२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कार र हत्याका घटना बढे

बारा– बारामा विगत केही महिनाको अन्तरालमा महिलाको हत्या र बालिका बलात्कारको घटना हप्तै पिच्छे सार्वजनिक हुने क्रम बढेको छ।

असोज ७ गते आइतबार बिहान घाटी रेटी हत्या गरेको अवस्थामा कलैया उपमहानगरपालिका १३ बलिरामपुरका सियापति धोबिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शनिवार बेलुका पसाहा खोला नजिकै रहेको खेतमा काम गर्न जाँदा उनी बेपता भएकी थिइन।  खेतमा काम गर्न गएकी धोविन राती घर नफर्केपछि घरपरिवारका सदस्यहरुले उनलाई धेरै खोज तलाश गरेको बलिरामपुरका स्थानीय राजेश मेहताले बताए।

आइतबार विहानै परिवारका सदस्यहरुले उनलाई खोज्न जाँदा उनको हत्या गरेर पसाहा खोला नजिकै रहेको उखु खेतमा शव फेला पारिएको थियो। शवलाई फेला परेपछि स्थानीयले बारा प्रहरीलाई घटनाबारे जानकारी खबर गरेका थिए।

बाराका प्रहरी प्रवक्ता डीएसपी रन्जित सिँह राठौरले रामबालक बैठाको श्रीमती सियापति धोविनको धारिलो हतियारबाट घाटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको बताए। सियापतिको तीन छोरी एक छोरा रहेको र उनको श्रीमान रामबालक बैठा धोबी विगत ४/५ बर्षदेखि परिवारको सम्पर्कबिहिन रहेको बारा प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेका मूख्य अभियुक्त पक्राउलाई पहिचाल गर्न सफल भए पनि फरार रहेकोले पक्राउ गर्न नसकिएको राठौरले बताए। फरार रहेको अभियुक्तलाई पक्राउ गर्न जनशक्ति परिचालन गरिएको उनले दावी गरे।

असोज ५ गते महागढीमाई ४ निवासी नगिना ठाकुरलाई ६ बर्षिया बालिकालाई बलात्कार गरेको घटना संलग्न रहेको अभियोगमा नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ। ठाकुरले गाउँको बिद्यालयमा पढ्न जादै गरेको अवस्थामा बिहान १० बजे बालिकालाई खेलौना देखाउने भन्दै गोठमा लगेर बलात्कार गरेको डीएसपी राठौरले बताए।

घटनाको सम्बन्धमा साँझ बालिकाले अभिभावकलाई बताएको र बालिकाको गुप्ताङ्गबाट समेत रगत बगिरहेको भेटिएपछि आक्रोशित स्थानिय बासिन्दाले ठाकुरलाई नियन्त्रणमा लिई कुटपिट गरी थप कारवाहीको लागि  प्रहरीको जिम्मा लगाएका थिए।

असोज २ गते जितपुरसिमरा उपमहानगरपालिकाका ५ बर्षिया बालिका पनि बालात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ। बालिकालाई बलात्कर गरेको अभियोगमा जितपुरसिमरा १४ का १८ बर्षिय युनुस राईलाई नियन्त्रणमा लिएको प्रवक्ता राठौरले बताए। उनीमाथि अनुसन्धान शुरु भइरहेको छ।

बारा प्रहरीले आफ्नै श्रीमतीको हत्या अभियोगमा देवताल गाउँपालिका ६ रौवाहीका अनिल प्रजापति पक्राउ गरेको छ। साउन २७ गते १९ बर्षिय श्रीमती ममता कुमारीको घरमै हत्या भएको घटनाको अनुसन्धान गर्दा श्रीमान अनिल प्रजापति नै संलग्न रहेको पाइएपछि उनलाई नियन्त्रणमा लिएको राठौरले बताए।

‘घरमै ममताको हत्या गरिएपनि परिवारसँग घटनाबारे सोध्दा उनीहरुले घटनालाई लुकाउन खोजेका थिए,’ डिएसपी राठौरले भने, ‘परिवारले बाहिरबाट आएका तीन जनाले ममताको हत्या गरेको बताएका थिए।’ परिवारको सदस्यको कुरामा सत्यता नरहेको अनुसन्धानबाट थाहा हुन आएपछि उनका श्रीमान अनिललाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आवेशमा आएर श्रीमतीको घाटी थिची हत्या गरेको स्वीकारे। रौतहटको चन्द्रनिगाहपुर घर भएकी ममताको २०७५ बैशाख २८ गते अनिल प्रजापतिसँग विवाह भएको थियो।

