकुरे, टाप्टिङ, झाप्रे तथा ओखलढुंगाका बाख्रे, नलीडाँडा, माझखर्क, सुर्के, घट्टेखोला र डमारका बासिन्दा यहाँ आउने गरेको स्वास्थ्य केन्द्रका अहेव बुद्धवीर तामाङले जानकारी दिए । ‘यस सेवा केन्द्रबाट निःशुल्क नियमित गर्भ जाँच, सामान्य घाउचोट, रुघाखोकी लगायत साधारण उपचार तथा स्वास्थ्य परीक्षण, परामर्श सेवा दैनिक उपलब्ध गराइन्छ,’ उनले भने । डमारमा स्वास्थ्य केन्द्र स्थापना हुनुअघि यस क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य सेवा लिन पनि ओखलढुंगाको जन्तरखानी र सोलुखुम्बुको खादिम्ङ जानुपर्ने बाध्यता थियो । जहाँ पुग्न दुई घण्टाभन्दा बढी लाग्छ।

डाली शेर्पा मेमोरियल स्वास्थ्य सेवा केन्द्रमार्फत् पात्ले, छेर्मादिङ र दोराखर्कमा मासिक स्वास्थ्य उपचार सेवा क्लिनिकसमेत सञ्चालन गरिएको सञ्चालक समितिका कुंगा शेर्पाले जानकारी दिए । व्यक्तिको निजी घरबाट स्वास्थ्य सेवा दिइरहेको केन्द्रका लागि नयाँ भवन निर्माण गरिएको ओखलढुंगा नौ डाँडा संस्थाका अध्यक्ष ङिमा शेर्पाले बताए । उनका अनुसार ‘काजा एलिसिया इटालियन’ संस्थाको करिब १२ लाख रुपैयाँ सहयोगमा भवन निर्माण गरिएको हो । औषधि र जनशक्तिका लागि ‘फोर गोल्डेन शेर्पा ट्रस्ट’ न्युजिल्यान्डले सहयोग गरिरहेको संस्थापक शेर्पाको भनाइ छ । स्वास्थ्य सेवा केन्द्रको सेवा विस्तारका लागि पात्ले र छेर्मादिङमा पनि भवन बनाउने तयारी भइरहेको उनले जानकारी दिए । पर्यटन व्यवसायी उनी इटाली बस्छन्।

प्रकाशित: १४ कार्तिक २०७५ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App