६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सावधान! सानो गल्तीले ठूलो क्षति

काठमाडौं - सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना६ख ९१२ नम्बरको बस शुक्रबार सुनकोसी गाँउपालिका–५, रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा ३ जनाको मृत्यु भयो। दुर्घटनामा ५ जना घाइते भए।

- नुवाकोटको समुन्द्रटारबाट त्रिशुलीतर्फ आइरहेको बा१ख ६३५६ नम्बरको बस शुक्रबार नै सूर्यगढी गाउँपालिका–५, गणेस्थानमा दुर्घटना हुँदा तीनजनाको ज्यान गयो। दुर्घटनामा ५५ जना घाइते भए।

- धादिङकाे थाक्रेमा शुक्रबार नै टिप्पर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भयाे।

दसैंका बेला भएका सडक दुर्घटनाका केही उदाहरण हुन् यी । हरेक वर्ष अरु बेलाको तुलनामा चाडपर्वका समयमा सडक दुर्घटना बढेका छन्। दसैं मनाउन राजधानीबाट घर फर्किेनेको चापसँगै दुर्घटना पनि बढेको देखिन्छ। चाडपर्वमा हतारिएर सवारीसाधन हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सावधानी नअपनाउनेलगायत कारण दुर्घटनाका कारक हुन्। राजधानी काटमाडौंबाट बाहिरिने मात्रै नभई काठमाडौं भित्रिने सवारीसाधन समेत दुर्घटनामा पर्दै आएका छन्। प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी निर्देशनालयका अनुसार गत वर्ष दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मुलुकभर तीन सय ८२ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा एक सय चारजनाले ज्यान गुमाए भने दुई सय ६ जना गम्भीर घाइते भए।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा चाडपर्वका बेला चालकले सावधानी नअपनाउँदा सडक दुर्घटना अन्य बेलाको तुलनामा अलि बढी नै हुने गरेको बताउँछन्। ‘ चाडपर्वका बेला तीव्र गति र ओभरलोडका कारण अधिकांश बस दुर्घटना भएको देखिन्छ,’ उनले भने।

गत वर्ष भएका तीन सय ८२ सवारी दुर्घटनामध्ये दुई सय ७३ वटा चालकको लापरबाहीका कारण भएको देखिन्छ। प्रहरीका अनुसार गत वर्ष तीव्र गतिले ५७, यात्रुको गल्तीले २०, यान्त्रिक गडबडीले ८, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा नौं र सडकको अवस्थाले आठ दुर्घटना भएका थिए।

दसैंमा दुर्घटना बढी
ट्राफिक प्रहरी निर्देशनालयका अनुसार दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा धेरै सवारी दुर्घटनामा परेका छन्। यस अवधिमा सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या पनि बर्सेनि बढ्दो छ। गत पाँच वर्षको तथ्यांक हेर्दा दसैंका बेला भएका सवारी दुर्घटनामा मात्र पाँच सय ९ जनाले ज्यान गुमाएका छन्। ०७० को दसैंताका मुलुकभर दुई सय ८९ सडक दुर्घटना भए। त्यस वर्ष ७० जनाले ज्यान गुमाए। ०७१ को दसैंताका चार सय १४ सवारी दुर्घटना भए। ती दुर्घटनामा एक सय ४२ जनाले ज्यान गुमाए। ०७२ को दसैंताका भएका तीन सय २२ सवारी दुर्घटनामा परी ९२ जनाले ज्यान गुमाए। ०७३ सालको दसैं सेरोफेरामा सय ५५ सवारी दुर्घटना भए। ती दुर्घटनामा परी १ सय १ जनाको मृत्यु भयो। २०७४ को दसैंताका ३ सय ८२ सवारी दुर्घटना हुँदा एक सय चारजनाले ज्यान गुमाए।

ट्राफिक इन्जिनियर आशिष गजुरेल सवारीसाधन ओभरलोड र सडकको दुरअवस्थाले चाडपर्वका बेला दुर्घटना बढ्ने बताउँछन्। ‘चाडपर्वमा सबैलाई घर जानैपर्ने बाध्यता हुन्छ, त्यसको गलत फाइदा उठाउँदै यातायात व्यवसायीले क्षमताभन्दा धेरै यात्रु बसमा राख्छन्,’ उनले भने, ‘कमजोर सडक संरचना र ओभरलोडकै कारण चाडपर्वमा दुर्घटना बढ्छन् ।’ उनका अनुसार दसैंका बेला सवारीसाधनमा यात्रुको अत्यधिक चाप हुने र चालकले पनि बस कुदाउन हानाथाप गर्ने भएकाले धेरै दुर्घटना हुने गर्छन्। गजुरेल दुर्घटना न्यूनीकरण गर्न लामो दुरीमा चल्ने सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने बताउँछन्।

