११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सूर्तीजन्य पदार्थ विरुद्ध फेसबुक अभियान

खोटाङ - स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल खोटाङले धुम्रपान विरुद्ध फेसबुक अभियान चलाएको छ। धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट हुने शारीरिक, सामाजिक र आर्थिक क्षती रोक्नका लागि सञ्जालले फेसबुक अभियान चलाएको हो।

सूर्तीजन्य पदार्थ सेवन नगर्न र स्वस्थ जीवनयापन गर्न सञ्जालका पदाधिकारी तथा सदस्यले फेसबुकबाट आह्वान गरेका छन्। सञ्जालको बुधबार बसेको बैठकको निर्णय अनुसार हरेक पदाधिकारी तथा सदस्यहरुले आफ्नो फेसबुक वालमा ‘हामी सबैको ऐक्यबद्धता ! सूर्तीजन्य पदार्थको न्यूनीकरण गर्ने प्रतिबद्धता !! सूर्तीजन्य पदार्थको सेवन नगरौं !!! स्वस्थ जीवन जिऔँ !!!! हाम्रो परिवार सूर्तीजन्य पदार्थमुक्त परिवार हो, अनि तपाईको नि ?’ लेखेका छन्। धुम्रपान सेवन गर्दै आएका नागरिकलाई धुम्रपान त्याग्न नैतिक दवाव सिर्जनाका लागि धुम्रपान विरुद्ध फेसबुक अभियान चलाइएको स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष दिलीप खत्रीले बताए। ‘मानव रोगको प्रमुख श्रोत नै चुरोट, बिँडी, सूर्ती, तमाखु जस्ता सूर्तीजन्य पदार्थ सेवन हो,’ खत्रीले भने, ‘त्यही भएर हामीले धुम्रपान सेवन गर्ने व्यक्तिलाई विस्तारै धुम्रपान छाड्नका लागि दवावमुलक अभियान चलाउने निर्णय गरेका हौँ।’ सचेतनामुलक सन्देशलाई प्रचार–प्रसार गर्न सञ्जालले सम्पूर्णमा आग्रह समेत गरेको छ।

स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जालले स्थानीय सरकारसँग समन्वय गरेर सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। सार्वजनिक स्थल र सरकारी कार्यालयलाई धुम्रपान रहित क्षेत्र घोषणाका क्रममा स्थानीय सरकारलाई सहयोग गर्ने सञ्जालले जनाएको छ। धुम्रपान तथा सूर्ती सेवनबाट हुने मानवीय क्षती कम गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान सेवनमा रोक लगाएको वर्ष दिनपछि सञ्जालले पनि हरेक सार्वजनिक स्थल तथा सरकारी कार्यालयलाई धुम्रपान रहित बनाउनका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सञ्जालका उपाध्यक्ष अनिल आचार्यले बताए।

प्रकाशित: ११ आश्विन २०७५ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App