१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सम्पदा निर्माणका लागि स्थानीय कालिगढ

भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबार पुुनर्निमाणका लागि आयोजित कालिगढ तालिमका सहभागी। तस्बिरः भगवती/नागरिक

नुवाकोट - विदुर नगरपालिका–२ का अर्जुन शाही आफ्नै पौरखले साततले दरबार निर्माण गर्न पाइन्छ भनेर ढुंगा काट्ने सीप सिकिरहेका छन्। दरबार निर्माण गर्नलाई आवश्यक पर्ने कामदार स्थानीय स्तरमा नै उत्पादन गर्ने उद्देश्यले पुरातत्व विभागको आयोजनामा कालिगढ तालिम भइरहेको छ। तालिमले हातमा भएको सीपमा तिखार्नुका साथै साथै ऐतिहासिक महत्व बोकेको सम्पदामा आफ्नो कलाकौशल प्रस्तुत गर्न पाइने भएपछि शाही झनै उत्साहित छन्। ‘२०७२ सालको विनाशकारी भूकम्पले दरबारमा क्षति पु-याएको छ। तीन वर्ष पूरा भइसक्यो। दरबारको संरचना झनै बिग्रँदो छ। अब छिट्टै बन्नेछ भन्ने आस छ,’ शाहीले भने, ‘दरबारवरपरका बासिन्दालाई नै काम लगाउने भनेर तालिमको आयोजना गर्दा मैले पनि जानेको सीपलाई झनै तीखो पार्ने मौका पाएको छु। आफ्नो ठाउँको सम्पदा निर्माण गर्नु मेरो पनि कर्तव्य हो भनेर नयाँ कुरा सिकिरहेको छु।’

विनाशकारी भूकम्पले क्षति पु-याएकोे साततले दरबारको पुनर्निर्माण चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको छ । चीन सरकारले आवश्यक कामदार स्थानीय स्तरबाट नै उपलब्ध गराउनुपर्छ भन्ने धारणा प्रकट गरेपछि असोज ७ गतेदेखि १५ दिने तालिम चलिरहेको छ । तालिममा गारो लगाउने सीप सिकिरहेका छन् स्थानीय युवा किशोर सापकोटा। बेरोजगार भएर बस्नुभन्दा सीप सिक्न पाए जीविकोपार्जन गर्न सहयोग पुग्छ भनेर तालिममा सहभागी भएको उनी बताउँछन् । ‘तालिम दिएर हामीलाई दक्ष बनाउने काम भइरहेको छ। यसले गर्दा दरबार निर्माणका लागि हौसला बढेको छ,’ उनी भन्छन्, ‘हातमा सीप भएपछि भोको बस्नुपर्दैन।’ दरबार निर्माणमा थोरै भए पनि सहभागी हुन पाइयो भने त सन्तानलाई पनि भन्न पाइन्छ कि मेरो पनि पसिना बगेको छ भनेर।’

तालिमका सहभागीलाई प्रशिक्षण दिन बाहिरी जिल्लाबाट प्रशिक्षक आएका छन्। ऐतिहासिक महत्व बोकेको साततले दरबार निर्माण गर्न पूरै कामदार बाहिरी जिल्लाबाट ल्याउँदा आर्थिक भार थपिन्छ। घरआँगनको सम्पदा बाहिरी मान्छेले निर्माण गर्दा स्थानीयले टुलुटुलु हेर्नुपर्ने वातावरण सिर्जना हुन्छ। तर, पुरातत्व विभागले दरबार निर्माणमा स्थानीयको सहभागिता गराउन लागेकोमा प्रोत्साहन मिलेको बताउँछन् स्थानीय युवा कपिल डंगोल। ‘भूकम्प जानुअघि दरबार परिसरको अवलोकन गर्न आउनेको संख्या दैनिक २ सयको हारहारीमा हुन्थ्यो। अहिले ३० जनाको हारहारीमा मात्र पर्यटक आउने गरेका छन्। दरबारको निर्माणकार्यमा भएको ढिलाइले दरबार क्षेत्रको नै अस्तित्व मेटिन्छ कि जस्तो लागेको थियो। अहिले भने केही आस पलाएको छ,’ डंगोलले भने, ‘दरबार निर्माणको जिम्मा लिएको चीन सरकार र पुरातत्व विभागले स्थानीयलाई प्राथमिकता दिएर सीप सिकाइरहेको छ । यो हाम्रो लागि गौरवको कुरा हो । स्थानीयले कामसँगै दाम पाउनेछन्।’

नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको दरबार त्यो समयमा ९ तलाको रहेको र ९० सालको भूकम्पले क्षति पु-याएपछि त्यसलाई मर्मत गरी साततले बनाइएको थियो । साढे तीन वर्षअघिको विनाशकारी भूकम्पले नुवाकोटको साततले दरबारका रूपमा परिचित दरबारमा क्षति पुगेको थियो । त्यसपछि जीर्ण बन्दै दरबारका संंरचना नष्ट हुने अवस्थामा पुगेको छ। यस अवस्थामा स्थानीयलाई दिइँदै गरेको काष्ठकला, प्रस्तरकला र धातुकलासम्बन्धी तालिमले अब भने पुनर्निर्माणको काम सुरु हुन्छ भन्नेमा स्थानीयवासी उत्साहित छन्।

