२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दोषी प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान गर्न माग

उल्टाखाम (कञ्चनपुर) - प्रमाण नष्ट गर्ने तत्कालीन प्रहरी उपरीक्षक डिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेर मात्र नपुग्ने भन्दै निर्मला पन्तका आफन्त तथा स्थानीय बासिन्दाले हत्यारा पत्ता लगाउन दोषी सबै प्रहरीलाई हिरासत लिएर अनुसन्धान थालिनुपर्ने माग राखेका छन्। एसपी बिष्ट र प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गरेर सरकारले आँखामा छारो हाल्ने काममात्र गरेको उनीहरूको भनाइ छ। ‘भविष्यमा योग्य नठहरिने गरी एसपी बिष्ट र प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गरेर सरकारले आँखामा छारो हाल्ने काममात्र गरेको छ,’ निर्मलाका बुवा यज्ञराज पन्त भन्छन्, ‘मेरी छोरीको हत्यारा को हो भन्ने एसपी बिष्टलगायत त्यतिबेला अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई थाहा छ। उनीहरूले थाहा पाएर नै हत्यारा बचाउन त्यति धेरै प्रयत्न गरेकाले उनीहरूसँगै सोधपुछ गरेर हत्यारालाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।

हत्यारा बचाउन सबै प्रमाण नष्ट गर्नेदेखि, निर्दोषलाई दोषी करार गर्न अनेक प्रयत्न तत्कालीन एसपी बिष्टलगायतका प्रहरीले गरेको स्थानीयको बुझाइ छ। ‘एसपी बिष्टलगायतका दोषी प्रहरीलाई हिरासतमा लिएर केरकार गरेमात्र उनीहरूबाट दोषी पत्ता लाग्छ,’ महिला अधिकारकर्मी हेलन श्रेष्ठ भन्छिन्। सरकारले दोषी भनेका प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान र मुलकी अपराध संहिताअनुसार फौजदारी कारबाही नगरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। असन्तुष्ट स्थानीय अधिकारकर्मी र नागरिक समाजका अगुवाले आइतबार महेन्द्रनगरमा बैठक बसेर कसरी अघि बढ्ने भनेर छलफल गरेका छन्। ‘आज बसेको अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको बैठकमा सरकारले प्रहरीलाई बर्खास्त गरेर हत्यारा पत्ता लगाउने कुरालाई मोड्न खोजेको हो कि भनेर धेरैले शंका व्यक्त गरे,’ नगारिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मी भन्छन्, ‘प्रहरीलाई हत्यारा पत्ता लगाउने गरी कारबाही गरिनुपर्छ भन्ने हाम्रो माग छ।’

तीन महिना बितिसक्दा पनि निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीका विभिन्न समितिबाट भएका अनुसन्धान र छानबिन उपलब्धिमूलक हुन सकेका छैनन्। हत्यारा पत्ता लगाउन नसकेर समय लम्बिँदै जाँदा पीडितका आफन्त र स्थानीय न्याय पाइँदैन कि भनेर चिन्तित बनेका छन्।

हत्यारा पत्ता नलागेसम्म ३ महिनादेखि जारी आन्दोलन नरोकिने उनी बताउँछन् । ‘बर्खास्तीले हामी सन्तुष्ट छैनौं, बर्खास्तीमात्र समाधान होइन,’ उनी भन्छन्, ‘हत्यारा पत्ता नलागेसम्म आन्दोलन रोकिँदैन।’

चाँडोभन्दा चाँडो हत्यारा पत्ता लगाउन माग राख्दै सोमबार महेन्द्रनगरमा -याली निकालेर नगर परिक्रमापछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको उनले बताए। तिहारसम्म हत्यारा पत्ता नलगाएमा आन्दोलन चर्काउने विषयमा छलफल चलेको उनले बताए।

हत्यारा पत्ता लागे मात्र न्याय मिल्छ
तीन महिना बितिसक्दा पनि निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीका विभिन्न समितिबाट भएका अनुसन्धान र छानबिन उपलब्धिमूलक हुन सकेका छैनन् । हत्यारा पत्ता लगाउन नसकेर समय लम्बिँदै जाँदा पीडितका आफन्त र स्थानीय न्याय पाइँदैन कि भनेर चिन्तित बनेका छन्। ‘मलाई मेरी छोरीको हत्यारा पत्ता लगाएपछि मात्र न्याय मिल्छ,’ निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्,‘३ महिना बितिसक्दा पनि छोरीको हत्यारा पत्ता नलगाएकाले न्याय पाउने विश्वास हटेको छ।’

सरकारले दोषी प्रहरीलाई कारबाही गरेर हत्यारा पत्ता लगाउनुपर्ने उनको भनाइ छ। निर्मलाका मामा केशव भण्डारी भान्जीको हत्यामा शक्तिशाली मान्छेको संलग्नता भएकाले दोषी बचाउन खेल अहिले पनि भइरहेको बताउँछन्। ‘सरकारले एसपी बिष्टलगायतका प्रहरीलाई हिरासतमा लिएर र बम दिदीबहिनी पक्राउ गरेर अनुसन्धान किन नगरेको, सबै प्रमाण नष्ट किन गरेको र घटना ढाकछोप गर्न निर्दोषलाई किन दोषी बनाएको भनेर हिरासतमा लिई नसोध्नुका कारण के हो,’ उनी भन्छन् । उनीहरूलाई हिरासतमा लिएर कडाइका साथ अनुसन्धान नगरिनुले बर्खास्तको नाटक गरेर अझै पनि दोषी बचाउन खोजिएको शंका उत्पन्न भएको छ । एस बिष्टलाई कसबाट दबाब आएर उनले प्रमाण नष्ट गर्ने र दोषी बचाउन खोजे त्यो भन्न लगाउनुपर्ने उनी बताउँछन् । शक्तिशाली व्यक्तिको संलग्नता भएकाले प्रहरीलाई घटना ढाकछोप गर्न दबाब आएको हुन सक्ने उनी बताउँछन्।

