२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गर्भ जँचाउनेलाई अण्डा उपहार

ओखलढुंगा - जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–५ की शर्मिला मगर ६ महिनाकी गर्भवती हुन्। उनले ४ र ६ महिना गरी दुईपटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराइसकेकी छन्। यसरी गर्भ जाँच गराउँदा उनले गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, खतराका चिह्न, पूर्वतयारी तथा स्वास्थ्य संस्थामा सुत्केरी हुँदा हुने फाइदाका विषयमा जानकारी मात्र पाइनन्, उपहार स्वरूप कुखुराका अण्डा पनि पाइन्।

स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गराउने गर्भवतीलाई अण्डा उपहार दिने गरिएको हो। हाल उक्त गाउँपालिकाको वडा नं. ५ मा यो कार्यक्रम चलिरेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भ परीक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले तत्कालीन मानेभञ्ज्याङ गाविसको सहयोगमा सगरमाथा आमा समूहले २०६८ सालदेखि यो अभियान सञ्चालन गरेको हो। गर्भवती महिलाले ४, ६, ८ र ९ महिना गरी चार पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने हुन्छ। पहिलोपटक गर्भ जाँच गराउँदा ४, दोस्रोपटक गराउँदा ६, तेस्रोपटक गराउँदा ८ र चौथोपटक गराउँदा ९ वटा अण्डा उपहार दिने गरिएको समूहकी अध्यक्ष माया राईले बताइन्।

पहिलोपटक गर्भ जाँच गराउँदा ४, दोस्रोपटक गराउँदा ६, तेस्रोपटक गराउँदा ८ र चौथोपटक गराउँदा ९ वटा अण्डा उपहार दिने गरिएको छ।

यो कार्यक्रमको मुख्य उद्देश्य हरेक गर्भवतीलाई नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्ने रहेको उनले जानकारी दिइन्। हाल गाउँपालिकाको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । करिब ८ वर्षको अवधिमा ४ सय ५८ गर्भवतीले आफ्नो गर्भ जाँच गराइ अण्डा उपहार लिइसकेको समूहकी सचिव भावना राईले जानकारी दिइन्।

‘अण्डा वितरणसँगै ६ महिना पुगेका गर्भवती तथा उनका श्रीमान, सासु तथा नजिकका नातेदारलाई गर्भवतीको जीवन सुरक्षासम्बन्धी दुईदिने तालिम पनि दिने गरिएको छ,’ सचिव राइले भनिन्। यो अभियानले गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन पुगेको मानेभञ्ज्याङ गाउँपालिकाका स्वास्थ्य संयोजक विश्वराज दाहालले बताए। ‘गर्भ जाँच गराउने गर्भवतीले अण्डा उपहार पाएको देखेर गाउँका अरू गर्भवती महिला पनि स्वास्थ्य चौकी आउने गरेका छन्,’ उनले भने, ‘यो अभियानले गर्दा धेरैजसो महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन्।’

तथ्यांकअनुसार ७० प्रतिशत महिला मानेभञ्ज्याङ स्वास्थ्य चौकीमै सुत्केरी भएका छन्। बाँकी महिला जिल्लाका अन्य बर्थिङ सेन्टरमा सुत्केरी भएका स्वास्थ्य संयोजक दाहालले बताए। चालू आर्थिक वर्षदेखि गाउँपालिकाका सबै वडामा यो अभियान सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।

प्रकाशित: २८ आश्विन २०७५ ००:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App