‘दसैंका बेला धेरै पैसा कमाउन चालकले हत्तारिएर सवारीसाधन चलाउने गर्छन्,’ उनले भने, ‘त्यसैले गर्दा दुर्घटना पनि बढ्दै गएका छन्। उनका अनुसार राजमार्गका ठाउँ–ठाउँमा रिफ्रेस सेन्टर राखेर सतर्कतासम्बन्धी चालकलाई कक्षा दिनुपर्ने अवस्था देखिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजकुमार लम्सालले नियमित सवारी जाँच नहुँदा ठूला सवारी दुर्घटना निम्तिरहेको बताउँछन्। ‘लामो समयसम्म ग्यारेजमा थन्क्याइएका सवारीसाधन चाडपर्वका बेला गुडाइन्छ, त्यसले दुर्घटना बढाउँछ,’ उनले भने, ‘नियमित सवारीसाधन परीक्षण गरेर गुडाए दुर्घटना कम हुन्छ।’ महाशाखाले दसैंलक्षित सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको जनाएको छ। ‘काठमाडौं उपत्यकाका चारवटै नाकामा चौबीसै घण्टा उच्च सुरक्षा सतर्कता अपनाएका छौं र चालकलाई पनि सतर्कता अपनाउन भनिरहेका छौं’, उनले भने, ‘महाशाखाले चाडपर्वलाई लक्षित गरेर १४ सय ट्राफिक प्रहरी खटाएका छ।’

सवारी तथा यातायात व्यवस्था ऐनमा ६–६ महिनामा लामो दूरीमा चल्ने सवारीसाधनको परीक्षण गर्नुपर्ने व्यवस्था छ। तर यातायात व्यवसायीले यो प्रावधान पालन गरेका छैनन्। ऐनमा सवारीसाधनको ब्रेक, स्टेयरिङ, गियर, चेसिस, टायर, एक्सिलेटर, क्लजप्लेट, लाइट, पट्टा, सिट, झ्याल, रङ, बनोट, भारवहन क्षमता, हर्न, इन्जिनलगायत ठिक भए÷नभएको बेलाबेलामा परीक्षण गराउनुपर्ने उल्लेख छ। ‘मानिसको स्वास्थ्यजस्तै सवारीको पनि नियमित परीक्षण गर्नुपर्छ,’ यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराई भन्छन्, ‘सवारीसाधन कुन अवस्थामा छ, चुस्त–दुरुस्त छ÷छैन भनेर जाँच गराउनुपर्ने भए पनि व्यवसायीले गराएका छैनन्।’

विभागका निर्देशक गोकर्णप्रसाद उपाध्याय चाडपर्व लक्षित गरेर सवारी अनुगमन तीव्र पारेको बताउँछन्। ‘चाडपर्वलाई लक्षित गरेर नै राजमार्ग तथा विभिन्न नाकामा प्रहरी खटाइरहेका छौं,’ उनले भने, ‘सिट क्षमताभन्दा धेरै यात्रु नबोक्न यातायात व्यवसायीलाई निर्देशन दिएका छौं।’

अनुगमन तीव्र : ट्राफिक प्रहरी
ट्राफिक प्रहरी निर्देशनालयकाका प्रहरी निरीक्षक उदय सिजापतिले प्रहरीले चाडपर्व लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

‘चाडपर्वका बेला ठूला सवारीसाधन दुर्घटना हुने सम्भावना बढी भएकाले सचेतनात्मक कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘दसैंतिहारका बेला धेरै एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गछन्, त्यसैले सुरक्षा सतर्कता अपनाउन चालक र यात्रु दुवैलाई सतर्क गराउँदै आएका छौं।’

निर्देशनालयले लामो दूरीका सवारीसाधन चल्ने विभिन्न २८ स्थानमा चालकलाई ‘रिफ्रेन्समेन्ट सेन्टर’ चलाइरहेको छ। ‘लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘त्यसको पूर्ण कार्यान्वयन गराएका छौं।’

प्रहरीले टिकटमा पनि कालोबजारी भए तत्कालै ‘कन्ट्रोल रुम’ मा खबर गर्न अनुरोध गरेको छ। बसको छतमा यात्रु र व्यापारिक सामान राख्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सवारी तथा यातायात व्यवस्था नियमावलीमा सवारीसाधनमा छत राख्न नपाउने नियम छ। छत राखेर सवारीसाधन चलाए पाँच हजार जरिवाना र ६ महिना सवारी सञ्चालन इजाजत रद्द गर्न सकिन्छ।

प्रकाशित: २७ आश्विन २०७५ ००:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App