असार १२ गते कलैया उपमहानगरपालिका ५ बस्ने १७ बर्षिय प्रियंका मिश्राको घरमै रहस्यी मृत्यु भयो। मिश्राको हत्या अभियोगमा उनका बुवा बृजशिकोर मिश्र, आमा पुष्पा देवी मिश्रा, काकाहरु रामनाथ मिश्रा र हरीकिशोर मिश्रालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बारा प्रहरीले जनाएको छ।

मिश्राको मृत्युको अनुसन्धान गर्दा उनको मृत्यु भन्दा हत्या भएको र पक्राउ परेका चारै जनाको त्यसमा प्रत्यक्ष संलग्ता खुल्न आएको बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन।

असार १२ गते कलैयास्थित घरमै मिश्राको हत्या गरिएपछि कलैयाबाट १२ किलोमिटर टाढा रहको सुर्वण गाउँपालिकाको हर्दियामा लगेर गुपचुप तरिकाले रातीको समयमा परिवारका सदस्यहरुले दाहसंस्कार गरेर प्रमाणलाई नष्ट खोजेका थिए। पछि प्रियाका मिश्राको हत्यामा पक्राउ परेका चारै जनालाई प्रमाण अभावमा जिल्ला न्याधिवक्ताको कार्यालय बाराबाट छोडिएपछि मिश्राको मृत्यु रहस्यमयी बनेको छ।

माथि प्रस्तुत घटना हत्या र बलात्कारका केही उदाहरण मात्रै हुन्। बारामा पछिल्लो समय महिला र बालिकाहरु असुरक्षित भएको भन्दै महिला अधिकारकर्मीहरुले विरोध प्रदर्शन समेत गर्न शुरु गरेका छन्।

महिला र बालिकाको सुरक्षाको लागि प्रहरी, प्रशासनको बिरोध प्रदर्शन शुरु गरेकी महिला अधिकारकर्मी बविता जैसवालले बिगतको भन्दा अहिले हत्या र बलात्कारको घटना बढेकोले त्यसको बिरोध गर्न बाध्य भएको बताइन्।

उनले महिला र बालिकाको हत्या र बलत्कार गर्ने कार्यमा संलग्न रहेकाहरुलाई प्रहरीले पक्राउ गरी कारवाही गरिँदा यस किसिमको घटनामा कमी आउने भएपनि प्रहरीले राम्रोसँग काम नगर्दा यस किसिमको घटना बढेको बताइन्।

प्रियाका मिश्राको घटनालाई दबाउन र पक्राउ परेकाहरुलाई छोड्न प्रहरी, स्थानीय नेता र जिल्ला न्याधिवक्ताको कार्यालयलाई ५० लाख रकमको चलखेल समेत गरिएको मुद्दाको सरकारी साक्षी बनेका मोहन लामीछानेले बताए।

मिश्राको परिवारबाट मलाई पनि रकम लिएर वयान फेर्न दवाव आए पनि मैले घरमै छोरी मार्नेलाई कारवाही हुनुपर्ने अडानमा रकम लिन नमानेको र पछि बारा प्रहरी, सरकारी वकिल र आफ्नै पार्टीका केही नेताहरुले ५० लाख लिएर प्रियाको मिश्राको मुद्दामा अभियुक्त गहेकाहरुलाई अदालत मै पेश नगरी छेडिएको लामिछानेको दावी छ।

बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले समाजमा चेतनाको कमीले गर्दा महिलाको हत्या र बलात्कारको घटनाहरु वृद्धि भएको बताइन्।

महिला र बालबालिकामाथि हुने गरेको हत्या र बलात्कारको घटनामा प्रहरीले राम्रोसँग अन्ुसन्धान गरेका चौधरीको दावी छ। उनले महिला र बालिकामाथि घटेका सबै घटनामा दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउने गरी अनु्सन्धान गरिएको र प्रहरीले मिलोमतो गरेर अनुसन्धान गरेको कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारिन।

प्रकाशित: १३ आश्विन २०७५ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App