विनाशकारी भूकम्पले दरबारलाई झट्ट हेर्दा त्यति धेरै जीर्ण नबनाए पनि यो वर्षको बर्खाका कारण दरबारको पश्चिमी भागको छाना खस्न थालेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका कार्यक्रम प्रमुख अर्जुनप्रसाद फुयाँलले बताए । ‘चीन सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार दरबार बन्ने हो। कहिलेबाट निर्माणकार्य सुरु हुन्छ त्यो ठयाक्कै भन्न सकिन्न । चाडपर्व सकिएपछि सुरु हुन्छ भन्नेछ,’ फुयाँलले भने, ‘भूकम्प गएको वर्ष दरबारमा प्रयोग भएका निर्माण सामग्री जोगाउन भनेर छानात्रिपालले छोप्ने प्रयास गरेका हौं तर बर्खाले सफल भएनौं । दरबार निर्माण गर्ने कार्य जति ढिला गरियो त्यति नै पुराना निर्माण सामग्री बिग्रँदै जान्छन्। पुनः प्रयोग गर्न सकिँदैन भन्ने चिन्ता स्थानीयले प्रकट गरिरहेका छन्।’

चीन सरकारले दरबार पुनर्निर्माणका लागि श्रमिकका रूपमा दक्ष कालिगढको व्यवस्थासहित निर्माणक्रममा चाहिने पानी र विद्युत् सेवा उपलब्ध गराउन नेपाल सरकारलाई प्रस्ताव गरेअनुसार त्यसको बन्दोबस्त गर्न कालिगढ उत्पादन गर्न तालिम दिइरहेको फुयाँलले बताए। भूकम्पले नेपालमा पु-याएको क्षतिको पुर्ननिर्माणमा सहयोगको प्रतिबद्धताअनुसार चीन सरकारले साततले दरबारसहित परिसरमा रहेको रंगमहल, गारदघर, लामापाटी, सेतोपाटी, विष्णु र नारायण मन्दिर, तुलजा भवानीको दरबार पुनर्निर्माण गर्ने जनाएको छ।

नेपालका लागि चिनियाँ राजदूत यू होङसहितको उच्च अधिकारीहरू, सयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका नेपालका लागि राष्ट्रिय निर्देशक रेनाउड मेयेरसहितको टोली गएको जेठ महिनाको अन्तिम साता दरबारको बनावटको अवलोकन गर्न आइपुगेको थियो। चीन सरकारले आफ्नै इन्जिनियरमार्फत क्षतिको लगत संकलन गरी पुनर्निर्माण कार्य भदौबाटै थालनी गर्ने जानकारी नेपाली पक्षलाई दिएको थियो। दरबार निर्माण गर्नलाई निर्माण सामग्रीको खरिद, दक्ष कामदार छनोटजस्ता प्रक्रिया अघि बढेको छ भन्ने जानकारी दिएकाले तिहार सकिएपछि काम थालनी हुने जानकारी आएको पुरातत्व विभागका प्रमुख सन्दीप खनालले बताए। काम लाग्नेसम्मका पुराना सामग्री प्रयोग गरेर पुरानै शैलीमा दरबार र आसपासमा रहेका सम्पदाको भूकम्प प्रतिरोधात्मक प्रविधि अपनाएर निर्माण गरिने खनालले बताए। ‘ऐतिहासिक सम्पदाको पूननिर्माणमा ढिलाइ भइरहेको छ । छिट्टै गरौं भनेर हामीले पहल गर्दै आइरहेका छौं। सम्भवतः तिहारपछि निर्माणको काम थालनी हुन्छ भन्नेमा विश्वस्त छु,’ खनालले भने, ‘दिनानुदिन महँगी बढिरहेको छ। जति ढिला गरियो त्यति नैे बढी लगानी हुन्छ। पुनःप्रयोग गर्न सकिने सामग्री मक्किन सक्छ भनेर सल्लाहसमेत हामीले चीन सरकारलाई दिइरहेका छौं।’ सम्पदा निर्माण र संरक्षणमा चासो वृद्धि हुन्छ भन्ने उद्देश्यले नयाँपुराना कालिगढलाई समावेश गराएर तालिम सञ्चालन गरिएको पुरातत्व विभागका प्रमुख खनालले बताए। स्थानीय ४९ जनाले रुचिका आधारमा ढुंगा काट्ने, गारो लगाउने, काठलाई आकार दिने सीप सिकिरहेका छन्। सहभागीमध्ये ३० जनालाई दरबार निर्माणमा लगाउन पाए पनि तालिमको औचित्य हुने आयोजकले जनाएको छ । तालिममा अधिकांश युवाको सहभागिता रहेको छ।

प्रकाशित: १४ आश्विन २०७५ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App