७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

‘सिद्धबाबाको पूजा नगर्दा हिमआँधी आयो’

पोखरा - ‘टुप्पीमाथि राैं छैन, गुर्जामाथि गाउँ छैन’, यो चल्तीको उखान हो। उखानले भने झैं गुर्जा म्याग्दीकै सबैभन्दा माथिल्लो र अन्तिम गाउँ हो। गुर्जा बस्तीपछि हिमाली भेगमा पुगिन्छ। धवलागिरी गाउँपालिका–१ मा गुर्जा गाउँ र हिमाल पर्छ। पहिलोपटक सरकारले विदेशीका लागि यो हिमाल आरोहण खुला गरेको हो। आरोहणको पहिलो टोली नै हिमआँधीको चपेटामा परेको छ। त्यही आँधीमा परेका ५ कोरियाली र चार नेपालीमध्ये आठको ज्यान गएको छ। एकजना बेपत्ता छन्।

धवलागिरी–१ का वडाध्यक्ष झकबहादुर छन्त्याल भन्छन्, ‘यसले हामीलाई साह्रै नै दुःखी बनाएको छ। आरोहण खुलाको पहिलोपटक नै दुःखद घटना भयो । यसले नराम्रो सन्देश पुग्नेछ।’ छन्त्यालका अनुसार गुर्जा आधारशिविर (घटनास्थल) गाउँलेको यार्सागुम्बा र जडीबुटी बटुल्ने ठाउँ हो। जुन ठाउँ अप्ठेरो पनि छ । बर्सेनि त्यहाँ जडीबुटी संकलनका लागि माथिल्लो भेगका गाउँले पुग्छन्।

उनका अनुुसार यार्सागुम्बालगायत जडीबुटी टिप्न जाँदा त्यहाँको सिद्धबराह थानलाई पूजा गर्ने चलन छ। पूजा गरेर मात्र जडीबुटी टिप्न जाने गरेकाले अहिलेसम्म त्यहाँ यस्तो कुनै विपद् आइपरेको थिएन। केही वर्षअघिसम्म सिद्धबराहमा पूजापाठ नगरी जाँदा क्षति हुन थालेपछि स्थानीयले पूजा गरेरमात्र अघि बढ्ने गरेका थिए। थानमा पूजा गरेको वर्ष कहिल्यै घटना भएको जानकारी आफूलाई नभएको उनले बताए। ‘पहिला सानातिना विपत्का घटना भएपछि हामीले पूजा गर्न थालेका हौं,’ उनले भने, ‘जब पूजा गरेर अघि बढ्छौं, त्यस वर्ष कुनै पनि घटना भएको थाहा छैन । योपटक मात्र यत्ति ठूलो घटना भएको हो।’ बाटोमा छ्वाङछ्वाङ आवाज आउने छहरासँगैको पहरोमा सिद्धबाबा बस्ने गाउँलेको विश्वास रहेको उनले बताए। त्यही विश्वासले गर्दा आधारशिविर क्षेत्र जाँदा पूजा गर्ने चलन रहेको उनले सुनाए।

‘गाउँलेले पूजा गर्छन्। विदेशीले पूजा गर्दैनन् । त्यसकै मार योपटक आरोहीले खेपेको हामीले विश्वास गरेका छौं,’ उनले भने। उनका अनुसार गुर्जा गाउँबाट आधारशिविर पुग्न झन्डै आठ घन्टा लाग्छ । गाउँलेहरू भने झन्डै चार घन्टामा त्यहाँ पुग्छन्।

उनका अनुसार घटनास्थलको एक किलोमिटर वरिपरि मात्र क्षति हुनेगरी हिमआँधी आएको छ। अन्यत्र कतै केही भएको छैन । एक किलोमिटर परिधिभित्र रुख नै भाच्चिने गरी आँधी आएको छ। ‘अन्यत्र पनि आँधीले असर पार्नुपर्ने हो । तर, अन्यत्र कतै केही भएको छैन,’ उनले भने, ‘आधारशिविर क्षेत्रमा मात्र नोक्सान पुग्नेगरी आँधी आउनुलाई सिद्दबाबाको बेवास्ताको परिणाम ठानेका छौं।’

उनका अनुसार घटनास्थल आसपासका रूखका हाँगा भाँच्चिएका छन् । आरोहीलाई धेरै टाढासम्म पु-याउने गरी आँधीले उछिट्ट्याएको उनले बताए। ‘हामीले सोच्नै नसक्ने गरी आरोहीलाई क्षति पु-याएको छ,’ उनले भने, ‘मान्छेलाई नै उछिट्याउने गरी क्षति हुनु दुःखद हो।’ पदयात्री लिएर गएका गाइड लाक्पा शेर्पाका अनुसार त्यस क्षेत्रको हिमआँधीको प्रकृति हेर्दा निकै डरलाग्दो देखिन्छ। ‘एकै ठाउँमा बसेका आरोही र उनीहरूको गह्रौं झोला एक किलोमिटर दूरीसम्म पुगेका छन्,’ उनले भने, ‘डरलाग्दो आँधी आएको देखिन्छ ।’ सानातिना आँधीले यो आकारमा क्षति पु¥याउन नसक्ने उनले बताए। ‘हिमाली खोंचमा यस्तो डरलाग्दो आँधी आउनु सामान्य होइन । मान्छेलाई क्षतविक्षत बनाएको छ, रूख भाँच्चिएका छन्।’

भूगर्भविद् श्रीकमल द्विवेदी भने त्यो हिमआँधी मात्र नभई हिमपहिरो नै रहेको बताउँछन्। तीव्र गति र ठूलो आकारको हिमपहिरोका बेला त्यसको दायाँबायाँ आँधीजस्तो हुरी आउने उनले बताए। ‘हिमपहिरोले निकालेको हुरी हो, आँधीमात्र होइन,’ उनले भने, ‘थोरै क्षेत्रमा क्षति पुग्ने गरी हिमपहिरोको हुरी हो। खोंच परेकाले पनि डरलाग्दो गरी क्षति भएको छ।’

उनका अनुुसार ५ वर्षअघि कास्कीस्थित सेती नदीमा बाढी आउँदा पनि यस्तै प्रकृतिको क्षति भएको थियो। भीषण आकारको र तीव्र गतिको सेती बाढीमा पनि माथिल्लो क्षेत्रमा धेरै रूख लडेका थिए। जबकि त्यस ठाउँमा बाढी र पहिरोका छिटा समेत पुगेका थिएनन्। ‘बाढीपहिरोले नछोएका ठाउँमा पनि रूख लडेका थिए,’ उनले भने, ‘यस्तै घटना म्याग्दीमा भएको हो।’ राजमार्गमा तीव्र गतिको बस गुड््दाको हावाले सडकमा हिँडेका पैदलयात्रीलाई हुत्याएजस्तै गुर्जामा पनि तीव्र गतिको हिमपहिरो झरेको र त्यसबाट निस्किएको हुरीले आसपासका रुखमा क्षति पु¥याएको र मान्छेलाई पनि उछिट्ट्याएको उनले बताए।

प्रकाशित: २९ आश्विन २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App