प्रमाण नष्ट गर्नुका कारण खुलेनन्
प्रत्येक प्रहरी कार्यालयमा घटनास्थलबाट प्रमाण कसरी संकलन गर्ने, घटनास्थल कसरी सुरक्षित राख्ने भनेर तालिम लिएका प्रहरी हुन्छन् । जिल्ला प्रहरी कार्यालयमा मुद्दा शाखामा प्राविधिक ज्ञान भएका प्रहरी अधिकृतको दरबन्दी हुनेगर्छ । घटनामा निर्मलाको एक खुट्टामा लत्रिरहेको सुरुवाल चिसो पानीमा चोपलेर पखाल्ने, उखुबारीमा भेटिएका ३ वटा खुट्टाको छापका फुन्ट प्रिन्ट नलिने, सडकछेउका कापीकिताबको फिगर प्रिन्ट नलिने, अम्बाको रुख काट्नुअघि त्यहाँबाट कुनै फुट र फिंगर प्रिन्ट नलिने, पछि अम्बाको रुख काटिनु, तालिमप्राप्त कुकुर प्रयोग नगरिनु, निर्मलाको शरीरमा भेटिएका पेन्टी, सुरुवाल र टिसर्ट जलाइनुजस्ता प्रमाण प्रहरी आफैंले नष्ट ग-यो । यी प्रमाण प्रहरीले किन नष्ट ग-यो भनेर उच्चस्तरीय छानबिन समितिदेखि एआइजी धीरु बस्नेतले गरेको छानबिनले खुलाउन सकेको छैन। भुलवश र लापरबाहीवश भएको भनेर तत्कालीन अनुसन्धानमा खटिएका प्रहरीले बयान दिएका छन्। तर, स्थानीय र विज्ञहरू यति धेरै प्रमाण नष्ट भुलवश भएको पत्याउन तयार छैनन् ।

‘तालिम लिएका प्रहरीले दर्जनौं प्रमाण भुलवश नष्ट गरेको भन्न मिल्दैन,’ एक पूर्व प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीले नियतवश प्रमाण नष्ट गरेको देखिन्छ ।’ सडकछेउमा नभिजेको अवस्थामा फेला परेको कापीकिताब एक मिटर पानीभित्र भेटिएको भनेर मुचुल्कामा उल्लेख गरिनु, मुचुल्कामा कीर्ते हस्ताक्षर गरिनु , साउन ११ गते निकालिएको निर्मलाको भेजाइनल स्वाब साउन साउन १५ गतेसम्म प्रहरी कार्यालयमा राखिनुले तत्कालीन अनुसन्धानमा खटिएका प्रहरीको भूमिका थप शंकास्पद बनाएको स्थानीय बताउँछन्।

‘दोषी सबै प्रहरीलाई कारबाही हुनुपर्छ’
त्यतिवेला घटना ढाकछोप गर्ने एसपी बिष्टको टिम र सिआइबी प्रहरी उपरीक्षक अंगुर जैसीलगायत सबैलाई कारबाही गरिनुपर्ने स्थानीयको माग छ ।‘ दुईजना महेन्द्रनगर घर भएका स्थानीयलाई मात्र बर्खास्त गर्नुको कारण पनि बुझिएन,’ अधिकारकर्मी हेलेन भन्छिन्, ‘त्यतिबेलाका सबै दोषी प्रहरीलाई कारबाही हुनुपर्छ ।’ मानसिक सन्तुलन गुमाएका निर्दोष दिलीप बिष्टलाई पक्राउ गरेर दोषी बनाउन सिआइबीका जिसीको भूमिका रहेको उनी बताउँछिन् । ‘दोषी बचाउने एस बिष्टको पूरै टिम, जिसी र बम दिदीबहिनीलाई हिरासतमा लिएर अनुसन्धान गरेमात्र हत्यारा पत्ता लाग्छ।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तरानाथ अधिकारीले प्रहरीका विभिन्न समितिले अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म कुनै ठोस पत्ता नलागेको बताए । अन्य दोषी प्रहरीलाई कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले प्रक्रिया बढाएको जानकारीमा आएको उनले बताए।

प्रमाण नष्ट गरेका प्रहरीलाई मुलुकी अपराध संहिताअनुसार ५ वर्षसम्म जेल सजाय गर्न सक्ने प्रावधान छ । साउन १० गते साथीको घरमा गएर हराएकी निर्मला साउन ११ गते उखुबारीमा बलात्कार गरेर हत्या गरेको अवस्थामा फेला परेकी थिइन्।

प्रकाशित: १२ कार्तिक २०७५ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App